ओली र प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम कसरतमा

 असोज १०, २०७७ शनिबार १६:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुट्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका उहाँले मन्त्रिमण्डल पुनर्गठनबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल गरिरहनुभएको छ  ।

पार्टीले दुई अध्यक्षलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मेवारी दिइसकेकाले उहाँहरु छलफलमा जुट्नुभएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उज्यालोलाई बताउनुभयो । यसबारे पार्टीले दुई अध्यक्षलाई जिम्मा लगाइसकेकाले उहाँहरुको सहमतिअनुसार नै मन्त्रिमण्डल पुनर्गठन हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार झण्डै ३ घण्टा छलफलमा जुट्नुभएका दुई अध्यक्षको भेटघाट अहिले बाक्लिएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मन्त्रिमण्डल पुनर्गठनबारे केही दिनदेखि निरन्तर छलफल भइरहेको तर यसबारे अन्तिम निर्णयमा भने पुगिनसकेको बताउनुभयो ।

मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे दुई अध्यक्षबीच छलफल भइरहे पनि कसलाई नियुक्ति गर्ने र कसलाई बिदाइ गर्ने भन्नेबारे सहमति जुट्न सकिरहेको छैन । गएको आइतबारको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई थप प्रभावकारी बनाउनेबारेको प्रस्ताव पेस भएसँगै नेकपाले यसको सहमति जुटाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको हो ।

सचिवालय बैठकले पार्टी एकतालाई मजबुत बनाउन १० दिनभित्र पार्टीकाे साङ्गठानिक कार्ययोजना पेस गर्न पनि दुई अध्यक्ष र महासचिवलाई जिम्मा दिएको थियो । उहाँहरुबीच सबै मन्त्री फेर्ने वा दुई वर्ष पूरा भएकालाई हटाउने र बाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अरुलाई फेरबदल गर्ने भन्ने विकल्पमा छलफल भैरहेको छ । 

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल दुई वर्षको कार्यकाल पूरा गरेका सबै मन्त्री फेरबदल गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया