सुदूरपश्चिमका लागि ‘बोलन्या थली’

 असोज २५, २०७७ आइतबार ६:४०:१३ | सीताराम ओझा
unn.prixa.net

कैलाली - २०५९ सालमा पहिलो पटक उहाँले पश्चिम सेती जलविद्युत आयोजना निर्माण हुने हल्ला सुन्नु भयो । पश्चिम सेतीसँगै सुदूरपश्चिमको समृद्धि पनि जोडिएको छ भन्ने चर्चा थियो त्यस समयमा । त्यसपछिको १८ वर्षसम्म भएका निर्वाचनमा हरेक नेताहरुले पश्चिम सेतीलाई नै मूल एजेण्डा बनाएको सम्झना छ उहाँसँग । तर वर्षाैँदेखि पश्चिम सेतीलाई गायत्री मन्त्र जस्तै बनाएको भने उहाँलाई मन परेको थिएन, छैन् पनि ।

उहाँ भन्नुहुन्छ, ‘न कसैले पश्चिम सेती परियोजनाको नाम लिन छोडेको छ न कसैले बनाउन चासो दिएको छ । त्यसैले पश्चिम सेतीका लागि निर्णायक लडाइको अगुवाइ गर्ने प्रयास गर्दैछु ।’ पश्चिम सेतीका लागि अग्रमोर्चाका लडाकु बन्न खोज्ने युवा हुनुहुन्छ, डडेल्धुराको गन्यापधुराका यादव जोशी ।

उहाँ राजनीतिक परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाइ डाक्टर तारा जोशी पूर्व एमाले र अहिलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हुनुहुन्छ । त्यसैले पनि यादव पछिल्लो पटक भएको निर्वाचनमा नेकपाका कट्टर समर्थक पनि हुनुहुन्थ्यो ।

राजनीतिक परिवारका सदस्य उहाँ अहिले एकाएक यु–टर्न हुनुभएको छ । त्यसको कारण हो, वर्षाैँदेखि गायत्रीमन्त्र जस्तै बनेको पश्चिम सेती जलविद्युत आयोजना । पश्चिम सेतीको सपना साकार बनाउने सोचका साथ उहाँले पार्टीको राजनीतिबाट टाढा रहने योजना बनाउनुभयो । 

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको योजना अगाडि बढाउनका लागि नै श्रीगणेश भयो बोलन्या थलीको । बोलन्या थली नै किन भन्ने प्रश्नमा संयोजक जोशी भन्नुहुन्छ, ‘यो सुदूरपश्चिमको टिपिकल शब्द हो । सुदूरपश्चिमका विषयमा बोल्नका लागि हामीले थली बनाएका हौँ ।’

बोलन्या थली स्थापना भएपछि उहाँ राजनीतिबाट टाढिन खोज्नुभयो । सर्वसाधारणसँगै सबै दलका नेताहरुको समर्थन जुटाउने अभियानमा लाग्नुभयो उहाँ । जोशी भन्नुहुन्छ, ‘राज्यले सुदूरपश्चिमलाई सधै हेप्यो । यहाँको विकास निर्माणका योजना कहिले प्राथमिकतामा परेनन् । अब आफ्नो ठाउँ बनाउनका लागि आम नागरिक नै जागरुक बन्नुपर्छ भन्ने हो ।’ 

पश्चिम सेती जलविद्युत आयोजना निर्माण नहुनुमा राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमबाट दख्खल राख्ने नेताहरुलाई दोषी ठान्नुहुन्छ उहाँ । ‘पश्चिम सेती हरेक निर्वाचनमा मुख्य एजेण्डा भयो तर पश्चिम सेती निर्माण गर्नका लागि यस क्षेत्रका नेताहरुले नै चासो दिएनन् । त्यसैले योजना ओझेलमा छ ।’ उहाँले भन्नुभयो । 

बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ । बोलन्या थलीले सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन पनि गरिएको छ । 

पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि सात सय ५० टुकी बालेर सरकारको साङ्केतिक विरोध गरिएको थियो । ‘दिउँसै ७५० टुकी बालेर सरकारको खोजी गरेका हौं,’ उहाँले भन्नुभयो, ‘२८ वर्षसम्म नभेटिएको सरकार अब भेटिन्छ कि भन्ने मेरो आशा छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट एक लाख पत्र संकलन गरेर बुझाउने तयारी पनि छ । पश्चिम सेतीका बारेमा रचनात्मक विरोध स्वरुप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित पत्र बुझाउने तयारी भएको संयोजक जोशी बताउनुहुन्छ ।

'हामीले पश्चिम सेती बनाउन निरन्तर दबाब दिँदै आएका छौँ।', भन्नुहुन्छ, 'यो पनि दबाबको एउटा चरण हो ।' उनले अगाडि थप्नुभयो, 'हिजो आशा मर्यो आज जवानी मर्दैछ, भोलि सपना मर्ने छ । आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौँला भोलिको भोकलाई के गरौँला ? रिभर्स माइग्रेसनको व्यवस्थापन गरौँ, पश्चिम सेती लागू गरौँ लगायत नारा उल्लेख गर्दै बोलन्या थली अहिले दबाबमुलक आन्दोलनमा छ ।' 

पश्चिम सेती बनेर पहाडबाट 'डेमोग्राफिक डिक्लाइन' रोकिने र पहाडमा आर्थिक सामाजिक  रुपान्तरण हुने भन्ने बिश्वास छ उनलाई । बोलन्या थलीले २८ लाख पश्चिमेलीको भावनात्मक समर्थन जुटाउन डिजिटल क्रान्ति गर्ने र पश्चिम सेती ड्रीम्स पार्क बनाउने तयारी गरिरहेको छ । 

बोलन्या थली अहिले पश्चिम सेती निर्माणका लागि दबाब दिने आन्दोलनमा मात्रै छैन । उसले लकडाउनमा दैलोमा दबाई, आश्रय अड्डालगायतका कार्यक्रम सञ्चालन गरेको थियो भने सुदूरपश्चिमका विविध विषयमा बहसका कार्यक्रम आयोजना गर्दै आएको छ ।

एउटै मुद्धामा केन्द्रीत नभएर विचलन किन ? भन्ने प्रश्नमा जोशी भन्नुुहुन्छ, ‘पोखरी फोहर छ भने हेरेर मात्रै सफा हुँदैन्। पोखरीमा घुसेरै सफा गर्नुपर्छ । पश्चिम सेती मात्रै निर्माण भएर हुँदैन् । सँगै यहाँको विकृति हटाउन आवश्यक छ । संस्कृति जोगाउन आवश्यक छ ।’

बोलन्या थलीका नौ वटै जिल्लामा विस्तार गरिएको छ । जहाँ सयौँ युवाहरु आवद्ध भएका छन । उनीहरुले गाउँठाउँका सवाल समाधानका लागि पहल गर्नेछन् भने राज्यलाई जवाफदेही बनाउन भूमिका खेल्नेछन । बोलन्या थली सञ्चालन कसरी हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘बोलन्या थलीले पश्चिम सेती निर्माणका लागि दबाबमुलक कार्यक्रम सञ्चालन गर्न र अन्य गतिविधि सञ्चालन गर्नका लागि अहिले देशविदेशबाट सहयोग भईरहेको छ । समृद्ध सुदूरपश्चिमका लागि भएका कार्यक्रममा सहयोग गर्ने सुदूरपश्चिमवासीको कमी छैन् ।’

कतिपयले बोलन्या थली राजनीतिक रुपमा प्रयोग हुने र जोशीको गन्तव्य पनि राजनीति नै हो कि भन्ने आशंका पनि जनाएका छन् । त्यसमा जोशी भन्नुहुन्छ, 'हामी अहिले पश्चिम सेतीसहितका मुद्दाका लागि लडिरहेका छाैँ । यसमा कुनै पनि किसिमको राजनीति हुँदैन् । हामी सरकारका प्रतिपक्षी भएर काम गर्छौँ। तर एउटा कुरा सत्य हो, राजनीतिबाट धेरै टाढा पनि हुन सकिँदैन ।'

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया