एक घण्टाको महत्त्व बुझेपछि...

 कात्तिक २७, २०७७ बिहिबार १०:५६:१ | इन्द्रसरा खड्का
unn.prixa.net

समयलाई हामीले कसरी व्यवस्थापन गरिरहेका छौँ । यसको महत्त्व कति हुन्छ ? कहिल्यै हिसाब गरेका छौँ ?

अझै हामी कतिपय त साथीहरुसँगको चिया गफमा मात्रै घण्टौ समय खेर फालिरहेका हुन्छौँ । हामीमध्ये कतिपयले नजानेको र नचिनेको सेकेण्ड, मिनेटको महत्तव बुझन थालेका छन् बाँकेको राप्ती सोनारीका महिलाहरु ।

घण्टे समूह बनाएर घण्टाको हिसाबले काम सुरु गर्न थालेपछि महिलाहरुले समयको महत्त्व बुझ्न थालेका हुन् । उनीहरुले हरेक दिन एकघण्टा समय छुट्याएर बचत गर्न थालेका छन् ।

गाउँमै कमाउन सकिँदो रहेछ 

राप्ती सोनारी गाउँपालिका ५ तडुवाकी मनकामना खत्री हरेक दिनको एक घण्टा अलग्गै छुट्याउनुहुन्छ । एकघण्टा छिटो उठेर होस् चाहे एक घण्टा ढिलो सुतेर वा अघिपछिको आराम गर्ने समय नै किन नहोस । त्यो एक घण्टामा उहाँ गाउँमा अरुको काम गर्न जानुहुन्छ । काम गरेर कमाएको पैसा समूहमा बचत गर्नुहुन्छ ।

गएको वर्ष तडुवामा रहेको लालीगुराँस सामुदायिक छलफल केन्द्रले घण्टे समूह बनाएर पैसा जम्मा गर्ने निर्णय गरेपछि उहाँले यसरी काम थाल्नुभएको हो । महिलाको हातमा पैसा भए श्रीमान र परिवारका अरुको भर पर्न नपर्ने, महिलामाथि हुने हिंसामा पनि कमी आउने र घरखर्च चलाउन पनि सजिलो हुने भन्दै छलफल केन्द्रका महिलाहरुले घण्टे समूह बनाए ।

घण्टे समूहमा घण्टामा काम गरेको पैसा बचत गर्नुपर्ने भएपछि मनकामनाले दिनमा एक घण्टा छुट्याउन थाल्नु भएको हो । धान काट्ने समयमा धान काट्ने, गहुँ काट्ने समयमा गहुँ काट्ने काम गाउँमा मजाले पाइन्छ । मुसुरो, तोरी निकाल्ने समयमा पनि उत्तिकै काम पाइन्छ । तर अरुबेला भने त्यत्ति काम पाइँदैन ।

मनकामनाले पनि एक घण्टा काम गरेबापत एक सय रुपैयाँ पाउनुहुन्छ । घण्टाका दरले काम गरी ल्याएको पैसा खर्च नगरि घण्टे समूहमा जम्मा गर्नुहुन्छ ।  उहाँले यसरी काम गर्दै पैसा जम्मा गर्न थालेको झण्डै दुई वर्ष हुन लाग्यो । तर, उहाँले दैनिक एक घण्टा छुट्याएर अहिलेसम्म कति घण्टा काम गरेँ भन्ने हिसाब भने राख्नु भएको छैन । 

घण्टे समूहमा अहिलेसम्म कति घण्टा काम गरेर कति पैसा जम्मा गर्नुभयो भनेर सोध्दा उहाँले भन्नुभयो, ‘सबै हिसाबकिताब सहजकर्ताले राख्नु हुन्छ । मैले छुट्टै किन राख्नु पर्यो ।  मैले त हिसाब गरेको छैन ।’ ‘काम पाए, आफ्नो फुर्सद भए, दुई तीन घण्टा पनि काम गरिन्छ । नभए एक घण्टा त अनिवार्य काम गर्छु, आजको बचत भोलिको हाम्रै त हो नि,’ मनकामनाले खुसी हुँदै भन्नुभयो ।

मनकामनाले यो वर्षको धान काट्ने समयमा मात्रै  २२ घण्टा काम गरेर २ हजार दुई सय रुपैयाँ जम्मा गर्नु भएको छ ।  उहाँ भन्नुहुन्छ, ‘जागिर खान पढेलेखेको हुनुपर्यो । हामी महिलालाई गाउँमा अरु के काम पाइन्छ र, यसैगरी काम गरेर पैसा बचत गर्न थालेका छौँ ।’ 

मनकामनाका दुई छोरी, एक छोरा छन् । जेठी छोरीको बिहे भैसकेको छ भने बाँकी दुईजना छोराछोरीको पढाइलेखाइको खर्च उहाँले नै पुर्याउनुहुन्छ । श्रीमान बितेको तीन वर्ष भयो । श्रीमानको निधन भइसकेपछि छोराछोरीको पढाइलेखाइ, घरखर्चको जिम्मा उहाँकै थाप्लोमा आयो । 

‘पहिले श्रीमान हुँदा जसोतसो छोराछोरी पढाउने खर्च जुटाउनुहुन्थ्यो । अब त सबै मैले गर्नुपर्छ । आयआर्जनको अर्को बाटो पनि छैन । यसै गरी पैसा बचत गर्छु, घरखर्च चलाउँछु’ मनकानाले भन्नुभयो ।

ऋण पाउन सहज 

मनकामना जस्तै राप्ती सोनारीकी सर्जु कुमारी थारुले पनि घण्टे समूहमा काम गरेर पैसा बचत गर्न थाल्नुभएको छ । परिवर्तनशील सामुदायिक छलफल केन्द्रले बनाएको घण्टे समूहमा उहाँले गएको वर्षदेखि बचत गर्न सुरु गर्नुभएको हो । सर्जु पनि मनकामना जस्तै धान, गहुँ काट्ने, मुसुरो निकाल्ने काम गरेर पैसा जम्मा गर्नुहुन्छ । 

‘पहिले हामीलाई गाउँमै काम गरेर पनि पैसा बचत गर्न सकिन्छ भन्ने थाहा थिएन । पैसा कमाउन भारत वा विदेशमात्र जानुपर्छ होला जस्तो लाग्थ्यो । अहिले त गाउँमै काम गरी पैसा बचत गर्छौं’ सर्जुले भन्नुभयो । सर्जुका श्रीमान मिस्त्रीको काम गर्नुहुन्छ । श्रीमानको एक्लो कमाइले दुई जना छोराछोरीलाई कापी कलम किन्न ठिक्क हुन्छ । उहाँलाई लाग्थ्यो, पैसा कमाउने काम पुरुषको मात्र हो । महिलाले घर र खेतबारीका मात्र काम गर्नुपर्छ ।

सर्जु भन्नुहुन्छ, ‘आफूलाई चाहिएको सामान किन्न पनि श्रीमानलाई माग्नु पथ्र्यो । अहिले त बचतसँगै आफूलाई सामान किन्ने पैसा पनि आफैँ कमाउँछु ।’ परिवर्तनशील सामुदायिक छलफल केन्द्रमा सर्जु जस्तै अरु २२ जना महिलाहरुले पनि आफैं काम गरेर पैसा बचत गरिरहेका छन् । सर्जुले घण्टे समूहबाट ४० हजार रुपैयाँ लिनुभएको छ ।

‘अरु ठाउँमा ऋण लिन जाँदा ब्याज उत्तिकै महँगो, साक्षी बस्ने अर्को मान्छे नभए ऋण नै पाइँदैन । आफ्नै समूह हुँदा त ब्याज पनि सस्तो, अर्को मान्छे पनि नचाहिने । घण्टे समूहले म जस्ता महिलालाई निकै फाइदा भएको छ’ सर्जुले भन्नुभयो ।

चुहिने गाग्रीको शिक्षा

स्याक नेपाल बाँके र अक्सफाम नेपालले राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकामा महिला तथा बालिकामाथि हुने हिंसा विरुद्धको अभियान अन्तर्गत सामुदायिक छलफल केन्द्र सञ्चालन गरिरहेको करिब पाँच वर्ष भयो।

सामुदायिक छलफल केन्द्रमा महिलाले कसरी आर्थिक रुपमा आत्मनिर्भर रहने, पैसा कसरी कमाउन सकिन्छ, कसरी बचत गर्न सकिन्छ भन्नेबारे चुहिने गाग्रो बनाएर सिकाउने गरेको सहजकर्ता यमकला बस्नेत बताउनुहुन्छ ।

‘हामी कसरी फजुल खर्च गरिरहेका छौँ । यसलाई कसरी कम गर्ने भन्नेबारे चुहिने गाग्रो बनाएर छलफल गर्दा घण्टे समूहको अवधारणा सुरु गरेका हौँ,’ सहजकर्ता यमकलाले बताउनुभयो ।  एउटा गाग्री बनाएर त्यसैमा प्वाल पार्ने । अनावश्यक रुपमा गर्ने खर्चलाई त्यो प्वालबाट बाहिर निकाल्ने ।

आफू र परिवारलाई आवश्यक नपरि फजुल खर्च गर्नुभन्दा त्यो पैसा बचत गर्न सके भोलिको लागि सहज हुने भन्दै सहभागी महिलालाई चुहिने गाग्री बनाएर सहजकर्ताले आर्थिक रुपमा बुझाउने गर्छन् ।  २०७६ सालको असोज महिनादेखि बचत गर्न सुरु गरेको लाली गुराँस सामुदायिक छलफल केन्द्रको घण्टे समूहमा अहिले  करिब २ लाख जति रकम जम्मा भइसकेको सहजकर्ता यमकलाले बताउनुभयो ।

लालीगुराँस सामुदायिक छलफल केन्द्र जस्तै चिलरियामा रहेको परिवर्तनशील सामुदायिक केन्द्रले पनि २०७६ असोजदेखि बचत गर्न सुरु गरेको छ । २३ जना सहभागीहरुले अहिलेसम्म काम गरेर १ लाख ७२ हजार रकम जम्मा गरिसकेका सहजकर्ता बिमला चौधरीले बताउनुभयो ।

बिमला भन्नुहुन्छ, ‘पहिले समस्या पर्दा ऋण कहाँबाट ल्याउने भन्ने महिलालाई चिन्ता हुन्थ्यो । अब त्यस्तो छैन । आफ्नै समूहबाट सजिलै ऋण लिन सक्छन् । घण्टे समूह बनाइसकेपछि महिलालाई सहज भएको छ ।’ 

‘गाउँका महिलालाई बाहिर गएर पैसा कमाउन सजिलो छैन । एकातिर घर व्यवहार सम्हाल्नुपर्छ । अर्कोतिर खेतबारीको काम पनि हेनुपर्छ । घण्टे समूह बनाइसकेपछि अलिकति भए पनि गाउँमै काम गरेर बचत गर्न थालेका छन् । यही खुसीको कुरा हो,’ बिमलाले भन्नुभयो । 

‘बचत गर्न सिक्याैँ’

सामुदायिक छलफल केन्द्रमा आर्थिक विषयमा छलफल गरिसकेपछि अन्य सामुदायिक छलफल केन्द्रका महिलाहरु पनि बचत गर्न थालेका छन् ।  पहिले हातमा पैसा हुँदा चाउचाउ, बिस्कुट किनेर खाने, अरुको राम्रो लुगा देख्ने बित्तिकै किनिहाल्ने बानी अहिले हट्दै गएको महिलाहरु बताउँछन् ।

‘पहिले साग बजार चाउचाउ किनेर खान्थ्यौँ । अहिले त्यो पैसा बचत गर्छौं, यसो गर्दा छोराछोरीलाई कापी किताब किन्न पनि सजिलो, घरखर्च टार्न पनि सकिने’ झरना थारुले भन्नुभयो । 
 

अन्तिम अपडेट: पुस २२, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया