दुई वर्षमा २४ अर्बको विज्ञापन ! केवल टीभी सञ्चालक भन्छन् : केही च्यानलको ठाउँमा खाली स्क्रिन आउन सक्छ

 असोज २९, २०७७ बिहिबार ९:५०:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - लामो समयदेखि बहस र माग भइरहेको क्लिन फिड यो पटक भने लागू हुने संभावना बढेको छ । यसको लागि गएको वर्ष नै विज्ञापन ऐन कार्यान्वयनमा आएको थियो ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा विज्ञापन बजाउन नपाइने नियम ऐनमा स्पष्ट उल्लेख छ । तर नेपालमा विदेशी च्यानलको प्रसारणको अनुमति पाएका संस्थालाई तयारीको लागि भनेर ऐनमै एक वर्षको समय दिइएको थियो । त्यो समय आउँदो कात्तिक ७ गते सकिँदैछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक ७ गतेपछि कुनै पनि हालतमा विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने र प्रसारण गरेको पाइए च्यानल नै बन्द गर्ने चेतावनी  दिएको छ । मन्त्रालयको यो चेतावनीलाई नेपाल विज्ञापन संघले स्वागत गरेको छ । तर केवल टेलिभिजन महासंघसहित नेपालमा विदेशी च्यानलको प्रसारण अनुमति पाएका संस्थाले भने थप समय माग गरिरहेका छन्  । 

के हो क्लिन फिड ?

विदेशी च्यानलमा विज्ञापन मात्रै नभइ सामग्री प्रसारण हुनु नै क्लिन फिड हो । उदाहरणको लागि अहिले डिस्कभरी च्यानलले विभिन्न सामग्री दिँदा बीच-बीचमा विदेशी विज्ञापन बजाइरहेको हुन्छ, ती विज्ञापन नेपालीले पनि हेर्नुपरेको छ । तर ती विज्ञापन बजाएबापत नेपाली विज्ञापन उद्योग र सरकारले कुनै पनि आम्दानी पाएको छैन । क्लिन फिड लागू भएमा विदेशी विज्ञापन बज्दैन, बरु केहीबेर स्क्रिन खाली देखिन सक्छ । 

त्यस्तै स्पोर्टस च्यानलको हकमा पनि क्लिन फिड लागू भएमा खेलको बीचमा विदेशी विज्ञापनको साटो मैदानमा भएका गतिविधि देख्न पाइनेछ । विदेशी च्यानलमा विज्ञापन आउने बेलामा स्क्रिन खाली राख्नुको साटो नेपाली विज्ञापन राख्न पाउनुपर्ने केबल टीभी सञ्चालनको माग छ । तर संसदको विकास समितिले भने त्यसको लागि अनुमति दिन नसकिने प्रष्ट पारेको छ । 

नेपालमा अहिले झण्डै दुई सय च्यानल क्लिन फिडबिनै प्रसारण भइरहेका छन् । 

दुई वर्षमा विज्ञापन बजार २४ अर्बको, नेपाली संस्कृतिको प्रवर्द्धन : विज्ञापन संघ

नेपाल विज्ञापन संघले सरकारको निर्णय राष्ट्रियताको पक्षमा भएको र यसले गर्दा नेपाललाई आर्थिक रुपमा  मात्रै फाइदा नभइ सांस्कृतिक पक्षको प्रवर्द्धनमा पनि राम्रो हुने बताएको छ । विदेशी च्यानललाई विज्ञापनरहित बनाउने अभियान १७ वर्ष अघिदेखिको भएको र अहिले आएर सफल हुन लागेको संघका अध्यक्ष रविन्द्रकुमार रिजालले बताउनुभयो ।

‘एक वर्षअघि नै ऐन कार्यान्वयनमा आएको हो, नेपाली मिडियाले क्लिन फिड लागू गरेको एक वर्ष भइसक्यो, यो एक वर्षमा नयाँ विज्ञापन डबिङ हुन नपाउँदा १ अर्ब रुपैयाँ मिडियाले गुमाए । हामीले १५ करोड रुपैयाँ गुमायौँ । एक वर्षयता विदेशी विज्ञापन डब भएनन्, पहिले डब भएका भने बजिरहेका छन्’ रिजालले भन्नुभयो  । तर एक अर्ब रुपैयाँ गुमे पनि अहिले आएर सरकारले विदेशी च्यालन विज्ञापनरहित बनाउने अडानमा रहँदा यसले नेपाली विज्ञापन बजारलाई दीर्घकालिन रुपमा फाइदा पुग्ने उहाँको भनाइ छ । 

‘नेपालमा निकै धेरै कारोबार हुने विदेशी उत्पादनहरुको नेपालमा विज्ञापन नगर्ने तर भारतीय या अन्य च्यानलबाट विज्ञापन गर्ने चलन अब हट्नेछ, यदि कुनै विदेशी ब्राण्डले नेपालीलाई आफ्नो विज्ञापन देखाउन चाह्यो भने अब विदेशी च्यानल होइन नेपालकै च्यानलको प्रयोग गर्नुपर्नेछ’ रिजालको भनाइ छ । अब नेपालका कलाकार, प्राविधिक, मिडिया लगायतलाई काम र आम्दानी दुवै बढ्ने उहाँको भनाइ छ ।

‘विदेशी च्यानलमा विज्ञापन हट्यो भने नेपालको कला संस्कृति पनि प्रवर्द्धन हुन्छ, अहिले विदेशी कलाकार, उनीहरुको संस्कृति र उनीहरुकै भूमिमा छायाङ्कन गरेका विज्ञापन हेर्नुपरेको छ, तर अब नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुन्छ, नेपाली कला संस्कृतिसँग जोडेर बहुराष्ट्रिय कम्पनीले विज्ञापन बनाउनेछन्’ विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले भन्नुभयो ।  अहिले वार्षिक १२ अर्ब रुपैयाँको नेपाली विज्ञापनको बजार क्लिन फिड लागू भएमा २ वर्षमा विज्ञापन बजार २४ अर्ब रुपैयाँको पुग्ने विज्ञापन संघको भनाइ छ । 

‘विदेशीको नाममा पत्र आउने, विभिन्न कारण देखाएर रोक्नुपर्छ भनेका छन्, यो गलत छ । जालझेल गर्न खोजिएको छ । तर अब यो चल्छ जस्तो लाग्दैन’ संघका अध्यक्ष रिजालले भन्नुभयो । 

समय थप भएन भने खाली स्क्रिन देख्न पाइन्छ : केवल टीभी महासंघ

नेपाल केबल टीभी महासंघले सरकारले क्लिन फिड लागू गर्ने समय थप नगरेमा केही समय केही विदेशी च्यानलको प्रसारण रोकिने बताएको छ । विदेशी च्यानल आउने ठाउँमा खाली स्क्रिन मात्रै आउने केवल टीभी महासंघको भनाइ छ । सरकारले ऐन नै कार्यान्वयन गरिसकेकाले निर्णय मान्दैनौँ भन्न नमिल्ने तर कार्यान्वयनको लागि समय थप गरिदिनुपर्ने महासंघको भनाइ छ । 

निःशुल्क च्यानलहरुमा क्लिन फिड लागू गर्न समस्या नभए पनि सशुल्क च्यानलमा क्लिन फिड लागू गर्न समस्या भएको महासंघका अध्यक्ष सुधीर पराजुलीको भनाइ छ । क्लिन फिड कार्यान्वयनको लागि नेपालमा सशुल्क रुपमा प्रसारण भइरहेका च्यानल आफैले उपकरण उपलब्ध गराउने तर अहिलेसम्म  त्यस्ता उपकरण जडान भइनसकेको उहाँले बताउनुभयो ।

‘क्लिन फिड लागू गर्न विशेष खालको उपकरण चाहिन्छ, कुनै कुनै उपकरण नेपाल आइपुगे पनि धेरै उपकरण सिंगापुरमै थन्किएका छन्, ती उपकरण आयातको स्वीकृतिका फाइल सञ्चार मन्त्रालयमा घुमिरहेका हुन्छन्’ पराजुलीले भन्नुभयो । 

आफूहरुले मात्रै नभइ क्लिन फिड लागू गर्नको लागि केही समय थपको लागि इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्यूजलगायतले पनि समय माग गरेको उहाँले बताउनुभयो ।  ‘अहिलेसम्म क्लिन फिड कार्यान्वयनको लागि कुनै पनि च्यानलले नेपालमा उपकरण ल्याएर जडान गरेका छैनन्,  कात्तिक ७ गतेसम्म सायद कुनै पनि च्यानलले उपकरण जडान गर्न सक्दैनन् होला’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया