तुलसीपुरमा 'स्मार्ट छोरी' कार्यविधि पारित, जन्मेदेखि २० वर्षसम्म छोरीको बैंक खातामा मासिक १ सय रुपैयाँ जम्मा

 कात्तिक १९, २०७७ बुधबार ७:४:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना एक सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ ।

नगर कार्यपालिकाको हिजाे मंगलबार सम्पन्न ९५ औँ बैठकले 'स्मार्ट छोरी विहेबारी बीस वर्षपारी' कार्यविधि पारित गरेसँगै अब यो लागू हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको छ  ।

कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिनुभयो । 

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्य रुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘घटना दर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले बिनाकारण ढिला गर्ने गरेको पाइन्छ यसले केही सुधार हुने देखिन्छ’ उपप्रमुख शर्माले बताउनुभयो ।

कार्यक्रममा समावेश हुनका लागि उपयुक्त बालिकाको अभिभावकले बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ ।

उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ ।

‘बीचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुनेछ ’ उपप्रमुख शर्माले बताउनुभयो । तत्काललाई मासिक १ सय रुपैयाँ जम्मा गर्ने भए पनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम बढाइने समेत उहाँको भनाइ छ ।

कार्यविधि अनुसार समय अगावै बालिकाको ज्यान गएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पुरापुरा दिनुपर्ने उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया