अवसर नदिने तर विदेश नजाऊ मात्र भन्नु गलत हो, झार उखल्ने काम दिएर युवा देशमा रोकिंदैनन्

 असोज २८, २०७७ बुधबार १०:३३:५ | विश्व पौडेल

कोरोना महामारी सुरु भएपछि भारतसहित अन्य देशबाट थुप्रै नेपालीहरु घर फर्किए । अझै पनि कतिपय फर्किरहेकै अवस्था छ । तर यही महामारीकै बीचमा के भयो र, त्यसरी घर आएकाहरु फेरि फर्कन थाले !

घरमा भएकाहरु महामारीकै बीचमा किन परदेशिए भन्ने प्रश्न खडा भएको छ । तर मानिस जहाँ राम्रो अवसर पाउँछ त्यहीँ जान्छ । हरेक मानिसले आफ्नो र परिवारको खुशी र भविष्य राम्रो सोच्ने र त्यसका लागि देश छाडेर परदेश पनि कमाउन जाने अधिकार राख्छ ।  

सायद यहाँ खेतबारीले धान्ने भएको भए, यहाँ आफ्नो जीविका चलाउने कमाइ भएको भए यस्तो महामारीको बेलामा मानिसहरु जाने थिएनन् होला । तर छैन, अनि त जानै पर्‍यो । 

त्यो अवस्थामा यहीँ कमाइ गरौं, मलाई पुग्ने म यहीँ पनि कमाउन सक्छु भनेर ढुक्क हुन सक्ने अवस्था नेपालमा छैन नि त । त्यसकारण जबसम्म यो अवस्था रहन्छ, तबसम्म मानिसहरु परदेशिन्छन् नै । यहाँ सरकारको सबैभन्दा ठूलो असफलता के हो भने काम सृजना गरेर मानिसहरु वैदेशिक रोजगारीमा जान रोकिन्छन् भनेर सोच्नु हो । 

किनभने सरकारले सृजना गर्ने रोजगारी सधैं सीमित मात्रामा हुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम भनेको त रोजगारी पनि हैन । यो त दुईचार दिन काम गर्‍यो, झारपात ओखल्यो सकियो । यसो जीविका चलाउने बाटो मात्र हो । अहिले जसरी त्यसलाई लिएर हल्ला भइरहेको छ, त्यो नै ‘मिसलिडिङ’ हो । 

सरकारले सक्नेभन्दा बढी बोलेको हो कि !

कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई, विदेशबाट फर्किएकालाई देशभित्रै रोजगारीमा जोड्न भनेर विभिन्न योजनाहरु नसुनाइएको हैन । तर त्यो आफ्नो क्षमताभन्दा माथि पो हो कि । सरकार भनेको त एउटा संयन्त्र हो नि । यसो गर्छु उसो गर्छु भन्दा आफ्नो क्षमता, काम गर्ने तरिकाहरु हेरिएन कि । त्यो चाहिँ गलत कुरा हो । 

अरबमा बस्ने, अमेरिका, बेलायत या संसारको जनसुकै कुनामा बस्ने नेपालीले त्यहाँभन्दा म यहीँ केही गर्न सक्छु, यहीँ आम्दानीको वातावरण खोज्न सक्छु भन्ने विश्वास केहीलाई होला, तर धेरैलाई त्यो विश्वास हुँदैन र छैन

काम गर्न खोज्नेहरुलाई स्वीकृति चाँडो दिने, वतावारण सजिलो बनाइदिने त्यस्तो खालको बातावरण भएको भए केही हदसम्म रोजगारी सृजना हुन्थ्यो होला । मलाई के लाग्छ भने देशमै केही गर्न सकिन्छ भनेर फर्किएका हैनन् । भारतमा महामारी भयो, त्यही भएर फर्किए । त्यहाँ बस्न नसक्ने अवस्था भयो त्यसैले हो ।

वैदेशिक रोजगारी रोज्ने युवालाई पहिला पनि देशमा केही गर्न सकिन्छ भन्ने विश्वास एकदमै कम मात्र थियो । केहीलाई होला तर धेरैजसो देशमा केही गर्न सकिएन भनेर नै हो विदेशिएको । र देशले पनि युवाले यही केही गर्न सक्छन् भन्ने खालको विश्वासको वातावरण बनाइसकेको छैन ।

त्यसले गर्दा अरबमा बस्ने, अमेरिका, बेलायत या संसारको जनसुकै कुनामा बस्ने नेपालीले त्यहाँभन्दा म यहीँ केही गर्न सक्छु, यहीँ आम्दानीको वातावरण खोज्न सक्छु भन्ने विश्वास केहीलाई होला, तर धेरैलाई त्यो विश्वास हुँदैन र छैन पनि । त्यो चुनौती हाम्रो देशका लागि सबैभन्दा ठूलो कुरा हो । कसरी आफ्नो देशप्रति युवालाई विश्वास दिलाउने भनेर सरकारले सोच्न जरुरी छ ।

यहाँ किन कम्पनीहरु खुलिरहेका छैनन् ? आर्थिक गतिविधिहरु धेरै भएको छैन ? मानिसहरुले काम पाएका छैनन् ? आफैं स्वरोजगार किन बन्न सकिएरहेका छैनन् त ? त्यो कुरामा सरकार अझै गम्भीर भइसकेको देखिंदैन । 

यो महामारीमा जो व्यक्तिहरु आए उनीहरु देशमा केही गर्न सक्छु भनेर आएको भन्दा पनि अब उता गन्तव्य देशमा समस्या भएकाले आएका हुन् । अहिले यहाँ पनि बस्न नसक्ने भएपछि उनीहरु फर्किएका हुन् । त्यसरी बुझ्दा चाहिँ उनीहरुको भावनामाथि न्याय गरेको जस्तो हुन्छ ।

विश्व बैंकको अध्ययनले भन्छ, यहाँ साना मानिसहरुलाई काम गर्न समस्या छ । कम्पनी दर्ता गर्न पनि निकै गाह्रो छ प्रक्रिया । काम गर्दा पनि  सुरुवाती पूँजीहरु कहाँबाट ल्याउने, कसरी सुरुवात गर्ने भन्ने समस्या हुन्छ । अनि अलिकति ठूलालाई चाहिँ मार्केट कहाँबाट आउँछ, देशभित्रै सामान बेच्न पाइराखेको छ कि छैन, भारतमा बेच्न बजार खोजिन्छ, खोजिन्न जस्ता कुराले सताउँछ ।

सडकहरु खराब छन् । एक ठाउँबाट अर्को ठाउँमा सामान लैजान सडकको कारण समस्या छ । त्यसो हुँदा कष्ट बढ्दा । धादिङको एउटा गाउँबाट तरकारी ल्याउनभन्दा बंगलादेशबाट ल्याउन सस्तो पर्छ । त्यसकारण यस्ता समस्या समाधानका लागि त पूर्वाधार विकासमा लगानी गर्ने, सडक राम्रो बनाउने हो ।

तर यहाँ त सडकहरु २५ वर्षदेखि बिग्रेका छन् । कहिले पनि यी सडक राम्रो भएनन् । अथवा जतिबेला खेती हुन्छ, त्योबेला गाउँ र सहरलाई जोड्न सक्ने वातावरण बनेन । देशभित्रै काम गर्न, रोजगारी सृजना गर्न थुपै ठाउँहरु छन्, तर त्यसमा सरकारले धेरै काम गरेको छैन ।

कुलो खन्ने काम दिएर मानिस रोक्न सकिन्न

हाम्रो देशमा रोजगारी भनेको अहिले कुलोसुलो खन्ने, झारहरु उखल्नेलाई मानियो । तर यस्ता कामले मानिसलाई देशभित्र रोक्न सकिन्न । 

अहिले विदेश नै जानेमा पनि १० कक्षा पढेकाले जुन जागिर पाएको हुन्छ र कमाइ राम्रो गरिरहेको हुन्छ, त्यसैले यहाँ कुलो खनेर उनीहरु बस्न मान्दैनन् । 

खेतीमा त नेपालमा मात्र होइन हरेक विकसित देशमा पनि मानिस रोक्न सकिएको छैन  । एकदमै उत्पादन बढाउन सके मात्र नत्र खेतीमा भविष्य राम्रो देख्दैनन् किसानले । तर पालिकाले यो समयमा शिक्षा स्वास्थ्यमा लगानी गरिदिने, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिने भन्ने मात्रै हो । 

धेरै पालिकालाई आएको बजेट खान पायो भने मात्र हुन्थ्यो भन्ने कुरा छ । अब प्रधानमन्त्री रोजगार कार्यक्रम भनेको छ, त्यसमा के रोजगारी दिने त ? त्यसमा त पहिलेदेखि नै स्पष्ट थिएन । योजना कसरी छनोट गर्ने भन्ने कुरा प्रष्ट छैन । अहिले त पैसा त दामासाइले बाँढिदिएको छ । यतिसम्मकी कुन पालिकाको योजना राम्रो छ त्यो हेरेर त्यो पालिकालाई बढी बजेट दिने भन्ने पनि भएन । 

जनसङ्ख्या यताउता हेरेर रकम बाँडिदिने गरिन्छ । यसरी त यो देशमा कहिले पनि विकास हुँदैन । 

अहिले निजी क्षेत्रसँग पनि काम भएन, सरकारसँग पनि भएन । त्यो पैसा त्यसै उडेर गयो । टोपीसोपी लगायो, घाँस उखाल्यो, फोटो खिचियो सकियो । 

तीन करोड मानिस छन् । ६ अर्ब रुपैयाँ बाँड्दा एक जनालाई दुई सय रुपैयाँ पर्‍यो । दुई सय भनेको त मानिसले चिया खाएर सकाउँछन् । हाम्रो सुरुमा कन्सेप्ट के हो भने लेबर छ हामीसँग, हामीले ६५ कटेकालाई त वृद्धभत्ता दियौं, अब युवालाई भक्ता दिने कुरा भएन, त्योभन्दा काम दिउँ भन्ने हो ।

 पाखुरा बलियो भएकाले पैसा पाउन भन्ने हो । त्यसबाहेक कतिपय घरहरुमा परिवारमा वृद्ध छन् । हजुरबुवा हजुरआमाले नातिनातिना पालिरहेका छन् । छोराछोरी विदेश गए, तर आम्दानीको बाटो छैन । यस्ता व्यक्तिलाई पनि यो कार्यक्रमले समेटोस् भन्ने हो । 

त्यसबाहेक तीन अर्ब, पाँच अर्ब भनेको राम्रा सडकहरु बनून्, त्यसबाहेक अरु पनि केही हुन सक्छ सरकारले सोचेको पूर्वाधारको योजनाहरु भन्ने हो । पहिला त निजी क्षेत्रसँग सहकार्य गरौं भन्दा सरकारले मानेन । तर अहिले निजी क्षेत्रसँग पनि काम भएन, सरकारसँग पनि भएन । त्यो पैसा त्यसै उडेर गयो । टोपीसोपी लगायो, घाँस उखाल्यो, फोटो खिचियो सकियो । 

सबैले देख्ने ठाउँमा सडक सरसफाइदेखि धेरै ठाउँमा सडक सफा मात्र गर्न लगाएको भए पनि त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्थ्यो । 

खाल्डाखुल्डी समयमा पुर्ने हो भने सडकको दिगोपनाको कुरा पनि छ । यसमा अर्को पक्ष के छ भने तीन अर्ब, पाँच अर्ब ठूलो कुरा हुँदैन, यसमा अझै ठूलो लगानी आवश्यक छ ।

अब कुरा मात्र होइन काम गर्नु पर्‍यो 

अब कुरा मात्र हैन काम गर्नु पर्‍यो । यी सबै कुरालाई भ्रष्टाचारको माध्यम बनाउन भएन । भूमि बैंकले काम सृजना हुन्छ भनेर सरकारले कसरी सोचेको छ ? खेती गर्ने मानिस नहुने भूमि बैंक मात्र ल्याउँछु भन्ने हो भने त्यसको अर्थ के ? १० वर्ष पछिको कुरा पो अहिले सोचेको हो कि । 

त्यसकारण खाडीबाट आउने मात्र होइन, नेपालमा भन्दा राम्रो अवस्था भयो भने हामी सबैजना जानेछौं । मानिसको नेचर नै हो ।

सरकारको खर्चबाट पनि काम भएको छैन र निजी क्षेत्रले पनि रोजगरी सृजना गर्न धेरै खर्च गरिरहेका छैनन् ।

तर यहाँभन्दा उता केलाई राम्रो भन्ने त्यसलाई मानिसले कसरी लिन्छ भन्ने हो । मानिसले राम्रो अवसर देखेपछि बस्छन् भन्नुभन्दा पनि उताभन्दा यहाँ राम्रो अवसर नभइ जसलाई पैसा मात्र पनि नभनौं सबै कुरालाई जोडेर हेर्नुपर्छ । त्यसैले सबै कुरा यहाँ नभइ युवालाई रोक्न सकिंदैन र रोक्छु भन्नु पनि गलत हो मेरो विचारमा ।

यहाँ अवसरहरु सृजना गर्दै जाने हो र नेपालीहरु नआए पनि पहिला जो आउलान् उनीहरुलाई काममा लगाउँदै जाने हो भने विस्तारै मानिसहरुले यहीँ केही गर्न सकिन्छ भनेर विश्वास गर्न थाल्छन् र आउँछन् । 


तर सुरुमा यहाँ काम हुने वातावरण हुन पर्‍यो । जुन भएको छैन । सरकारको खर्चबाट पनि काम भएको छैन र निजी क्षेत्रले पनि रोजगरी सृजना गर्न धेरै खर्च गरिरहेका छैनन् ।

(अर्थविद् पौडेलसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)
 

अन्तिम अपडेट: कात्तिक ६, २०७७

विश्व पौडेल

विश्व पौडेल अर्थविद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया