विदेशमा कार्यरत नेपालीमा सङ्क्रमणको जोखिम कम भएको छैन

 कात्तिक २६, २०७७ बुधबार १०:३६:४१ | डा. सञ्जिव सापकोटा

गैरआवासीय नेपाली संघले संसारभरी रहेका नेपालीमा कोरोना सङ्क्रमणको अवस्थाबारे जानकारी लिइरहेको छ । अहिलेसम्म नेपाल बाहेक विदेशका विभिन्न देशमा ४४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ९२ प्रतिशत अर्थात ४० हजारभन्दा धेरै नेपालीहरु निको भइसकेका छन् । तर पनि नयाँ देश थपिइरहेका छन् । पछिल्लो समयमा अष्ट्रिया र चेक रिपब्लिकमा पनि सङ्क्रमण देखिएको छ ।

सङ्क्रमणको लहर पछिल्लो समय नयाँ देशहरुमा युरोपेली देश स्पेन, चेक रिपब्लिक, नेदरल्यणड, डेनमार्कतिर सरेको छ । मध्यपूर्वमा पनि कतार र साउदी अरबमा सङ्क्रमण बढ्ने र निको हुने दर बढिरहेको छ ।  सङ्क्रमितमध्ये ८० प्रतिशतलाई सजिलै निको हुने र २० प्रतिशतलाई अलि बढी च्याप्ने देखिएको छ, ज्यान गुमाउने पनि त्यही २० प्रतिशत भित्रकै हुन् । 

एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अहिलेसम्म २८५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समयमा साउदी अरबमा १ जना थपिएका छन् । सबैभन्दा बढी कोरोनाबाट ज्यान गुमाउनेमा साउदी अरबमा ८४ जना, बेलायतबाट ६९ जना, यूएईबमा ३९ जना र कतार र अमेरिकामा १८ नेपालीको ज्यान गएको छ । त्यसमा पनि दीर्घ रोगीहरुले नै ज्यान गुमाएको तथ्याँक छ ।

अन्य देशहरुमा सङ्क्रमण भएर पनि ज्यान नगुमाएका देश पनि छन् । जस्तै पोर्चुगल, स्पेनमा सङ्क्रमित भएर पनि निको भइसकेका छन् ।

सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाउनुहोस्

स्वास्थ्य सुरक्षाका कुरा नअपनाएर वा कम अपनाएर नै कोरोना सङ्क्रमण भएको देखिन्छ । विशेषतः सार्वजनिक क्षेत्रमा जाँदा ध्यान नदिएको खण्डमा कोरोना सङ्क्रमण हुने देखिन्छ । दुईजनाकोे बीचमा धेरै बसेको खण्डमा वा हुलमुलमा धेरै बस्दा सम्भावना बढी हुन्छ ।

यस्तै ६ फीट नजिक भएको खण्डमा कसैले हाच्छ्युँ गर्दा पनि यो सर्ने जोखिम हुन्छ । यस्तै बाहिरबाट आएर साबुनपानीले हात नधोएरै हात मुखमा लगायौं भने पनि सङ्क्रमण हुन्छ । त्यसैले यस्ता सामान्य कुराहरुमा ध्यान दिन मेरो आग्रह छ ।

खाडीका देशमा अहिले अधिकांश व्यक्तिहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाइरहनुभएको छ ।

आजभन्दा ६, ७ महिना पहिले बाहिर जाँदा सङ्क्रमण हुने सम्भावनाभन्दा अहिले १० गुणा बढी सम्भावना छ । मास्क नलगाउँदा, हात नधुँदा, दूरी कायम नगर्दा यो दर बढेको हो । 

खाडीका देशमा अहिले अधिकांश व्यक्तिहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाइरहनुभएको छ । त्यहाँको सरकारले पनि कडा नियम लागू गरेको छ । लकडाउन गरेको छ । त्यही अनुसारले त्यहाँ रहेका नेपालीले पनि सुरक्षित महसुस गर्न थालेका छन् ।

तर त्यति भन्दा भन्दै पनि गएको हप्ता २७५ जना कतारमा रहेका नेपालीलाई सङ्क्रमण देखिएको छ । हुन त पहिलेका हप्ताभन्दा यो दर कम हो । तर पनि सङ्क्रमण भइरहेको देखिन्छ । सकेसम्म सङ्क्रमण हुनबाट आफैं बच्नु पर्छ । सुरक्षा सतर्कता अपनाउन छोड्नु हुँदैन ।

डाक्टरको सम्पर्कमा वा अस्पताल जान ढिलो नगरौं 

महामारीसम्म सकेसम्म बच्ने हो र केहीगरी सङ्क्रमण भइहालेमा र आफूलाई गाह्रो भएका डाक्टरको सल्लाह लिन या अस्पताल जान ढिलो नगर्नुहोस् । कोरोना सङ्क्रमण भएपछि आफूलाई गाह्रो भएमा चाँडो गरी अस्पताल आउनुहोस् । 

स्वास्थ्य अवस्था बिग्रेर भेन्टिलेटरमा बस्ने अवस्थामा मात्र अस्पताल जानुभन्दा सुरुमै उपचार गर्नु उपयुक्त हुन्छ ।

यो महामारीको समयमा मानसिक रोग पनि योसँग एकदमै जोडिएकाले त्यसको लागि विश्व नेपाली मानसिक स्वास्थ्य समिति नै खडा गरेका छौं ।

स्वास्थ्य समितिका तर्फबाट हामीले सङ्क्रमण हुनै नदिन प्रयास गरिरहेका छौं र त्यसका लागि काम पनि गरिरहेका छौं । यस्तै हामीले सङ्क्रमण भइसकेकाहरुलाई चाँडोभन्दा चाँडो उपचार लिन सम्झाउँछौं । विभिन्न महादेशमा रहेका हाम्रा स्वास्थ्य समितिका उपसमितिहरु छन् । त्यहाँ भएका डाक्टरहरुबाट सुझाव लिन सकिन्छ । 

यो महामारीको समयमा मानसिक रोग पनि योसँग एकदमै जोडिएकाले त्यसको लागि विश्व नेपाली मानसिक स्वास्थ्य समिति नै खडा गरेका छौं । त्यस्ता व्यक्तिलाई पहिचान गरी गाइडलाइन पनि तयार गरेका छौं ।

साधारण किसिमको मानसिक बिरामी भएकालाई र अलि जटिल मानसिक समस्या भएकाहरुलाई भनेर फरक फरक तरिकाले परामर्श दिइरहेका छौं । अहिले रेडक्रस, लाइन्सक्ल, रोटरी जस्ता संस्थाहरुसँग मिलेर मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा सुरुका दिनदेखि नै सक्रिय रहेका छौं । यो महामारीको समयमा आफू पनि बच्न र अरुलाई पनि बचाउन म अनुरोध गर्छु । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

डा. सञ्जिव सापकोटा

डा. सापकोटा गैरआवसीय नेपाली संघ अन्तर्गतकाे स्वास्थ्य समितिका संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया