पर्यटक छैनन्, कसलाई सुनाउने सारङ्गीको धुन ?

 कात्तिक २४, २०७७ सोमबार ९:१५:४४ | सुमन गुरुङ
unn.prixa.net

कास्की - सात महिना अघिसम्म पोखराको लेकसाइड पर्यटकले भरिभराउ थिए । पर्यटकलाई सारङ्गी बजाएर मनोरञ्जन दिन गन्धर्वहरुलाई भ्याइनभ्याइ हुन्थ्यो ।

पोखराको सुन्दर दृश्यसँगै सारङ्गीको धुनले पर्यटकलाई मन्त्रमुग्ध बनाउँथ्यो । कोही सारङ्गीको तालमा भाका मिसाउँथे, कसैले सारङ्गी नै किनेर लैजान्थे । यसले गन्धर्व समुदायको गुजारा चल्दै आएको थियो । तर कोरोनाको कारण पर्यटकको चहलपहल घटेपछि पोखरामा सारङ्गीको धुन पनि हराएको छ । सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका गन्धर्व समुदाय निराश छन् । 

‘लेकसाइडमा मैले सारङ्गी बजाएपछि विदेशी पर्यटकले निक्कै मन लगाएर सुन्थे’ बाटुलेचौरका बुद्ध गायकले उहाँले भन्नुभयो, ‘कतिले बजाउन सिकाइदेउ भन्थे, कसैले सारङ्गी किनेरै लैजान्थे । तर अहिले पर्यटक नै छैनन्, कसलाई सुनाउनु सारङ्गीको धुन ?’ पहिले दिनभर लेकसाइडमा सारङ्गी बजाएर हिँड्ने उहाँ हिजोआज घरमै खाली हात बसिरहनुभएको छ ।

बाटुलेचौरकै सन्जिता गायक पनि कोरोनाको कारण आर्थिक अवस्थामा गिरावट आएको बताउनुहुन्छ । पहिले उहाँ कास्कीका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा गीत गाउँदै हिँड्नुहुन्थ्यो । ‘पहिले जसोतसो गुजारा चलेकै थियो, लकडाउन भएपछि कार्यक्रमहरु पनि हुन छाड्यो हामीले कसलाई गीत सुनाउने ?’ उहाँको गुनासो छ ।  कोरोना महामारीले सारङ्गी बजाउने अनि गाउने सबैलाई गाह्रो भएको उहाँले बताउनुभयो । 

विदेशी पर्यटक धेरै आउने भएकाले कतिपय गन्धर्वले पोखराका बजारमा सटर नै भाडामा लिएर सारङ्गी राखेका छन् । तर पर्यटक आउन छाडेपछि सटर खुलेको छैन । सारङ्गी व्यापार गर्न नपाएपछि जीविका चलाउनै समस्या परेको लेकसाइडमा सारङ्गी म्युजिक वर्ल्ड सञ्चालन गरिरहनुभएका सम्मर बहादुर गायकले बताउनुभयो ।

लेकसाइड जस्तो विदेशी पर्यटकको चहलपहल बढी हुने ठाउँमा झोलामा बोकेर व्यापार गर्नुभन्दा एउटा निश्चित ठाउँमा सटर लिएर व्यापार गर्दा राम्रो देखिने भएकोले आफूले सटर नै भाडामा लिएर सारङ्गीका साथै अन्य बाजाहरुको पनि व्यापार गरेको उहाँको भनाइ छ ।

झलकमान गन्धर्वको गाउँको रुपमा परिचित  बाटुलेचौरका गन्धर्व समुदाय सारङ्गी पेशालाई व्यावसायिक बनाउन लागि परेका छन् । अहिलेका युवा पुस्ताले ब्याण्डमा पनि सारङ्गीलाई स्थान दिएका छन् । तर कोरोनाको कारण उनीहरुको गतिविधिमा पनि ब्रेक लागेको छ ।

पोखराबाट लोक सांस्कृतिक बाजाहरुको जगेर्ना गर्ने उद्देश्यले लक्ष्य ब्याण्ड सञ्चालनमा रहेको छ । लक्ष्य ब्याण्डको प्रमुख बाजाको रुपमा सारङ्गी नै रहेको छ । तर कोरोना महामारी सुरु भएपछि सांगीतिक गतिविधि नै हुन नसकेको ब्याण्डका सदस्य धिरज गुरुङले बताउनुभयो ।  लक्ष्य ब्याण्डबाट लेकाली ब्याण्डमा पुगेका अविनास गायक पनि लकडाउनले गर्दा घरमै अभ्यास गरेर मात्र बसेको बताउनुहुन्छ । 

कोरोना महामारी सकिएपछि पर्यटकको आवागमन बढ्ने र आयआर्जनको बाटो खुल्नेमा गन्धर्व समुदाय विश्वस्त छ । कोराना महामारीको बीचमा सरकारी पक्षबाट पनि आफूहरुलाई साथ दिन र पर्यटन क्षेत्रलाई चलायमान बनाउनको लागि सारङ्गी बाधक सम्मरबहादुर गायकले आग्रह गर्नुभएको छ । 

केही दिनयता पोखरा र अरु पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बढे पनि यो आफूहरुको लागि पर्याप्त नहुने उहाँको भनाइ छ । ‘आन्तरिक पर्यटकहरु त केही आउनुभएको छ तर हामीलाई त्यति होला जस्तो लाग्दैन, यहाँ बाटुलेचौरबाट भाडा तिरेर लेकसाइड जानुपर्छ त्यहाँ गएर आउने जाने भाडा नि उठेन भने समस्या पर्छ भनेर हिजोआज लेकसाइड गएको छैन’ उहाँले भन्नुभयो । 

आफूहरुको पेशा नै यही भएकोले पर्यटकहरु अलि बढी भएपछि फेरि व्यवसायमा लाग्ने सोच रहेको बुद्ध गायकले बताउनुभयो । ‘हामीलाई योभन्दा अरु काम गर्न आउँदैन, लेकसाइडमा अलि बढी पाहुना आएपछि फेरि उतै गएर सारङ्गीको व्यवसाय गर्ने हो’ गायकले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया