जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति चोरी गरेको आरोपमा तीन जना प्रक्राउ

 असोज २०, २०७७ मंगलबार १०:५:५१ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्तिमध्ये थप दुई वटा मूर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये विष्णु र भगवती सरस्वतीको मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले चन्दननाथ नगरपालिका १० बोहोरा गाउँका सुशिल विष्टको खेतको आलीमा दोसल्लामा बेरिएको अवस्थामा मूर्ति भेटिएका हुन् ।

उहाँका अनुसार दुईवटा मूर्तिसँगै चोरीमा संलग्न रहेको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका १० का वर्ष ३२ का सुशिल विष्ट, तातोपानी गाउँपालिका ८ घर भएर चन्दननाथ नगरपालिका १० बस्ने २८ वर्षका जयलाल थापा र चन्दननाथ नगरपालिका १० कै २३ वर्षका सुदीप रावल रहेका छन् ।

चार वर्ष पहिले चोरी भएका दर्जनौँ मूर्तिमध्ये अहिलेसम्म विभिन्न ठाउँमा गरी २० वटा मूर्ति भेटिएको हुनसक्ने प्रहरीले जनाएको छ । जम्मा कति मूर्ति चोरी भएका हुन र कति भेटिए भन्ने एकिन जानकारी भनेपछि गराउने प्रहरीको भनाइ छ ।

सोमबार मूर्ति सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमूल्य ऐतिहासिक मूर्ति चोरीमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सकेसम्मको प्रयास भइरहेको बताउनुभयो । यसअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको समयमा चन्दननाथको मुख्य मूर्तिसमेत पत्ता लागिसकेको छ ।

२०७६ माघ ६ गते १८ किलोको चाँदीको मूर्ति प्रहरीले दानसाँघु नजिकैको खेतमा बेवारिसे अवस्थामा फालिएको भेटेपछि स्थानीयले बाजागाजासहित स्वागत गरी चन्दननाथ मन्दिरमा पुनर्स्थापन गरिएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया