दशैँमा सरसफाइ : जागरणका लागि विज्ञान र धर्मको मिलन

 कात्तिक ५, २०७७ बुधबार १३:३९:२० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

तस्बिर : रासस

दशैँको महत्वपूर्ण पाटो सरसफाइ पनि हो । कमेरो र रातो माटो पोतेर चिटिक्क बनाइएको घर । आँगन हुँदै परसम्म झार उखेलेर सिनित्त बनाइएको बाटो । चुल्हो माथिको ध्वाँसो र माकुराले लगाएको माकुराको जालो फालेर सफा बनाइएको भित्ता । लामो समय चलन नगरेका भाँडाकुँडा माझेर टलक्क । यस्ता दृष्यले दशैंलाई थप रौनक बनाउँछन् । दशैँसँगै तिहार, छठ, ल्होसार लगायतका चाडपर्वमा घरको सरसफाइ गर्ने पुरानो चलन रहेको छ । 

नुहाइधुवाइ गरी नयाँ कपडा लगाएर चिटिक्क बनेर मनाइने दशैँमा साँच्चै सरसफाइका धेरै काम हुन्छन् । या भनौं सरसफाइका तीन मुख्य क्षेत्र व्यक्तिगत सरसफाइ, घरको सरसफाइ र समुदायको सरसफाइ सबैलाई दशैँले समेटेको हुन्छ । दशैँ सुरु हुनासाथ टोल/समुदायका मानिस जुटेर बाटोघाटो, पाटीपौवा वा सार्वजनिक बगैँचाहरु समेत सरसफाइ गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको छ । 

चाडपर्वमा सरसफाइ गर्ने चलन महत्त्वपूर्ण

दशैँ, तिहार, छठ, ल्होसार लगायतका चाडपर्वमा निकै मेहनतका साथ सरसफाइ गरिन्छ । कतिपयले लामो समयमा एकाध दिन गरिने यस्ता चलनले सरसफाइमा खासै योगदान नदिएको टिप्पणी पनि गर्छन् । तर खानेपानी तथा सरसफाइ मन्त्रालयका पूर्व–सहसचिव एवम् सरसफाइ अभियन्ता अबध किशोर मिश्र यस्ता चलन निकै महत्वपूर्ण रहेको बताउनुहुन्छ । 

वर्षदिनमा केही दिन गरिने भए पनि यी साँकेतिक कुरा हुन् । मिश्र भन्नुहुन्छ ‘हाम्रो संस्कृति, संस्कार, सामाजिक परम्परा, व्यक्तिगत परम्परा, चालचलनमा स्वच्छतालाई ठूलो महत्व दिएको पाइन्छ, जुनसुकै चाडपर्व होस्, त्यसमा सरसफाइलाई बिशेष ध्यान दिएको पाईन्छ । हाम्रो धर्मले मनको स्वच्छता सँगसँगै तनको स्वच्छता, घरायसी स्वच्छता र वातावरणको स्वच्छता पनि हुनुपर्छ भन्ने परम्परागत सोच छ । यसले के देखाउँछ भने हामीलाई पुर्खाहरुले चाडपर्व तथा धर्मको नाममा सरसफाइका कुरा सिकाएका छन् ।’

वर्षायाम सकिएलगत्तै आउने दशैँमा गरिने सरसफाइले घर तथा वातावरणको सरसफाइमा ठूलो भूमिका खेल्छ । वर्षामा पानीको बाछिटाले घरमा लिपपोत गरेको माटो÷कमेरो बगाएको हुन्छ, त्यसैले पुर्खाहरुले दशैँमा घरमा कमेरो/माटोले लिपोत गर्ने चलन चलाएका हुन् । 

यस्तै वर्षायामा धेरै किरा फट्याङ्ग्रा आउने भएकोले तिनीहरुले घरमा फोहोर गरेका हुन्छन् भने घरभित्र पनि साङ्ला, लामखुट्टे लगायतका जीव बढेका हुन्छन् । त्यस्ता जीवले गरेका फोहोर फ्याँकेर घरलाई सफा गर्नको लागि पनि पुर्खाहरुले दशैँको समयलाई उपयुक्त समय मानेर सरसफाइ गर्नुपर्ने धार्मिक मान्यता जोडेका मिश्र बताउनुहुन्छ । 

दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा व्यक्ति, घर तथा घर आसपासको वातावरण तथा नदी तलाउहरुमा सरसफाइ नगरेमा अशुभ हुन्छ भन्ने मान्यता छ । चाडपर्वमा सरसफाइका कुरालाई धर्मसँग जोडिंदा मानिसहरुले पालना गर्छन् भनेर धर्मसँग जोडिएको भए पनि यी चलनहरुमा विज्ञानको आधार रहेको अभियन्ता मिश्र बताउनुहुन्छ । वर्ष दिनमा एक दिन गरिने सरसफाइ कसरी महत्वपूर्ण भन्ने प्रश्न उठे पनि यो साँकेतिक कुरा भएकोले मानिसहरुमा सरसफाइको जागरणका लागि यस्ता चलनहरु महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ । 

देवताका लागि सरसफाइ गर्नुपर्छ भनेर पुर्खाहरुले भने पनि यो मानिसका लागि आवश्यक भएकैले अनिवार्य पालनाका लागि धर्मको सहायता लिएको उहाँको भनाई छ । अहिले कानुनको सहायता लिएजस्तै पुर्खाहरुले पाप धर्मको सहायता लिने गर्थे । 

सरसफाइ भएपछि मानिस स्वस्थ हुन्छ । स्वस्थ भएपछि क्रियाशील हुन्छ । क्रियाशील भएपछि मान्छेले प्रगति गर्छ तथा उपलब्धिहरु हासिल गर्छ । यसैलाई धर्म गरेको कारण उपलब्धि पाएको भन्ने कुरा जोडेर पुर्खाहरुले सरसफाइ तथा स्वच्छतालाई प्राथमिकता दिएका हुन् । तिहारमा सफा गरेमा लक्ष्मी आउँछिन् भन्नु वा छठ पर्वमा नदी, तलाउ सफा गर्दा देवता खुसी भएर वरदान दिन्छन् भन्ने चलन पनि पुर्खाहरुले मानिसलाई स्वस्थ रहन सरसफाइ चाहिन्छ भनेरै चलाएका मिश्र बताउनुहुन्छ । 

पुराना चलन जसले सरसफाइका पाठ सिकाउँछन्  

त्यस्ता धेरै पुराना चलनहरु छन्, जसले हामीलाई व्यक्ति, घर तथा वातावारण सफा र स्वच्छ राख्नुपर्छ भन्ने सन्देश दिएका छन् । पुर्खाहरुले हामीलाई कतै बाहिर गएर फर्किएपछि आगोपानी छोएर मात्रै भित्र पस्नुपर्छ भनेका छन् । जसमा पानी छुनुको अर्थ हातगोडा तथा अनुहार धोएर भित्र जानु भएको र यसले कुनै भाइरस वा किटाणुहरु टाँसिएको भएरमा भित्र जान पाउँदैनन् भन्ने रहेको मिश्र बताउनुहुन्छ । यस्तै जुत्ता घर बाहिरै फुकाल्नुपर्ने चलन छ जसले खुट्टामा टाँसिएर आएको फोहोर भित्र जाँदैन । 

मलामी गएर आएपछि नुहाएर मात्रै भित्र पस्नु, बालबालिकालाई छुनुअघि अनिवार्य आगो पानी छुनु, पाका पुर्खाको अगाडि जाँदा नुहाएर चोखो भएर जानु, औँसी/पूर्णिमामा घर लिपपोत गर्नु, खाना खाएपछि गोबरले चुल्हो पोत्ने, खाना खाँदा कपडा फेरेर खाने लगायत अरु धेरै चलन छन्, जसले हामीलाई सरसफाइ र स्वच्छताका लागि झक्झकाइ रहन्छन् ।

यी चलनहरुलाई धर्मसँग जोडिएको भए पनि अन्ततः सरसफाइकै महत्वलाई ख्याल गरेर पुर्खाहरुले यी चलन चलाएका हुन् । पाप धर्म वा देवीदेवता खुशी हुने भनेकै कारण अहिले पनि यीमध्ये धेरै चलनचल्तीमा छन् । अहिले त धेरैले यस्ता चलनमा विज्ञानको अर्थ समेत जोडेर परिस्कृत गर्दै अपनाइरहेका छन् । अहिले दशैँमा गरिने सरसफाइ पनि विज्ञानसँग जोडिएको विषय भएकोले व्यक्ति, घरदेखि टोल समुदायमा समेत सरसफाइका काम गर्ने गरिएको अभियन्ता मिश्र बताउनुहुन्छ । 

कोरोना महामारीले सम्झाइदिएका पुराना चलन

कोरोना महामारी सुरु भएसँगै सरसफाइ सम्बन्धी हाम्रा धर्म/संस्कृतिसँग जोडिएका पुराना चलनहरु अझ चर्चामा आएका छन् । अहिलेसम्म खोप र औषधिको आविष्कार नभएकाले कोरोना सङ्क्रमणको रोकथामका मुख्य उपाय सरसफाइ नै हो । सफा व्यवहारबाट मात्रै आफूमा सङ्क्रमण हुनबाट रोक्न सकिने भएकोले विश्व स्वास्थ्य संगठनले नै सरसफाइका उपायहरु अपनाउन बारम्बार आव्हान गरेको छ । 

घरमा आपपछि आगो पानी छुनु, नुहाएर चोखो बन्नु भनी हाम्रो धर्म संस्कारले सिकाएको कुरा अहिले कोरोनाबाट बच्ने मुख्य उपाय मानिएको छ । अहिले घरबाहिर गएर फर्किएपछि सके नुहाएर, नभए पनि हातगोडा, मुख नधोई भित्र पस्ने आँट गर्ने मानिस कमै होलान् । अरुको जुठो नखानु, थुकका छिटा पर्दा पनि देवता रिसाएर मुखमा खटिरा ल्याउँछन् भनी हाम्रा पुर्खाले सिकाएको कुरा कोरोनाबाट बच्ने उत्तिकै महत्वपूर्ण कुरा भएको छ । कोरोना भाइरस नाकमुखबाट निस्कने रसबाटै सर्ने भएकोले अरुको जुठो वा थुकका छिटाबाट बच्नुपर्छ भन्ने कुरा उत्तम हो । 

टाढा गएर फर्किएकाहरु झट्ट घरभित्र नपस्ने, भेटघाट गरी नहाल्ने, मानिसको मृत्यु भएर काजकिरिया गर्नेहरु छुटै बस्ने, लगायतका कुराहरु संक्रामक रोग सर्नबाट बच्ने निकै प्रभावकारी उपाय हुन् भनेर यसबेला सबैजसो बुझेका छन् । यसैले दशैँ लगायतका चाडपर्वमा गरिने सरसफाइ सम्बन्धी पुराना चलनहरु जसरी प्रस्तुत गरिएका भए पनि सरसफाइ र स्वच्छताका लागि महत्वपूर्ण सन्देश भएको नेपाल सरकारका पूर्व–सह सचिव अबध किसोर मिश्र बताउनुहुन्छ । 

यो दशैँमा कोरोनालाई पनि सम्झौं

​कोरोना महामारी सुरु भएसँगै हात धुने, अरुका थुकका छिटा रोक्न मास्क लगाउने, मानिससँग दूरी कायम गर्ने, घर तथा कार्यालयका विभिन्न संरचनाहरु बारम्बार सफा गर्ने जस्ता बानी बढेका छन् । यो वर्षको दशैँमा यस्ता कुरालाई ख्याल गरेर थप सरसफाइ गर्न अभियन्ता मिश्र अनुरोध गर्नुहुन्छ । यस वर्ष कोरोनाको डर बढिरहेकोले सकेसम्म अर्को मानिसको छेउमा नजाने, हात धुने तथा घर सफाई जस्ता कुरालाई बारम्बार प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

सरसफाइ र स्वच्छतालाई प्राथमिकता दिएको दशैँमा सरसफाइ अभाव तथा व्यक्तिको नजिक जाँदा सर्ने कोरोना भाइरसबाट बच्न सरकारले भनिरहेका स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । घरमा परिवार मात्रै बसेर भए पनि सफा, स्वच्छ भएर पर्व मनाउन सरुवा रोग विज्ञहरुले पनि आग्रह गरिरहेका छन् । 

एक दिन सरसफाइ गरेर हुँदैन, तर यो साँकेतिक कुरा हो । यसलाई जागरण अभियानका लागि हो भन्ने बुझ्नुपर्छ । हरेक हप्ता नदीको सफाईमा जुट्दै आउनुभएकी सरसफाइ अभियन्ता माला खरेल यसरी साँकृतिक रुपमा गरिने सरसफाइले मानिसलाई सरसफाइको आवश्यकता बोध हुने र मानिसले दैनिक व्यवहारमा प्रयोग गर्ने बताउनुहुन्छ । 

घरलाई चिटिक्क पार्ने चलन रहेको दशैँ यस बर्ष सरसफाइलाई नै बढी प्राथामिकता दिएर मनाऔँ । पुर्खाहरुले धर्मसँग जोडेको भए पनि यी कुराहरुमा विज्ञानको गतिलो आधार रहेकोले यो दशैँबाट हामीले व्यक्तिगत, घर तथा वातावारणको सरसफाइको लागि थप पहलको थालनी गरौँ । 
 

अन्तिम अपडेट: मंसिर २, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया