तस्करले उजाडिएको दुई परिवार

 कात्तिक ६, २०७७ बिहिबार ८:५५:५९ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कञ्चनपुरको पुनर्वास नगरपालिका-६ की ५० वर्षीया कलावती विकको आँसुका धारा रोकिएका छैनन् ।

छोरा गुमाएको पीडामा डुबेकी उहाँ दैवलाई सराप्नुहुन्छ, ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुँडालेर लगिस् । उभन्दा पहिले मलाई किन लगिनस् ?’ 

बन्नै लागेको अधुरो घरको एक कुनामा भावविह्वाेल भएकी पूजा विक (२१) को हालत पनि उस्तै छ । जवानी छँदै पति वियोगले विक्षिप्त बनेकी उहाँको मुखबाट आवाज निस्किन बन्द भइसक्यो । पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभूति गरिरहनुभएको छ ।

अछामको बान्नगढी जयगढ गाउँपालिका ५ मा पनि पुनर्वासकै दृश्य छ । ७१ वर्षीया मनसरा साउदको अवस्था पनि पुनर्वासकी कलावतीको जस्तै अवस्था छ । मुखमा अन्नको दाना नहालेको पनि चार दिन भइसक्यो । रुँदै कराउँदै आफ्नै छाती आफैँ पिट्नुहुन्छ । छिनछिनमा बेहोस हुनुहुन्छ । केहीबेर मौन हुँदै फेरि पहिलेकै अवस्थामा आउनुहुन्छ । उहाँलाई सम्हाल्न गाउँले र आफन्तहरु घर पुगेका छन् । तर उहाँलाई शान्त बनाउन सकेका छैनन् । डाँको छोडेर रुँदै भन्नुहुन्छ- ‘अब मलाई कसले हेर्ला ? म कसरी बाँच्नु ? को पापीले मेरो छोरो लैग्यो ।’

धनगढी उपमहानगरपालिका-१२ जुगेडामा रहेकाे अस्थायी प्रहरी पोष्टका कार्यरत टेकबहादुर साउदको तस्करहरुले हत्या गरेपछि उहाँकी श्रीमती घिमाका आँखाबाट आँशु आउन पनि बन्द भइसक्यो । घटनाको खबर पाएपछि आफूलाई सम्हालेर धनगढी पुगेकी उहाँ शव भेटिएपछि सम्हालिन सक्नु भएन । 

घटनास्थलमै खोजी गर्न पुगेकी उनलाई बल्लबल्ल अछाम पुर्याइयो । खिमा घरमै जिउँदो लास जस्तो बन्नुभएको छ । उहाँका छोरीहरुले आमालाई नरुन पटक-पटक भन्छन् । झन उहाँ डाँको छोडेर रुनुहुन्छ ।  उहाँको सिउँदोको सिन्दुर मात्रै पुछिएको छैन, जीवन पनि बेसहारा बनेको छ । 

जागिर खाएको २ वर्षपछि बिहे भयो । श्रीमती घरायसी काम गर्नुहुन्छ । दुई छोरी छन् । बुबाको हत्या भएपछि दुवै छोरीहरुको जीवनको छहारी गुमेको छ । मृतक परिवारको यो कारुणिक दृष्यमा हर्षका सञ्चार हुने केवल दैवलाई थाहा होला । सबैका आँखा रसाएका छन् । 

प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक गोविन्द विक र प्रहरी जवान टेकबहादुर विक ड्युटीकै क्रममा कात्तिक १ गते राति तस्करहरुबाट मारिएपछि उनीहरु दुवैको परिवार उजाडिएको छ । दुवै परिवार शोकमा डुबेका छन् । सिंगो प्रहरी संगठन यतिबेला कर्तव्यनिष्ठा राष्ट्र सेवक गुमाएको पीडाले शोकमग्न छ ।

घटनामा हत्या गरिएका दुवैका आमा, श्रीमतीहरु मुर्छित भएका छन् । दुवै जनाका दुई दुई छोरी टुहुरा भएका छन् । कात्तिक २ गते बिहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोविन्द कात्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा बिलाउनुभयो । कात्तिक ४ गते (मंगलबार) मोहना नदीमा शव गाडिएको अवस्थामा फेला परेका साउद बुधबार अछामको कैलाशखोलामा अस्ताउनुभयो । 

असई विक शनिबार साँझ मात्र धनगढी शिवनगरमा रहेकाे डेरामा श्रीमती र छोरीसँग भेट गरेर फर्कनुभएको थियो । दोस्रो दिन बिहान खाना खाने गरी आउँछु भन्दै ड्युटीमा फर्किएका गोविन्द कहिल्यै नफर्किने गरी बिदा हुनुभयो । पत्नी पूजा जीवनमा बज्रपात भयो । ६ वर्षीया छोरी आरोही र ३ वर्षीया छोरी आरुषीले पनि बाबाको न्यानो सहारा सदाको लागि गुमाए ।

विपन्न परिवारका एक्लो कमाइका स्रोत गोविन्दको निधनले उनको बन्नै लागेको नयाँ घरले तुरुन्तै छत नपाउने भएको छ । बिरामी भाइ र बेरोजगार दाइ पनि गोविन्दको दुःखद अवशानले टुहुरो भएका छन्। उहाँको संघर्ष र लगनशिलताको स्मरण गर्दै स्कुल पढ्दाताका गोविन्दका शिक्षक समेत रहेका बागेश्वरी मावि पुनर्वासका पूर्व प्रधानाध्यापक दोजराज घिमिरे गोविन्द आफ्नो कक्षाका जेहेन्दार र अनुशासित विद्यार्थी भएको बताउनुहुन्छ ।

उहाँको लगनशिलताको उपज नेपाल प्रहरीको सहायक निरीक्षक पदमा ४ वर्षअघि मात्र सेवा सुरु गर्नुभएको थियो । पढाइमा अब्बल गोविन्द स्नातक सकेर प्रहरी सेवामा प्रवेश गर्नुभएको हो । अछामको बान्नगढी जयगढ गाउँपालिका ५ का रामबहादुर घरका साइला छोरा । उहाँका कान्छा भाइ नेपाली सेनामा हुनुहुन्छ । एक भाइले सीएमए पढेर घरमै लोकसेवाको तयारी गरिरहनुभएको छ ।

घरमा बुबा र आमाले खेती किसानी गर्नुहुन्छ । जेठा दाइको १० वर्षको जागिरले उहाँको परिवारको घरखर्च चलेको थियो । अलिकति पैसा जम्मा गरेर धनगढीमा घर बनाउने उहाँको इच्छा थियो । त्यो इच्छा पनि पूरा हुन सकेन् । छोरीलाई धेरै पढाउने उसको सोच थियो । त्यो सोचलाई पनि यथार्थमा बदल्न पाएनन् ।

उहाँका दाइ गंगाबहादुर साउदका अनुसार रामबहादुर सानैदेखि शारीरिक कसरतमा अब्बल हुनुहुन्थ्यो । उहाँ फूर्तिलो र जोशिलो हुनुहुन्थ्यो । दौड, जम्पिङ, ज्याम्नेस्टिकमा उहाँ स्कुलमा पहिलो हुन्थे । सानैदेखि फोर्समा जाने उहाँको सपना थियो ।

कक्षा १२ पास गरेपछि उहाँले दिपायलमा प्रहरी हुन आवेदन दिनुभएको थियो । त्यसबेला उहाँ छनोटमा पर्नुभएन । प्रहरी बन्ने उनको सपना यति जब्बर थियो कि  त्यसपछि गरी पाँच पटक छनौट नहुँदा पनि उहाँले हिम्मत हार्नु भएन । तर उहाँको हिम्मतले कात्तिक १ गते मोहना नदीमा घुँडा टेक्यो । 

‘साथीहरूले इन्डिया जाउँ भन्दा उसले म देशको लागि काम गर्छु भनेर प्रहरी सेवा लाग्यो । देशका लागि कर्तव्य निभाउँदै ज्यानको आहुति दियो । तर हामी सबैलाई एक्लो र सहाराहीन बनाएर गए । असई साब र आफ्नो भाइले देशको सेवा गर्दै गर्दा ज्यान गुमाउनु पर्यो’ दाइ रामबहादुरले भन्नुभयो, ‘बर्दीमै प्राण त्याग्यो, यसमा मलाई गर्व लागेको छ,’। उहाँ फेरि यस्ता घटना नदोहोरिऊन् भन्ने चाहनुहुन्छ । हत्यारा पनि पत्ता लागेका छन् । कोही दोषी नउम्कियोस् भन्ने उहाँलाई लागेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले गोविन्द र टेकबहादुर असल र साहसी प्रहरी अधिकृत रहेको बताउनुहुन्छ । ‘हत्यारालाई कुनै पनि हालतमा छोड्दैनौँ । कारबाही गरेरै छोड्छौँ । मृतकका परिवारलाई के सहयोग गर्न सकिन्छ । हामी त्यो पनि सहयोग गर्छौँ’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया