‘दुई दिनको बिदा बेकार छ, बरु वर्षको दुई हप्ता बिदाको प्रस्ताव गरौँ’

 असोज २०, २०७७ मंगलबार ९:४०:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - यो वर्ष विदेशी पर्यटक नेपाल घुम्न आउने सम्भावना छैन । यस्तो अवस्थामा आन्तरिक पर्यटनमार्फत पर्यटन व्यवसायलाई केही चलायमान बनाउन सरकारले विभिन्न योजना बनाइरहेको छ ।

आन्तरिक पर्यटक बढाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयको अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ । हप्तामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन बढ्ने मन्त्रालयको दाबी छ । तर नेपालमा यसअघि असफल भइसकेको यो कुरा फेरि पनि असफल हुने टिप्पणी बढ्दै गएको छ । 

छलफलमा छौँ, टुंगो लगाउने हामीले होइन : तामाङ

हप्तामा दुई दिन सार्वजनिक बिदा दिनको लागि अध्ययन गर्न पर्यटन मन्त्रालयले बनाएको कार्यदलका सदस्य तथा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले अहिले यो विषयमा सामान्य अध्ययन मात्रै भएको बताउनुभयो ।
‘बिदाको निर्णय गर्ने पर्यटन मन्त्रालय त होइन तर हामीले अध्ययन गर्नुपर्छ भनेर कार्यदल बनेको हो, अहिले हामीले प्रारम्भिक चरणमा अध्ययन गरिरहेका छौँ, अब केही दिनमा कार्यदलका सबै सदस्य बसेर सुक्ष्म अध्ययनको विषयमा कुरा हुनेछ’ तामाङले भन्नुभयो । 

कोरोना भाइरसका कारण उत्पन्न भएको असामान्य अवस्थाका कारण विदेशी पर्यटक नआएको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक पर्यटनमा जोड दिँदै पर्यटन बजारमा चहलपहल ल्याउनको लागि हप्तामा दुई दिन बिदाको अवधारणा बनेको महानिर्देशक तामाङको  भनाइ छ । 

दुई दिनको बिदा बेकार छ, बरु वर्षको दुई हप्ता बिदाको प्रस्ताव गरौँ : सुवेदी

ट्रेकिङ एजेन्सिज एशाेसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी हप्तामा दुई दिन बिदा दिएर आन्तरिक पर्यटक बढ्छन् भन्नु बेकार रहेको बताउनुहुन्छ । दुई दिनको बिदामा लामो यात्रामा जान नमिल्ने भएकाले घुमघामको लागि समय नहुने उहाँको भनाइ छ । 

‘हप्तामा दुई दिन बिदा दिएर मान्छे घुम्न निस्कन्छन् भन्नु बेकार हो, बरु ६ महिनामा एक हप्ता वा एक वर्षमा दुई हप्ता घुमफिर बिदा दिएमा मान्छेहरु घुम्न निस्कन्छन्’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भन्नुभयो, ‘दुई दिनको बिदामा त काठमाण्डौका मान्छे धुलिखेल र नगरकोट जालान्, अरु सहरका मान्छे पनि नजिकका ठाउँमा जालान्, तर २/४ दिन घुम्न जानेहरु कसरी भ्याउँछन् त ?’

सरकारले कर्मचारीहरु घुम्न जाउन भन्ने हिसाबले सोचेको हो भने दुई दिन बिदाको अर्थ नै नहुने उहाँको भनाइ छ । ‘हाइकिङ जाने, एक रात कतै बिताउन जाने र काठमाण्डौ वरपरका डाँडाकाँडा घुमाउने लक्ष्य हो भने त दुई दिन बिदा ठिकै होला, तर आन्तरिक पर्यटक बढाउने र बजार चहलपहल बनाउने उदेश्यले ल्याएको हो भने त दुई दिन बिदाले पुग्दैन’, सुवेदीले भन्नुभयो । 

पर्यटन मन्त्रालय र मन्त्रीले कार्यक्षेत्र मिच्न मिल्दैन : प्रशासन विज्ञ भट्ट

सार्वजनिक प्रशासन विज्ञ डा. भीमदेव भट्ट पर्यटन मन्त्रालयले आफ्नो कार्यक्षेत्र मिचेर हप्तामा दुई दिन बिदाको अध्ययन थालेको बताउनुहुन्छ । सरकारलाई हप्तामा दुई दिन बिदा दिने विषयको अध्ययन गर्न मन लागेमा सम्बन्धित मन्त्रालयबाटै अध्ययन गराउनुपर्नेमा कार्यक्षेत्र मिचेर पर्यटनमन्त्रीले अध्ययन कार्यदल बनाएको प्रशासन विज्ञ भट्टको भनाइ छ । 

‘पर्यटन मन्त्रालयले यो विषय उठाउने नै होइन, उठाउनै परेमा यो विषय सामान्य प्रशासन मन्त्रालयले उठाउनु पर्थ्याे, प्रशासन हेर्ने जिम्मा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ भने बिदाको कुरा पनि त्यही मन्त्रालयले नै गर्नुपथ्र्यो । यो विषयको उठान नै गलत ठाउँबाट भएको छ’ भट्टले भन्नुभयो । 

यसअघि दुई पटकसम्म हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन भए पनि असफल भएकाले यो विषयलाई नेपालमा कम्तीमा २० वर्षसम्म उठाउनु बेकार रहेको प्रशासन विज्ञ भीमदेव भट्टको भनाइ छ । ‘पछिल्लो पटक २०५६ सालमा यो व्यवस्था असफल भयो, २०५६ सालयता देश पूरै विकसित भएजस्तो गरेर अहिले दुई दिन बिदाको अध्ययन थालिएको रहेछ, यो बेकार हो, अझै कम्तीमा २०  वर्ष यो कुरा नउठाए पनि हुन्छ’ भट्टले भन्नुभयो । 

२०७१ सालमा बिहान र बेलुकाको सिफ्टमा पनि काम गर्ने भनेर बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म कार्यालय खोल्ने कामको सुरुवात भएको स्मरण गर्दै भट्टले भन्नुभयो, ‘कसैलाई मन लाग्यो भन्दैमा जे पनि निर्णय गरिदिने चलनले देश बिग्रिएको छ, देशको बजेट मात्रै सकिएको छ, गहिरो अध्ययन र नागरिकको हितको लागि भन्दा पनि आफ्नो स्वार्थको लागि निर्णय गर्ने चलन फेरि दोहोरिने खतरा छ ।’ सरकारी कर्मचारी अहिले पनि तालिम, गोष्ठी, अध्ययन लगायतका प्रयोजनको लागि भत्ता लिएर घुम्न जाने गरेको प्रशासन विज्ञ भट्टको भनाइ छ । 

‘सरकारी कर्मचारी अहिले पनि मनग्य भत्ता बुझेर देश घुम्न पाएकै छन्, उनीहरु आफ्नो पैसा खर्च गरेर घुम्नै पर्दैन, सर्वसाधारणसँग छाक टार्ने पैसा पनि हुँदैन, अब कस्को लागि दुई दिन बिदा दिने त ?’ भट्टले प्रश्न गर्नुभयो । 

दुईपटक असफल भएको व्यवस्था

हप्तामा दुई दिन बिदा दिने व्यवस्था यसअघि दुई पटक असफल भइसकेको छ । सरकारी खर्च घटाउने, काममा चुस्तता ल्याउने र विकसित देशमा जस्तै हप्तामा ४० घन्टा मात्रै काम लगाउने जस्ता फाईदा देखाउँदै हप्तामा दुई दिन बिदाको सुरुवात भए पनि दुई पटक नै यो  निर्णय टिक्न सकेन । 

यसअघि नेपालमा २०४७ सालमा हप्ताको दुई दिन बिदा दिन सुरु भए पनि लामो समय टिकेन, अदालतबाट सुरु भएको यो व्यवस्था अन्य धेरै निकायमा लागू नै भएन ।  फेरि २०४८ सालमा सरकारी खर्च घटाउन भन्दै प्रशासन  सुधार आयोगले हप्तामा दुई दिन बिदा दिन सिफारिस गर्यो तर कार्यान्वयन भएन ।

पछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा २०५६ सालमा दुई दिन बिदाको नियम लागू भयो तर काठमाण्डौ उपत्यकाबाट सुरु भएको यो निर्णय एक वर्ष पनि टिकेन । नेपालीहरुको जीवनशैली, भूगोल, यातायातका साधन लगायतका कारण हप्तामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक सावित भएको विज्ञहरु बताउँछन् ।

राज्यका धेरै संरचना पुरानै रहेको र नेपाल विकसित नभइसकेको यो अवस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय लागू गरेमा फेरि पनि असफल नै हुने धेरैको बुझाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

3 Comments

  • Shishir Gurung

    Oct. 6, 2020, 4:25 p.m.

    हप्तामा २ दिन बिदा दिनु एकदम असल कुरा हो , जसले मानसिक तनाव कम गर्छ र परिवारसंग समय बिताउने समय मिल्छ / बिशेष गरि विद्यार्थीलाई / अहिले इयु र सबै विदेशतिर यही चलन छ / घुम्नु या नघुम्नु, नजिक कि टाढाले फरक पार्दैन, घुम्न टाढा जानुपर्छ भने पनि होइन / यदि यो सिस्टम आएमा बिद्यार्थीको मानसिक बोझ कम हुन्छ / अहिले म बेल्जियममा अध्ययन गर्छु र काम पनि गर्दैछु / काम गर्दा पनि अनलाइन स्टडी गर्न समय मिलेको छ , कारण २ दिन बिदा भएकोले नै हो /यसले बिद्यार्थीलाई डिग्री पाउन् सजिलो भएको छ / स्थानीय पर्यटन पनि बढ्छ , एकपटक प्रयास गरेर हेरौं / अर्को कुरा यसले नेपालमा १ दिन भएपनि भ्रष्टाचार घटाउँछ / सरकार र कर्मचारीलाई यो कुरा मन नपर्न पनि सक्छ /

  •  0 Reply
  • Puskar Ghimire

    Oct. 6, 2020, 2:10 p.m.

    हप्ताको दुई दिन विदा दिँदैमा पर्यटन सफल हुन्छ भन्न सकिंदैन, हप्तामा शुक्रबार अथवा आईतबार (शनिबार बाहेक) लाई विदा मान्ने हो भने पनि वर्ष मा ४८ दिन विदा गर्नु पर्ने हुन्छ, जुन कुरा ले गर्दा शैक्षिक देखि लिएर अन्य क्षेत्र मा समेत अत्यन्तै प्रभाव पारी रहेको हुन्छ तर वर्ष मा १५ दिन मानौं दशैँ र तिहारको बीचमा सबै कार्यालय खुल्ने समयमा विदा गरियो भने एकै चोटिको लामो विदा मा पर्यटन क्षेत्र को विकास हुन्छ भन्न सकिन्छ । हप्ता को २ दिन ले ४८ दिन वर्ष विदा गर्नु भन्दा एकै पटक १५ दिन विदा गर्दा विदा समय थोरै भए पनि मानिस हरु त्यो एकै चोटी को विदा लामो मानेर घुम्न जान रुचाउँछन् भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ ।

  •  0 Reply
  • अनुप अधिकारी

    Oct. 6, 2020, 10:01 a.m.

    हप्ताको २ दिन बिदा दिएर अरु दिन सबै दिन सबै थोक खुल्ला गर्नु भनेको सम्पुर्ण नेपाली जनतालाई जोखिममा पार्नु हो।सरकारले एक हप्ता पुर्ण लकडाउन गरेर सबै जिल्ला र स्थानीय निकायमा तीब्र परिक्षण गर्दा उचित हुन्छ जस्तो लाग्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया