नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा धेरै

 असोज १८, २०७७ आइतबार १९:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार दुई सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ८६ हजार आठ सय २३ पुगेको छ । 

अब सङ्क्रमितको सङ्ख्याको आधारमा नेपाल चीनभन्दा अघि पुगेको छ । चीनमा अहिलेसम्म ८५ हजार चार सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

गएको डिसेम्बर महिनामा कोरोनाको सङ्क्रमण फैलिन थालेको चीनमा अहिले अवस्था नियन्त्रणतर्फ गइरहँदा नेपालमा भने लगातार बढिरहेको छ । सङ्क्रमणपछि ज्यान गुमाउनेको सङ्ख्या भने चीनमा धेरै छ । चीनमा अहिलेसम्म चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ भने नेपालमा पाँच सय ३५ पुगेको छ । 

चीनमा सङ्क्रमितमध्ये ८० हजारभन्दा धेरै डिस्चार्ज भइसकेका छन् भने नेपालमा ६४ हजारभन्दा धेरै कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमितको आधारमा भने नेपाल अघि छ । नेपालमा अहिले २२ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने चीनमा मात्र एक सय ९५ जना छन् । 

आइतबार साँझसम्म विश्वभर सङ्क्रमितको सङ्ख्या तीन करोड ५१ लाख ९१ हजारभन्दा धेरै छ । सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ७४ हजारभन्दा धेरै कोरोनामुक्त भएका छन् । त्यस्तै १० लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

चीनमा सङ्क्रमण देखा परेकाे दुई महिनापछि मात्रै नेपालमा काेराेनाका सङ्क्रमित देखिन थालेका थिए । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया