भाइटीकाको मुखमा लालाबाला बोकेर दिदीबहिनी भारततिर

 कात्तिक २७, २०७७ बिहिबार ८:४७:३२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की रञ्जिता चौधरी बुधबार त्रिनगर नाका भएर श्रीमानसँगै भारत जाने तयारीमा हुनुहुन्थ्यो । विगतका वर्षमा दशैँमा घर आएर तिहार मनाएपछि भारत फर्कने उनीहरु यस वर्ष कोरोनाको त्रासले वैशाखमा घर फर्किएका थिए ।

वैशाखदेखि बेरोजगार भएका उनीहरु छाक टार्न मुश्किल भएपछि भारत जान लागेका हुन्  ‘चाडपर्व मनाउनका लागि पैसा पनि छैन् । टीका लगाएर जाने इच्छा थियो । तर बाध्य भएर भारत जानुपर्ने भयो’ रञ्जिताले भन्नुभयो । श्रीमानसँगै उहाँ भारतको लुधियानामा कुखुरा फर्ममा काम गर्नुहुन्छ । 

डोटीको केआसिंह गाउँपालिकाकी दीपा रावत पनि बुधबार बिहान भारततिर लाग्नुभयो । केही दिनअघि भारतबाटै फर्किएकी उहाँले साँझ–बिहान खानसमेत समस्या हुन थालेपछि फेरि भारत फर्कनुपरेको बाध्यता सुनाउनुभयो । 
डोटीकी लालुदेवी विष्टको गुनासो पनि फरक थिएन । ‘चाडपर्व परिवारका सदस्यसँगै मनाउन रहर त थियो’ उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिनासम्म बेरोजगार बसेकी छु । छाक टार्नका लागि भए पनि भारत जानै पर्ने भयो ।’

गरिबीका कारण परिवार पाल्न मुश्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रभाव नगरि दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन् । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ । चौकीदारी, घरको सरसफाइ, खाना बनाउने, गाडी धुने, स्याउ टिप्नेलगायतका कामका लागि नेपालीहरु भारत जाने गरेका छन् । 

सुदूरपश्चिमका दुई प्रमुख नाका त्रिनगर र गड्डाचौकीबाट असोजयता मात्रै साढे ५६ हजार नेपाली भारत गएका प्रहरीको तथ्यांक छ । दशैँ सकिएयता भारत जानेको संख्या बढेको सीमा प्रहरी चौकी डोकेबजारका प्रमुख प्रहरी नायब निरीक्षक भुपालसिंह थापाले बताउनुभयो । 

युवालाई स्वदेशमा रोक्न नसकिएको बताउँदै सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकारको नीति र योजना असफल भएको बताउनुभयो । कृषि, पशुपालन, अरु व्यवसायमा जोडेर युवाहरूलाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्ने उहाँको भनाइ छ । 

प्रदेश सरकारले गाउँठाउँमै रोजगारी दिने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।             

अन्तिम अपडेट: चैत १७, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया