१३ किलोमिटर सडकको काम ५ वर्षमा पनि सकिएन, सांसदकै फमको ठेक्का अलपत्र

 कात्तिक २०, २०७७ बिहिबार १६:१८:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नाग्म गमगडी राजमार्गमा एक त बजेट कम, अर्काेतिर भएको बजेटको ठेक्काको काम पनि ढिलाइ हुने भएका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको छ ।

सांसदकै फमबाट काम थालिएको ठाउँमा ढिला र निर्माण कार्य अलपत्र भएको छ । नाग्म गमगडी राजमार्गको ९३ किलोमिटरमध्ये सुरुवातकै १३ किलोमिटरसम्म प्रतिनिधि सभा सांसद बहादुरसिंह लामाकै फमबाट काम थालिएको ठेक्का सम्झौता अवधिमा काम नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेक्का सम्झौता भएको मध्ये आधा काम भएको र दुःख पाइएको स्थानीयले पटक–पटक गुनासो पोखेका छन् । 

सडक डिभिजन जुम्लाका अनुसार १३ किलोमिटरमध्ये ६ किलोमिटर सडक चौडा, ग्राभेल, कल्भर्ट, कजवे, ग्याबिन, मेसिनरी टेवा पर्खालको काम सम्पन्न हुन नसकी बीचैमा अलपत्र परेको हो । 

डिभिजन कार्यालय जुम्लाका कामु डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले ठेक्काको तिहार अगावै काम सुरु नभएमा कालोसूचीको लागि पत्रिकामा नाम राख्ने चेतावनी दिइसकेको बताउनुभयो । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीको ठेक्कामा पाँच वर्षअघि काम थालिएको थियो ।  

नाग्म गमगडी (सिञ्जा रारा) राजमार्गका बासिन्दासहित जुम्लाका प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतसहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाइ हुनुको कारण र चुनौतीका विषयमा सडक डिभिजनमा जानकारी लिँदा सबैभन्दा समस्या सांसद लामाकै फमको ठेक्का लामो समय भइसक्दा काम नहुँदा कठिन भएको सडक डिभिजनले गुनासो गरेको हो ।   

‘हजुरको ठेक्का रहेछ, अब काम गरिदिनुपर्यो नत्र पत्रिकामा कालोसूचीमा राख्ने भनेर भनिसकेपछि अब काम अघि बढाउने कुराको प्रतिबद्धता भएको छ’, कार्यालय प्रमुख भण्डारीले भन्नुभयो । सांसद लामा भने आफ्नो फम लिएर नन्दलाल श्रेष्ठले काम थालेको भए पनि अहिले सम्पर्क नभएको बताउनुभयो । 

त्यस राजमार्गको ठेक्का सम्झौता २०७२ माघ ८ गतेदेखि २०७५ पुस ७ गतेसम्म थियो । दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि थपिए पनि काम हुन सकेको छैन । १३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख आठ हजार एक सय ३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैयाँ २६ पैसा भुक्तानी भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया