‘सरकारले चलचित्र क्षेत्रलाई नाच्ने, गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै साेच्याे’

 कात्तिक २७, २०७७ बिहिबार १३:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल चलचित्र निर्माता सङ्घले तिहार लगत्तै चलचित्र छायाङ्कनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । 

कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै सङ्घले छायाङ्कन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको सङ्घका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।

सरकारले चलचित्र क्षेत्रलाई नाच्ने, गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महसुस आफूहरुलाई भएको उहाँले बताउनुभयो । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभुषाको सम्मिश्रण भएको उल्लेख गर्दै उहाँले यस्तो महत्त्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताउनुभयो ।

अहिले चलचित्र क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यस क्षेत्रमा आश्रित एक लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उहाँले बताउनुभयो । धेरै समयसम्म उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलाउन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

अहिले लकडाउन खुकुलो भए पनि धेरै क्षेत्रहरु बन्द रहेका छन् । विशेष गरी बढी भिडभाड हुने क्षेत्रहरू विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रलगायत बन्द छन् । अहिले काठमाण्डौ उपत्यकामा सङ्क्रमणको दर पनि बढिरहेको छ । नेपालमा अहिलेसम्म दुई लाख बढीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया