कुलमानलाई ‘हिरो’ बनाएको त्यो लक्ष्मी पूजा, जहाँबाट सुरु भयो लोडशेडिङमुक्त नेपाल

 कात्तिक २९, २०७७ शनिबार १७:४:५४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – २०७२ सालको तिहारको बेला नेपाल विद्युत् प्राधिकरणले १२ घण्टे लोडशेडिङ तालिका प्रकाशन गरेको थियो । लोडशेडिङको तालिकाअनुसार बत्ती जाने पालो परेको क्षेत्रका नागरिकले त बत्ती बाल्न पाउने कुरै भएन तालिकाअनुसार जहाँ–जहाँ बत्ती आएको थियो, त्यहाँका नागरिकलाई पनि प्राधिकरणले विशेष अनुरोध गरेको थियो, ‘उपभोक्ता वर्गले सकभर धेरै झिलिमिली नगरिदिनुहोला ।’ 

लक्ष्मी पूजाको दिन उज्यालो र झिलिमिलीका साथ लक्ष्मी भित्र्याउनुपर्ने धार्मिक मान्यतालाई लोडशेडिङले बाधा पुर्‍याएको थियो । कतै अँध्यारो नै अँध्यारो थियो, बत्ती आएको ठाउँमा पनि कञ्जुस्याइँ गरेर झिलिमिली गर्नुपर्ने बाध्यता । 

लक्ष्मी पूजाको दिन पनि लोडशेडिङको मार खेपेका नागरिकले अरु बेला लोडशेडिङ हुनुलाई अनौठो मानेनन् । 

२०७३ सालको भदौ २९ गते सरकारले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्‍याे, जतिबेला बर्खाको समयमा पनि दैनिक आठ घण्टासम्मको लोडशेडिङ थियो ।

हिउँदमा  १८ घण्टासम्मको लोडशेडिङबाट हैरान भएका नागरिकले प्राधिकरणमा आएका कार्यकारी निर्देशक घिसिङबारे चासो राख्न थालेका थिए । चिलिमे जलविद्युत् आयोजनालाई सफल तरिकाले सञ्चालन गरेका घिसिङ प्राधिकरणमा आएपछि नागरिकमा आशा पलाएको थियो । 

बर्खा सकिएपछि लोडशेडिङको तालिकामा बत्ती जाने घण्टा बढ्दै जानु स्वभाविक प्रक्रिया जस्तै थियो । कैयौँ वर्षदेखि नागरिक तिहारको झिलिमिलीमा रमाउन पाएका थिएनन् । 

२०७३ सालको तिहारमा भने नागरिकले नेपाल विद्युत् प्राधिकरणबाट ‘सरप्राइज’ पाए । नागरिकको कुनै अपेक्षा विना प्राधिकरणले ‘चाहिए जति बिजुली बाल्नू’ भनेर सूचना निकालेको थियो । 

वर्षौदेखि अँध्यारोमा पिल्सिएका नागरिक प्राधिकरणको सूचनापछि खुसीले गदगद भए । लक्ष्मी पूजाको दिन कसैले पनि लोडशेडिङको कालो रात बिताउनु परेन । तिहारको झिलिमिलीले काठमाण्डौ उजिलियो । चौतर्फी कुलमान घिसिङको प्रशंसा सुरु भयो । लक्ष्मी पूजाको दिनको ठूलो परीक्षामा पास हुनुभएका घिसिङले काम र सफलताको गति झनै बढाउनुभयो, बिस्तारै–बिस्तारै गर्दै अहिले देश नै लोडसेशेङमुक्त भइसकेको छ । 

सजिलो थिएन लक्ष्मी पूजाको दिन

लक्ष्मी पूजाको दिन कतै पनि बत्ती नकाट्ने घोषणा गर्नुभएका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई आपूर्ति र मागको सन्तुलन मिलाउन सजिलो भने थिएन । तर अफ्ठ्यारो कामलाई नै सजिलो बनाउने व्यक्तिका रुपमा चिनिनुभएका घिसिङले दशैँ लगत्तै तिहारको तयारी थाल्नुभएको थियो । 

कालीगण्डकी, मर्स्याङ्दी, कुलेखानीलगायतका आयोजना पूर्ण क्षमतामा चलाउने, हेटौँडाको १० मेगावाटको डिजल प्लान्ट सञ्चालन गर्ने र चोरी रोक्ने लगायतका उपाय अपनाउने योजना बन्यो । ठाउँठाउँमा मर्मत,सम्भार भए । भारतबाट आयात हुने बिजुलीलाई पनि व्यवस्थित गरियो । 

लक्ष्मी पूजाको दिन घिसिङ सबेरैदेखि साँझको तयारीमा जुट्नुभयो, कतै फोनबाट निर्देशन दिने र उपत्यका वरपर आफै नै पुगेर बत्ती जाने अवस्था नआउने माहोल बनाउनुभयो ।  

बेलुकीपख घिसिङ प्राधिकरणको भार प्रेषण केन्द्र स्यूचाटार पुग्नुभयो, जहाँबाट देशैभरिको बिजुली आपूर्ति र मागको रियल टाइम अपडेट प्राप्त हुन्छ । 

साँझको झिलिमिली बढ्दै जाँदा माग बढ्दै गयो । काठमाण्डौको अधिकतम माग ३५० मेगावाटमा पुगेर रोकियो, देशभरिको माग १२ सय ५० मेगावाटसम्म पुग्यो । घिसिङको योजनाअनुसार काठमाण्डौ उपत्यकामा बत्ती काट्नु परेन । काठमाण्डौका नो लाइट सेन्टरमा पुगेर घिसिङले कर्मचारीलाई धन्यवाद दिनुभयो । रातको १२ बजे घर पुगेर घिसिङले आनन्दको श्वास लिनुभयो । देशैभरि चुस्त व्यवस्थापन भयो, नागरिकले उज्यालोसँग लक्ष्मी पूजा मनाए । 

‘त्यो बेला अहिले हामीले सोचेजस्तो सजिलो थिएन, मागको तुलनामा चार सय ५० मेगावाट बिजुली कम थियो, थोपा–थोपा बचाएर, सेकेन्ड सेकेन्डमा ध्यान दिएर मात्रै हामी सफल भएको हो, २०७३ सालको त्यो लक्ष्मी पूजाको दिन नै लोडशेडिङ मुक्त नेपालको सुरुवात थियो’,  घिसिङले भन्नुभयो ।

लोडशेङको बेलामा जब बत्ती आउँछ तब निकै धेरै माग हुन्छ किनकि नागरिकले इन्भर्टर, ब्याट्रीलगायतका उपकरण चार्जमा राख्छन् । तर प्राधिकरणले भदौदेखि नै लोडशेडिङ कम गर्दै लगेकाले नागरिकले इन्भर्टर र ब्याट्री थन्काउन थालेका थिए । त्यसैले बिजुलीको माग एक्कासी धेरै बढेको थिएन । 

‘हामीले भदौ, असोजदेखि नै रेगुलर बत्ती दिन थालेका थियौँ, त्यसैले इन्भर्टर, ब्यार्टी चार्जमा अचानक माग हुने डेढ सय मेगावाट जति बिजुली घटेको थियो, त्यसले पनि हामीलाई राहत दियो’, घिसिङले पुराना दिन सम्झनुभयो । 

‘अबको व्यवस्थापन सजिलो’

२०७३ सालको भदौ यता चार सय ६७ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थप भएको, चोरी नियन्त्रणमा उल्लेख्य सफलता मिलेको, एलईडी बल्बको प्रयोग बढेको लगायतका कारण अब व्यवस्थापन सजिलो रहेको  कुलमान घिसिङको भनाइ छ । 

‘म प्राधिकरणमा आउँदा माग र आपूर्तिको चेन नै टुटेको थियो, त्यसलाई ट्रयाकमा ल्याउन निकै गाह्रो भयो, चार वर्षको अथक मेहनतपछि हामीले लगभग सबै कुरालाई ट्रयाकमा ल्याएका छौँ’, घिसिङले भन्नुभयो । 

धेरै रुग्ण आयोजना सम्पन्न भएको, निर्माणाधीन आयोजनाको तालिकाअनुसार काम भइरहेको, प्राविधिक कारणले हुने विद्युत कटौती अन्त्यको लागि हजारौँ उपकरण परिवर्तन गरिएको, पुराना उपकरण विस्थापन गर्दै लगेको कारण अब बिजुलीको माग र आपूर्तिको सन्तुलन मिलाउन सहज भएको उहाँको भनाइ छ । 

‘लोडशेडिङ अन्त्य भयो, वार्षिक नाै अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई झण्डै नाै अर्ब रुपैयाँ नाफामा लग्यौँ, प्राधिकरण सञ्चित नाफामा जाने अवस्था आएको छ, उपयुक्त ठाउँमा उपयुक्त व्यक्ति नियुक्त भएका छन्, यस्ता थुप्रै सुधारको कारण प्राधिकरण अहिलेको अवस्थामा आएको हो’, घिसिङले भन्नुभयो । 

अन्तिम अपडेट: मंसिर ६, २०७७

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Ramram

    Nov. 15, 2020, 2:05 p.m.

    ओली जस्ता भ्रस्ट र नालायक भएकोले यो देश नबनेको हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया