कर्मचारीमा कोरोना देखिएपछि धनकुटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

 असोज २८, २०७७ बुधबार ९:२५:२९ | सन्ताेष रुचाल

धनकुटा – कर्मचारीमा कोरोना देखिएपछि धनकुटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् ।

नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

थप संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा असाेज २८ देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो ।

यो अवधिमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने नगर प्रमुख तामाङले बताउनुभयो । 

धनकुटामा संक्रमितको संख्या ६३ जना पुगेको छ । ती मध्ये ४५ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने एक जनाको ज्यान गएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया