हिमाली इकोसिस्टमको सूचक : हिउँ चितुवा

 असोज २९, २०७७ बिहीबार १२:५०:६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - ‘हिउँ चितुवा’ उपनामले चिनिएका ख्यातिप्राप्त पर्वतारोही आङरिता शेर्पाको असोज ५ गते निधन भयो । अतिरिक्त अक्सिजनबिना १० पटक सगरमाथाको शिखरमा पुगेका शेर्पालाई हिमाली क्षेत्रमा बस्ने बलियो जीव हिउँ चितुवासँग तुलना गर्दै पर्वतारोहण जगतले हिउँ चितुवा उपनाम दिएको थियो ।

अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका शेर्पाको निधनबारे खबर संचारमाध्यममा आइरहँदा हिउँ चितुवाबारेमा चासो पनि बढेको छ । हिउँ चितुवा नेपालका लागि नयाँ त होइन तर पनि अतिरिक्त अक्सिजन बिना पटक/पटक सगरमाथाको शिखरमा पुग्ने मानिसलाई किन हिउँ चितुवाकै उपनाम भनियो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । 

ठूलो बिरालो प्रजातिको जीव

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर रहेको नेपालमा पहिलोपटक हिउँ चितुवाबारे अध्ययन गर्नुहुने त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक, जीवशास्त्री करनबहादुर शाह बताउनुहुन्छ ।

 लजालु स्वाभावको हिउँ चितुवा नेपाललगायत दक्षिण र मध्य एसियाका १२ देशहरूको उच्च भेगमा बस्ने गरेको मानिन्छ । हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि साढे पाँच हजार मिटर उचाइसम्म बस्छ । कतिपय ठाउँमा ६ हजार मिटरभन्दा माथि समेत पुग्ने गरेको शाह बताउनुहुन्छ ।

विश्वमा छ हजार पाँच सयको हाराहारीमा रहेका हिउँ चितुवा नेपालमा झण्डै पाँच सयको हाराहारीमा रहेको बताइन्छ । यसको थुतुनो छोटो हुन्छ र नाकका प्वाल ठूला हुन्छन् जसले गर्दा हिमाली क्षेत्रमा श्वास फेर्न सजिलो हुन्छ । यसको शरीरमा हल्का खैरो रंगको लामा र बाक्ला भुत्ला हुन्छन् । यसको शरीरभरि काला पहेँलो थेग्ला हुन्छन् र छाती सेतो हुन्छ ।

यसको आँखा निलो वा हरियो रंगको हुन्छ पञ्जा ठूला हुन्छन्, जसले गर्दा यिनीहरू हिउँमा सजिलै हिँड्न सक्छन । लामो र लचकदार पुच्छर हुन्छ जसले गर्दा चट्टानी भू-भागमा हिँड्दा शरीर सन्तुलन गर्न सहयोग मिल्छ । चिसो धेरै भएको बेला हिउँ चितुवाले शरीरलाई बेरेर न्यानो बनाउने जीवशास्त्री शाह बताउनुहुन्छ । 

हिमाली इकोसिस्टमको सूचक

जीवशास्त्री प्रध्यापक करनबहादुर शाह हिउँ चितुवा हिमाली इकोसिस्टम (पारिस्थितिकीय प्रणाली) को सूचक रहेको बताउनुहुन्छ । जहाँ हिउँ चितुवा पाइन्छ, त्यहाँको इकोसिस्टम राम्रो रहेको थाहा हुने उहाँको भनाइ छ ।

शाह भन्नुहुन्छ ‘जहाँ हिउँ चितुवा हुन्छ त्यहाँ उसको आहारा नाउर, झारल लगायतका शाकाहारी जीव पनि हुन्छन्, अनि जुन हिमाली क्षेत्रमा नाउर, झारल लगायतका शाकाहारी जीव हुन्छन् त्यहाँ घाँस तथा जडिबुटीहरु पनि रहेको हुन्छ, यसकारण हिउँ चितुवा छ भन्ने थाहा हुन साथ त्यहाँको इकोसिस्टम पनि ठिक रहेको बुझ्न सकिन्छ ।’ 

कतिपयले अहिले हिउँ चितुवाको आहाराको रुपमा चिनिएको नाउर तथा झारल नासिएको कारण हिउँ चितुवा बस्ती तथा गोठमा आएर घरपालुवा पशु मार्ने गरेको बताउँछन् । नाउर तथा झारल मासिनु पनि हिमाली इकोसिस्टम समस्यामा पर्नु उनीहरुको बुझाइ छ । तर प्रध्यापक करनबहादुर शाह यो कुरा मान्नुहुन्न ।

हिउँ चितुवाको अध्ययनका लागि लामो समय हिमाली क्षेत्रमा बिताउनुभएका उहाँ भन्नुहुन्छ, ‘नाउर तथा झारल मार्नुभन्दा घरपालुवा पशु मार्नु सजिलो हुन्छ, घरपालुवा जनावर कम दौडने था भिरालो ठाउँमा जान नसक्ने भएकोले मार्न सजिलोका लागि घरपालुवालाई आक्रमण गर्छ भने अर्को कुरा हिउँ चितुवाले खानामा स्वाद फेर्नको लागि पनि घरपालुवालाई आक्रमण गर्छ ।’

जंगल कम भएको वा जंगल नै नभएको ठाउँमा बस्ने हिउँचितुवा त्यहाँको इकोसिस्टमलाई जोगाउनुको साथै इकोसिस्टम ठिक रहे/नरहेको बारेमा थाहा दिने जीव भएको र अहिलेसम्म हिउँ चितुवा रहेको ठाउँको इकोसिस्टम ठिक रहेको भन्दै शाह हिउँ चितुवा जोगाउने अभियानले समग्र हिमाली इकोसिस्टम जोगिने बताउनुहुन्छ । 

संरक्षणका लागि पालिकाहरु सचेत हुनुपर्छ

हिउँ चितुवा विश्वमै खतराको सूचीमा छ । हिमाली क्षेत्रका पशुपालकहरुले पालेका पशुलाई मारिदिने भएकोले मानिस र हिउँ चितुवाबीच द्वन्द्व हुँदा मानिसले मारिदिन्छन् भने छाला तथा हड्डीको अवैध व्यापारको लागि तस्करहरुले पनि यसको चोरीशिकार गर्ने गरेका जीवशास्त्री शाह बताउनुहुन्छ । 

हिउँ चितुवा हत्तपत्त मानिसको नजिक पर्दैन । अहिलेसम्म  हिउँ चितुवाले मानिस मारेको तथ्याङ्क नरहेको शाह बताउनुहुन्छ । यसको शरीरको रौँको रङ्ग हिमाली क्षेत्रको वातावरणसँग मिल्ने भएकोले अलि टाढा हुँदा ठम्याउन पनि मुश्किल पर्छ । मानिसबाट गोप्य रुपमै रहने हिउँ चितुवालाई पासोमा पारेर वा खोजी गरेर पनि चोरीशिकार हुने गरेको छ । यसको संरक्षणका लागि हिमाली क्षेत्रका बासिन्दालाई हिउँचितुवाको महत्वबारेमा बुझाउनुपर्ने शाह बताउनुहुन्छ । 

हिउँ चितुवा संरक्षणको काममा पालिकाहरुको भूमिका महत्वपूर्ण हुन्छ । हिउँ चितुवाले घरपालुवा पशु मारेमा किसानहरुलाई सरकारले तोकेको क्षतिपूर्ति सहज रुपमा उपलब्ध गराउन सहजीकरण गर्ने, गोठ सुधारलगायतका काममा सहयोग गर्ने जस्ता काम गरी आफ्नो क्षति भएकै कारण किसानले हिउँ चितुवा मार्ने क्रम रोक्न सकिन्छ । 

यस्तै हिउँ चितुवा हिमाली इकोसिस्टमका लागि महत्वपूर्ण छ भन्ने कुरा त्यहाँका बासिन्दालाई जानकारी गराउनुपर्छ । यसको लागि टोलटोलमा छलफल तथा विद्यालयका पाठ्यक्रममा पनि यो विषय समावेश गर्न सकिन्छ । यस्तै पालिकाहरुले हिउँ चितुवाको चोरशिकारमा संलग्नको पहिचान गरी कारबाहीको लागि सिफारिस गरेमा पनि हिउँ चितुवालाई जोगाउन सहज हुने शाह बताउनुहुन्छ । 

बेलाबेलामा किसानको ठूलो क्षति समेत गर्दै आएको मांसाहारी जीव हिउँचितुवा झट्ट हेर्दा मानिसको लागि खतरा देखिए पनि यो जीव मर्दाभन्दा बाँच्दाको फाइदा धेरै भएको जीवशास्त्रीहरु बताउँछन् । जैविक विविधता प्रदर्शन तथा हिमाली क्षेत्रको इकोसिस्टम बचाइराख्नको लागि महत्वपूर्ण हुने हिउँ चितुवा विश्वमै खतराको सूचीमा छ । राम्रो कुरा नेपालमा यसको अवस्था खराब भैसकेको छैन । यसलाई बचाउनका लागि विशेषगरी पालिकाहरुले ध्यान दिनुपर्छ । 

फोटो : डब्लुडब्लुएफ

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया