सरकारी वार्ता टोलीका संयोजकलाई प्रश्न : ‘डाक्टर केसी अब अनशन बस्न नपर्ने गरी सहमति भएको हो ?’

 असोज २५, २०७७ आइतबार १३:३६:४८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – सरकारसँग आठ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले २८ औँ दिनमा अनशन तोड्नुभएको छ ।

उहाँले कोरोनामुक्त भएका त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर आइतबार बिहान अनशन तोड्नुभएको हो । डाक्टर केसी चिकित्सा शिक्षा र सेवा सुधारको माग गरी १९ औँ पटक अनशन बस्नुभएको थियो ।

शनिबार मध्यराति त्रिवि शिक्षण अस्पतालमा डाक्टर केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपीनाथ मैनालीबिच आठ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएसँगै १९ औँ पटकको अनशन २७ औँ दिनमा सहमतिमा पुगेको थियो ।

डाक्टर केसीसँग भएको आठ बुँदे सहमति र सहमतिको कार्यान्वयनबारे केन्द्रित रहेर सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव मैनालीसँग साथी मदन पौड्यालले कुराकानी गर्नुभएको छ ।

डाक्टर केसीसँग रातारात कसरी सहमति जुट्यो ?

रातारात होइन, उहाँसँग सहमति गर्न मङ्गलबारदेखि प्रयास भएको थियो । सरकारले डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न र अनशन तोड्न आग्रह गर्दै अनशनको २३ औँ दिन अर्थात् २० गते नै मलाई पठाएको थियो । त्यो बेलादेखि नै डाक्टर केसी र मैले अलि डिटेलमा कुराहरु गरेका थियौँ । उहाँले सरकारको तर्फबाट औपचारिक रुपमा वार्ता टोली होस् र त्यो वार्ता टोलीमार्फत काम कारबाही अगाडि बढाउन पाए हुन्थ्यो भन्ने थियो ।

उहाँको आग्रहलाई मैले सरकारसमक्ष राखेँ । अनि सरकारले मेरै संयोजकत्वमा बुधबार टिम बनायो । त्यही दिन डाक्टर जीवन क्षेत्रीको नेतृत्वमा डाक्टर केसी पक्षको पनि वार्ता टोली बन्यो । अनि सरकार र डाक्टर केसीका तर्फबाट बिहीबारदेखि वार्ता टोली लगातार छलफलमा जुट्यो । लगातारजसो औपचारिक र अनौपचारिक वार्ता गरेपछि शनिबार राति ११ बजे सहमति जुटेको हो ।

शनिबार सरकारले डाक्टर केसी पक्षसँग थप वार्ता नगर्ने सङ्केत गर्दै अनशन अन्त्य गर्न आग्रह गरेको थियो नि ?

लगातार वार्तापछि हिजो दिउँसो (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र सरकारी वार्ता टोलीबीच पनि व्यापक छलफल भयो । त्यसपछि मैले वार्ताबाट भएका सकारात्मक विषयलाई समेटेर सबैको जानकारीका लागि प्रेस विज्ञप्ति जारी गरेँ । 

त्यसले पनि सहमतिका लागि अलिकति काम गरेजस्तो लाग्छ । लगत्तै डाक्टर केसी तथा उहाँको वार्ता टोलीसँग म आफैँले पनि अनौपचारिक छलफल तथा कुराकानी गरेँ । निक्कै सकारात्मक वातावरण बन्यो । त्यसपछि हामी सहमति गर्ने गरी निष्कर्षमा पुग्यौँ ।

१९ औँ अनशन तोडिएको छ, अब २० औँ पटक अनशन बस्न नपर्ने अवस्था आएको हो ?

तपाईँले भनेकै कुरा सुनिश्चित गर्नका लागि ढिला भएको हो । सामान्य अवस्थामा थियो भने केही कुरा क्लियर नगरि गरेको भए बिहीबार पहिलो छलफलमै सहमति हुन्थ्यो, टुङ्गिन्थ्यो । तर वास्तविक रुपमा कार्यान्वयन गर्नका लागि केही विषयमा हामी थप क्लियर हुनुपर्ने अवस्था रह्यो । त्यसका लागि उच्च तहको प्रतिबद्धता पनि चाहियो ।

उहाँले उठाएका माग पूरा गर्न आवश्यक स्रोत साधन र जनशक्ति जुटाउन आवश्यक प्रतिबद्धता पनि चाहियो । त्यसैले हामीले कार्यान्वयन योग्य बनाउने हिसाब किताबमा छलफल गर्दै गर्‍याैँ ।मैले डाक्टर साबलाई पनि अब पटक–पटक अनशन बस्न नपर्ने गरी चाहिँ वार्ता गरौँ र यसलाई निष्कर्षमा टुङ्गोमा पुर्‍याऔँ भनेको थिएँ । त्यसकारण मलाई लाग्छ अब अनशन बस्न पर्दैन किनभने उहाँका धेरै मागहरु पूरा गर्ने क्रममा छन् । अब फेरि डाक्टर केसीले अनशन बस्न पर्दैन, अनशन बस्न नपर्ने गरी काम हुन्छ, नपरोस् भन्ने हाम्रो कामना छ ।

तपाईँले भनेजस्तै वास्तविक रुपमा सहमतिको कार्यान्वयन हुने ग्यारेन्टी के छ ?

सहमति कार्यान्वयन गर्नका लागि चाहिने भनेको स्रोत साधन हो । पैसाको कुरा छ । जनशक्तिको कुरा छ । औजार उपकरण चाहिन्छ । केही कुराहरुलाई तत्काल क्रमशः पूरा गर्दै जानुपर्ने हुन्छ । सरकार डाक्टर केसीका माग पूरा गर्न र सहमतिलाई कार्यान्वयन गर्न प्रतिबद्ध छ ।

सरकारले यसभन्दा अघि पनि यसैगरी सहमति गर्ने तर कार्यान्वयन नगर्ने अनि डाक्टर केसी अनशन बस्ने भइरहेको हो नि ?

विगतको कुरा नगरौँ यसभन्दा अगाडिका सहमति कार्यान्वयन नै नगरेको भन्ने चाहिँ होइन । डाक्टर केसी अनशनमा बसेकै कारण चिकित्सा सेवा आयोग बनेको हो । एमबीबीएस अध्ययनमा छात्रवृत्तिका कुराहरु जनस्तरसम्म पुगेको हो ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा अरु पनि निक्कै सुधारका काम भएका छन् । तर अहिले त्यतातिर नजाऔँ, विगतमा के भयो भनेर कोट्याउनु हुँदैन । अब चाहिँ हामी के गर्ने, कसरी अगाडि बढ्ने भनेर सकारात्मक रुपमा सोच्नुपर्छ । विगतको जस्तो होइन, अबका दिनमा कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त छु । 

अन्तिम अपडेट: चैत १२, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया