वाहवाही पाएका यातायात मन्त्री नेम्वाङ गुमनाम, काठमाण्डौ धुलोले ढाकिँदै

 कात्तिक ३, २०७७ सोमबार ११:१३:९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - सफल हुने मन्त्रीको खडेरी लागेको बेला आशा जगाउने गरी आउनुभएको थियो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ । 

तत्कालीन मन्त्री रघुवीर महासेठले अस्तव्यस्त सडक र भौतिक पूर्वाधारमा ख्याल नगरेको  बेला २०७६ सालको मंसिरमा मन्त्री बनेर आएका नेम्वाङले सुरुमा भाषणबाजी गर्नु भएन, अरु मन्त्रीले जस्तो सञ्चार माध्यममा अन्तरवार्ता र भनाइ राख्दै हिँड्नु भएन । यो गर्छु र त्यो गर्छु भनेर धेरै गफ पनि दिनु भएन । 

उहाँले कार्यभार सम्हाल्दा काठमाण्डौका सडक अस्तव्यस्त थिए । कतै मेलम्ची खानेपानी आयोजनाले खनेर सडक बेहाल थिए । कतै ढलले, कतै भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतकै निकायकै कारण सडक बेहाल अवस्थामा थिए । 

सबैभन्दा बदनाम भएको मन्त्रालयको नेतृत्व गरेका नेम्वाङले एक महिनादेखि नै कामको नतिजा देखाउन थाल्नुभएको थियो । मंसिरमा मन्त्री बनेका नेम्वाङले फागुनसम्म त सफल मन्त्रीको जस पाइसक्नु भएको थियो ।काठमाण्डौका सडकका खाल्डा केही कम भएका थिए, कुहिरीमण्डल जस्तै धुलो उड्ने काठमाण्डौका केही ठाउँ अलि सफा पनि देखिएका थिए । 

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि चैत ११ गतेदेखि सरकारले लकडाउन गर्यो ।  लकडाउनको तीन महिनासम्म सडक सुनसान भए । त्यही मौकामा काठमाण्डौका केही सडकमा मार्किङ गर्ने काम भयो ।

गाडी नचल्दा धुलो यसै कम थियो, वसन्त ऋतुमा सडक छेउछाउका फूल फुलेर ढकमक्क भए, पालुवा पलाए । काठमाण्डौका माइतीघर-तीनकुने, तीनकुने-एअरपोर्ट, रत्नपार्क वरपर, बालुवाटार क्षेत्रलगायतका मुख्य ठाउँका सडक निकै सुन्दर पनि देखिए । 

ती सडकका आकर्षक फोटा राखेर सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म मन्त्री नेम्वाङको प्रशंसा भयो । तर काठमाण्डौका सुन्दर सडक धेरै दिनसम्म टिकेन । सरकारले बिस्तारै लकडाउन खुकुलो बनाउँदै गएपछि सडकको सुन्दरता पनि हराउँदै गयो । फेरि खाल्डो खन्न थालियो, सडक मर्मतको नाममा भत्काउन थालियो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, काठमाण्डौ उपत्यका सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय काठमाण्डौलगायतका निकायले बनाउने जिम्मा पाएका सडक अस्तव्यस्त छन् । नगरपालिकाहरुको भागमा पर्ने सडकको हालत पनि उस्तै छ । 

वर्षा सकिएको धेरै भएको छैन । तर काठमाण्डौका सबै सडकको दायाँबायाँका घर धुलोले छोपिएका छन् । बोटविरुवा पनि हरियो देखिन छाडिसके ।

मुख्य सडककै बेहाल 

काठमाण्डौको सबैभन्दा सुन्दर सडक भनेर तीनकुने-माइतीघर सडकलाई चिनिन्छ । फराकिलो सडक, सर्भिस लेन, बीचमा बगैँचा, हरेक दिन ब्रुमर लगाउने भएकाले सडक धुलोरहित देखिन्छ । यातायात मन्त्रालय र सडक विभागले यही सडक देखाएर समग्र काठमाण्डौको सडकको मूल्याङ्कन गरेको पाइन्छ ।

सडक बिग्रिएको विषयमा प्रश्न गर्दा मन्त्रालय र विभागका हाकिमहरु तीनकुने-माइतीघर सडकलाई देखाएर पूरै काठमाण्डौ चिटिक्क रहेको बताउन पछि पर्दैनन् । तर काठमाण्डौका मुख्य सडककै हालत खराब छ । पद्मोदय मोडदेखि कमलादी चोकसम्मको सडक खनेको महिनौँ भइसक्यो । पानी पर्ने बित्तिकै डुब्ने पुतलीसडक क्षेत्रको समस्या समाधानको लागि गएको वैशाखदेखि काम भइरहे पनि अहिलेसम्म सम्पन्न भएको छैन । सडक पिच गर्ने चरणमा रहेको छ । 

पुरानो बानेश्वरदेखि गौशाला चाबहिल हुँदै सुन्दरीजल र जोरपाटी हुँदै साँखुसम्मको सडक पाँच वर्षदेखि बिजोग अवस्थामा छ । चाबहिलबाट जोरपाटीसम्मको सडक बल्ल पिच हुन थालेको छ । गौशाला चाबहिल क्षेत्रमा पुग्दा सायद कसैले पनि यो संघीय राजधानी हो भनेर विश्वास गर्दैनन् । ललितपुरको कुमारीपाटीमा ढल राखेरपछि सडक खनेर अलपत्र छाडिएको छ । एउटा लेनमा पिच थपियो, अर्को लेनमा थपिएन । लेन परिर्वतन गर्ने दुई पाङ्ग्रे गाडी बेलाबेला दुर्घटनामा परिरहन्छ । 

पाटनको कृष्ण मन्दिरदेखि ग्वार्को निस्कने सडकको हालत उस्तै छ । स्थानीयले पटक-पटक आन्दोलन गरेपछि बल्ल ग्राभेलसम्म भएको छ । ग्वार्को चोकमा ढल सफा गर्न खनिएका खाल्डा यत्तिकै छाडिएको छ। विभिन्न प्रयोजनको लागि भत्काइएका फुटपाथ मर्मत भएका छैनन्, काठमाण्डौका भित्री गल्ली पनि धमाधम खनिँदैछ । 

पाँच वर्षदेखि अलपत्र सडक विस्तारको लागि म्याद थपिने, तर कामै नहुने

काठमाण्डौ उपत्यकामै दुई वर्षमा सकिने भनेर ठेक्का लगाएका सडक आयोजना ५ वर्षसम्म पनि सकिएका छैनन् । उपत्यकामा ९ वटा सडक विस्तारको काम गरिरहेको काठमाण्डौ सडक विस्तार आयोजनाले पटक-पटक यी आयोजनाको म्याद थप गरे पनि सडक अलपत्र नै छन् ।

सडक विस्तारको काम सम्पन्न हुन नसक्दा वर्षामा सडक आहाल बन्ने गरेका छन् भने हिउँदमा कुहिरीमण्डल हुनेगरी धुलैधुलो हुन्छन् । सडकका खाल्डाखुल्डीका कारण हुने दुर्घटनाको त हिसाब नै छैन । नौ दशमलव एक किलोमिटर लामो त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक २०७४ सालको असोज ३० गते सम्पन्न गर्नुपर्नेमा पटक-पटक म्याद थप गरेर भर्खरै सकिएको असोज मसान्तसम्म तोकिएको थियो । काम अझै पनि बाँकी छ । 

चाबहिल-जोरपाटी-वाग्मती-साँखु सडकको हालत उस्तै छ । २०७४ सालको चैत १४ मा काम सकिनुपर्ने यो सडक राजधानीकै लज्जाको विषय बन्दा पनि अहिलेसम्म सकिएको छैन । जोरपाटी-सुन्दरीजल सडक विस्तार आयोजना पनि दुई वर्षअघि नै सम्पन्न हुनुपर्नेमा अहिलेसम्म ५० प्रतिशत मात्रै काम सकिएको छ । सात किलोमिटर लामो इमाडोल-लुभु-लामाटार- सिद्धिपुर सडक २०७५ सालको साउन २६ गते सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म जम्मा ५५ प्रतिशत मात्रै काम सकिएको छ ।

ढोलाहिटी-चापागाउँ-लेले सडक विस्तार आयोजना पनि २०७५ सालको साउन २६ गते सम्पन्न हुनुपर्नेमा अहिलेसम्म आधा पनि काम भएको छैन । चापागाउँ दोबाटोबाट तीन दशमलव तीन किलोमिटर सडक दिवा शैलुङ जेभीले पाएको छ ।

यो शैलुङ कन्स्ट्रक्सन कम्पनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको हो । तीन दशमलव दुई किलोमिटरमध्ये दिवा शैलुङले नेकपाका अध्यक्ष प्रचण्डको घरसम्म पुग्ने तीन सय मिटर सडक पिच गरेको छ, बाँकी २९ सय मिटर सडकको काम नै गरेको छैन ।

कर्मनासा-हरिसिद्धि- गोदावरी सडक विस्तार आयोजना पनि बिजोग अवस्थामा छ । २०७३ साल असार ३ गते भएको ठेक्का सम्झौता अनुसार २०७५ सालको साउन तीन गते सडक विस्तारको काम सक्नुपर्ने थियो । पटक-पटक म्याद थपेर यसको अवधि २०७७ सालको माघसम्म पुर्याइएको छ ।

चार किलोमिटर लामो नख्खुखोला-भैंसेपाटी-बुङ्गमती सडक विस्तार आयोजना २०७३ सालको असारमा ठेक्का सम्झौता भएकोमा २०७५ सालको कात्तिकमा सम्पन्न गर्नुपर्ने थियो । तर पटक-पटक म्याद थप गरेर यसको सम्पन्न हुने म्याद आउँदो मंसिरसम्म पुर्याइएको छ । तर सडकको हालत हेर्दा यो समयमा पनि काम पूरा हुने देखिँदैन ।

चार किलोमिटर लम्बाइको पेप्सीकोला- सल्लाघारी सडक विस्तारको लागि २०७४ सालको असारमा सम्झौता भएको थियो । गएको पुसमै सक्नुपर्ने यो सडकको हालत पनि बेहाल छ । ५० करोड रुपैयाँ लागतको यो सडक आउँदो पुससम्म सम्पन्न गर्ने गरी म्याद थप भएको छ । अहिलेसम्म यो आयोजनाको प्रगती जम्मा ४० प्रतिशत मात्रै रहेको छ । 

राष्ट्रिय महत्वका सडक निर्माण पनि अलपत्र, मन्त्रीको चासो छैन

काठमाण्डौ उपत्यकाका सडक मात्रै होइन् राष्ट्रिय महत्वका सबैजसो सडक अस्तव्यस्त छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत १ सय १३ किलोमिटर लामो नारायणगढ-मुग्लिङ सडक आयोजनाको काम २०७५ सालको चैतमा सुरु भएको थियो । 

डेढ वर्ष बितिसक्दा काम भने १ प्रतिशत मात्रै सकिएको छ । २०७९ सालमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको यो सडक निर्धारित मितिमा सम्पन्न नहुने पक्का भइसकेको छ । ठाउँ-ठाउँमा सडक खनेर छाड्दा यात्रुले हैरानी खेपेका छन् । पूर्व पश्चिम राजमार्गको दाउन्ने क्षेत्रमा सडक मर्मत नहुँदा हरेक दिन हजारौ‌ंले सास्ती भोगेका छन् । 

पूर्व पश्चिम राजमार्गका सयौं पुल जीर्ण भएर दुर्घटनाको जोखिम हुँदा समेत मर्मत भएका छैनन् । नारायणगढ-मुग्लिङ सडक विस्तार भएपछि अब त ढुक्कले यात्रा गर्न पाइन्छ भन्ने धेरैको आशा थियो । यो सडकले पनि वर्षायाममा निकै दुःख दियो । स्थायी रुपमा मर्मत नहुँदा सडक जोखिममा नै रहेको छ । 

चीनसँगका दुई मुख्य नाका आउजाउ गर्ने सडकको यात्रा गर्दा ज्यानै जोखिममा राख्नुपर्ने बाध्यता छ । रसुवागढी नाका आउजाउको लागि रसुवाखण्डको सबैजसो ठाउँमा सडक जीर्ण भइसकेको छ । सिन्धुपाल्चोकको तातोपानी जाने अरनिको राजमार्ग पनि कतिखेर माथिबाट पहिरो खस्ने हो या तलबाट तान्ने हो भन्ने अवस्थामा छ । भूकम्प, बाढी पहिरोले थिलोथिलो भएको राजमार्ग दीगो हुनेगरी मर्मत भएको छैन । टालटुलका भरमा काम चलाइएको छ । 

यस्तै खाडीचौर-मुडे-चरिकोट सडकको हालत पनि वर्षौँदेखि अलपत्र नै छ । उत्तर दक्षिण कोरिडोर अन्तर्गतका कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर अन्तर्गतका सडकको प्रगती पनि पटक्कै राम्रो छैन । देशैभरका सडकको अवस्था खराब हुँदा पनि यातायात मन्त्री किन निष्क्रिय हुनुभएको हो भनेर नागरिकले प्रश्न गर्न थालेका छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०७७

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया