तेक्वान्दाेमा दुई वटा विश्व कीर्तिमान राख्ने तयारीमा धनगढीका २३ वर्षीय युवक

 असोज २७, २०७७ मंगलबार २०:६:३९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम समितिको समन्वयमा धनगढीमा विश्व कीर्तिमान बनाउन प्रस्तुति हुने भएको छ । 

धनगढीका २३ वर्षीय तेक्वान्दो खेलाडी विनोद थापा आउँदाे बिहीबार २९ गते एउटा र कात्तिक ४ गते अर्को गरी धनगढीमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमान राख्ने तयारीमा जुटेका छन् ।  कैलालीको टीकापुरका थापा मार्शल आर्ट्स विधामा एउटा पुरानो रेकर्ड तोड्ने र एउटा नयाँ रेकर्ड राख्ने तयारीमा जुटेका हुन् ।

तेक्वान्दो खेलाडी विनोद थापाले मोस्ट मार्शल आर्ट्स किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात् एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने  पुरानो रेकर्डलाई तोड्ने तयारी गरेका छन् । अहिले यो रेकर्ड मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । थापा एक घण्टामा चार हजारभन्दा बढी पटक किक हानेर पुरानो कीर्तिमान तोड्ने गरी र अर्को विधामा नयाँ कीर्तिमान राख्ने तयारीमा छन् ।

यस्तै उनकाे मोस्ट मार्शल राउण्ड हाउस किक इन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सवैभन्दा बढी किक हान्ने रेकर्ड राख्ने तयारी छ । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । थापा एक घण्टामा एक खुट्टाले दुई हजार दुई सयभन्दा बढी पटक किक हानेर रेकर्ड बनाउने तयारीमा छन् । यसको प्रस्तुति कात्तिक ४ गते धनगढीमै गरिनेछ । 

रेकर्डका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डको तर्फबाट पत्र आइसकेको र मिति पनि तोकिएकोले त्यहीअनुसार कार्यक्रम गर्ने सुदूरपश्चिम तेक्वान्दो सङ्घले जनाएको छ । तय भएका दुवै मितिमा उनले गिनिज बुकको मापदण्डअनुसार प्रस्तुति देखाउने छन् । यी दुई विधामा कीर्तिमान बनाएपछि थप दुई विधाको तयारीमा जुट्ने उनको योजना  छ । 

वैदेशिक रोजगारीसँगै तेक्वान्दोको प्रशिक्षण

झण्डै नाै वर्षसम्म भारत र मलेसियामा वैदेशिक रोजगारीमा गएकै बेला तेक्वान्दोमा लागेका थापा गिनिज बुकमा रेकर्ड राख्नका लागि दैनिक ६ घण्टा अभ्यास गरिरहेका छन् । रेकर्ड राख्नका लागि डेढ वर्षदेखि उनि दैनिक ६ घण्टाको हिसाबले अभ्यास गरिरहेका छन् ।

परिवारको आर्थिक अवस्थाका कारण कलिलो उमेरमै भारत पसेका थापाले कामसँगै तेक्वान्दो सिकेका हुन् । महाराष्ट्रमा चाइनिज कुकको रुपमा काम गर्दै उनले तेक्वान्दो सिक्न थालेका थिए । दिउँसो र साँझ होटलको काम र बिहान तेक्वान्दो सिकेका उनले त्यहाँ बस्दा खेरि नै पाँच वर्ष अगाडि तीन वटा स्वर्ण पदक जितिसकेका छन् । आफ्नो डोजाङबाट छनोट हुँदै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका छन्  । दुई वर्ष खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले  दुवै वर्ष स्वर्ण पदक जिते ।

मुम्बईबाट रोजगारीका लागि उनी मलेसिया पुगे । पाँच वर्षसम्म मलेसिया बस्दा पनि तेक्वान्दोलाई छाडेनन् । त्यहाँ बार टेण्डरको कामसँगै तेक्वान्दो पनि खेलिरहे । अहिले उनी घर फर्किएको पाँच महिना पुग्न लागेको छ । तर उनको दैनिकी फेरिएको छैन । अहिले नेपाल फर्किएर उनी रेकर्ड बनाउने तयारीमा जुटेका छन् । अब नेपालमै तेक्वान्दोमा लागेर अगाडि बढ्ने योजनामा उनी छन् ।  

अन्तिम अपडेट: चैत १६, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया