विदेशमा अप्ठेरो परेको छ ? या विदेश जान सही सूचना चाहिएको छ ? आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्नुहोस्

 मंसिर ४, २०७७ बिहिबार १०:२७:४० | रोनी प्रधान
unn.prixa.net

आप्रवासी स्रोत केन्द्र भनेको एउटा संयन्त्र हो । यसले वैदेशिक रोजगारीमा जान चाहनेलाई जानुअघि चाहिने सूचना दिने कामसँगै सीप तालिमको बारेमा पनि जानकारी दिन्छ । वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जानुपर्छ । यो परियोजना अन्तर्गत निःशुल्क सीप तालिम पनि पाइन्छ । त्यो सीप तालिममा जोड्न समन्वयको काम पनि आप्रवासी स्रोत केन्द्रबाट हुन्छ । 

अहिले त वैदेशिक रोजगारीको नाममा पाईलैपिच्छे ठगी हुन सक्छ । असाध्यै धेरै ठगी भैरहेको पनि छ । वैदेशिक रोजगारीको समग्र प्रक्रियामा विभिन्न समस्याहरु पनि झेल्न परिरहेको छ । कतिपय परदेश पुगेपछि ठगीमा परेर फर्किनुभएको छ भने कतिपय घाइते भएर, जीवनभरी औषधी खानुपर्ने गरी अंगभंग भएर फर्कनुभएको पनि छ । उहाँलाईसहित समग्र वैदेशिक रोजगारीको प्रक्रियामा सहयोग पु¥याउने, समन्वय र सहजिकरण गरिदिने, सही सूचना र जानकारी दिने काम आप्रवासी स्रोत केन्द्रबाट हुन्छ । 

आप्रवासी स्रोत केन्द्रहरु जिल्ला प्रशासन कार्यालयको हाताभित्र नै छन् । कतिपय ठाउँमा प्रशासन नजिकै पनि छन् । सामी परियोजना अन्तर्गत अहिले काम हुने ३९ जिल्ला र काठमाण्डौ हुन् । अहिले सामी परियोजना अन्तर्गत काम हुने सबै जिल्लाहरुमा आप्रवासी स्रोत केन्द्र (अथवा यसलाई पहिले पहिले सूचना केन्द्र पनि भनिन्थ्यो) छन् ।

अहिलेसम्म ३४ जिल्लामा स्रोत केन्द्रहरु स्थापना भइसकेको छ भने बाँकी जिल्लाहरुमा स्थापनाको क्रममै छन् । 

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुईपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत अहिले १५६ वटा पालिकाहरु तथा ३९ जिल्लामा केन्द्रहरु सञ्चालनमा छन् ।

पालिकाहरुले धेरै जिल्लाहरुमा सेवा प्रदायक संस्थाहरु छनोट गरेर यो कार्यक्रम सञ्चालन गरिरहनुभएको छ भने केही जिल्लामा स्थानीय सरकार आफैंले श्रमिक राखेर यो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

पालिकाहरुले धेरै जिल्लाहरुमा सेवा प्रदायक संस्थाहरु छनोट गरेर यो कार्यक्रम सञ्चालन गरिरहनुभएको छ भने केही जिल्लामा स्थानीय सरकार आफैंले श्रमिक राखेर यो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रदेश १ मा इलाम, झापा, सुनसरी, खोटाङ्, उदयपुर, भोजपुर, पाँचथर र मोरङमा छ । 

प्रदेश २ अन्र्तगत सप्तरी, सिरहा, सर्लाही, धनुषा र महोत्तरीमा तथा वाग्मती प्रदेशमा रामेछाप, सिन्धुली, धादिङ, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेमा छ भने गण्डकी प्रदेशमा बाग्लुङ, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, गोरखा र कास्कीमा सञ्चालित छन् । 

यस्तै लुम्बिनी प्रदेशमा दाङ, रोल्पा, कपिलबस्तु, बाँके, नवलपरासी पश्चिममा सञ्चालित छन् भने कर्णाली प्रदेशमा सल्यानमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लामा आप्रवासी स्रोत केन्द्रहरु स्थापना भएका छन् । 

चार, पाँच वटा आप्रवासी स्रोत केन्द्र चाहिँ अहिले स्थापना हुने प्रक्रियामा छन् । यी आप्रवासी स्रोत केन्द्रको सम्पर्क नम्बर चाहिँ ‘सेफर माइग्रेसन प्रोजेक्ट फेज थ्रि’ भन्ने फेसबुक पेज छ, त्यहाँबाट लिन सक्नुहुन्छ ।  

कसले सेवा लिन सक्नुहुन्छ ?

आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालयको हाताभित्र छन् । यो स्थान हामीले सोचेर नै तय गरेका हौं । यसकारण की वैदेशिक रोजगारीमा जाने दाजुभाइ दिदीबहिनीहरु जिल्ला प्रशासन आइपुग्नुहुन्छ र उहाँहरु नै आप्रवासी स्रोत केन्द्रको पहिलो लक्षित समूह हो । त्यसबाहेक उहाँका परिवारहरु, विदेशबाट फर्किएर आएका व्यक्तिहरु लक्षित समुदायहरु हुन् । सेवाहरुको कुरा गर्दा पहिलो कुरा त सूचना हो ।

वैदेशिक रोजागारीमा जानुपूर्व धेरै कुरा बुझेर जानुपर्ने हुन्छ । नेपाल सरकारको नियम अनुसार धेरै कुरा पूरा पनि गर्नुपर्छ । म्यानपावर अर्थात इजाजतपत्रवला निकाय, स्वास्थ्य परीक्षण गर्ने ठाउँ, रोजगार करार, श्रम स्वीकृति, आफू जाने देश, आफूले गर्ने काम, लाग्ने लगानी लगायत समस्या पर्दा सम्पर्क गर्ने ठाउँको बारेमा जानकारीसमेत केन्द्रबाट पाइन्छ । 

अर्को कुरा भनेको विदेश जान चाहने र फर्किएकाले सीप तालिम लिन चाहेमा सामी परियोजना अन्तर्गत सञ्चालिन निःशुल्क सीप तालिमका बारेमा जानकारी दिने र तालिममा जोड्ने काम पनि स्रोत केन्द्रबाट हुन्छ ।

वैदेशिक रोजगारीमा विभिन्न प्रकारका समस्या हुन सक्छन्  । कतिपय त परदेश नजाँदै पनि समस्यामा फस्न सक्छन् । कतिपय ठगीमा पर्नुहुन्छ, कतिलाई परदेश पुगेपछि समस्यामा पर्दा उद्धार गर्नुपर्ने हुन्छ । त्यसकारण स्रोत केन्द्रहरुले वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका, विभिन्न समस्या र अप्ठेरोमा रहेकाहरुलाई न्यायमा पहुँचका लागि सहयोग, सहजिकरण र समन्वयको काम गरिन्छ । 

जस्तै कतिपय त पासपोर्ट लिएर म्यानपावरले झुलाइरहेको हुनसक्छ भने कतिपय त विदेश पुगेपछि मात्रै ठगीमा परे भनेर थाहा पाउनुहुन्छ । यस्तो अवस्थामा उहाँहरु आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा आउनुभयो भने केन्द्रले विभिन्न सम्बन्धित निकायहरुसँग समस्या अनुसार कोही दूतावाससँग सम्बन्धित होला, कोही बोर्डसँग सम्बन्धित होला यी ठाउँमा समन्वय गरिदिने र समस्या समाधानका लागि पहल पनि केन्द्रमार्फत गरिन्छ । यी ठाउँमा न्याय माग्न जाँदा आवश्यक पर्ने कागजात, गर्नुपर्ने प्रक्रिया लगायतका बारेमा श्रमिक र उनीहरुको परिवारलाई बुझाइदिने र समन्वय गरिदिने काम पनि हुन्छ ।

जस्तो न्यायमा पहुँचका लागि सामी परियोजना अन्तर्गत राष्ट्रिय साझेदार संस्थाहरु पनि हुनुुहन्छ । जस्तै पिपुल्स फोरम, पीएनसीसी हुन् । उहाँहरुले समस्या अनुसार सम्बन्धित सरकारी निकायहरुसँग समन्वय गरेर समाधानका लागि पहल गर्नुहुन्छ ।

परिवार यहाँ हुनुहुन्छ भने उहाँहरुले पनि केन्द्रमा आएर अथवा फोन गरेर पनि आफ्नो समस्या राख्न सक्नुहुन्छ । केन्द्रमार्फत मुद्दाको प्रकृति हेरेर सहजिकरणको काम हुन्छ ।

अहिले त वैदेशिक रोजगार ऐनको पाँचौं संशोधनले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने आर्थिक सहायतका लागि पालिकाबाट नै निवेदन दिन पाउने व्यवस्था गरेको छ ।

पहिले त बोर्डमै आउनु पथ्र्यो । पछिल्लो समय सरकारले गरेका यस्ता निर्णयहरुको बारेमा नयाँ जानकारीहरु पनि स्रोत केन्द्रबाट पाइन्छ भने आर्थिक सहायता लिनका लागि कसरी प्रक्रिया गर्ने, आवश्यक कागजात के के चाहिन्छ र कहाँ कसरी सम्पर्क गर्ने भनेर पनि आप्रवासी स्रोत केन्द्रले समन्वय गर्छ । 

त्यस्तै विदेशमा ज्यान गुमाएका मृतकका छोराछोरीले वैदेशिक रोजगार बोर्डबाट पाउने शैक्षिक छात्रवृत्तिका लागि पनि केन्द्रमा सम्पर्क गर्नुभयो भने कसरी पाउन सकिन्छ, त्यसका लागि के गर्नुपर्छ भन्ने जानकारी पाउनुहुन्छ भने त्यसका लागि तपाईँलाई आवश्यक पर्ने सहयोग पनि केन्द्रले गर्छ ।

परदेशबाट अंगभंग भएर फर्किएका श्रमिकले बोर्ड र बीमामार्फत पाउने आर्थिक सहायताका लागि पनि केन्द्रले सहजिकरण गर्छ ।

कतिपय समस्याहरु परदेशमा हुन्छन् । यदि उहाँहरुको परिवार यहाँ हुनुहुन्छ भने उहाँहरुले पनि केन्द्रमा आएर अथवा फोन गरेर पनि आफ्नो समस्या राख्न सक्नुहुन्छ । केन्द्रमार्फत मुद्दाको प्रकृति हेरेर सहजिकरणको काम हुन्छ ।

यो कोरोना महामारीको कारण कतिपय ठाउँमा केन्द्रहरु लकडाउन वा अन्य पालिकाको नियम अनुसार नखुलेको भएमा पनि फोनमा फोन गरेर सेवा लिन सकिन्छ । केन्द्रमार्फत तपाईँहरुलाई सहयोग मिल्नेछ । यो सबै सहयोग निःशुल्क हो । तपाईँहरुलाई सहयोग गरेबापत आप्रवासी स्रोत केन्द्रले शुल्क लिने छैन ।

तपाईँले आफूलाई मन लागेको जानकारी लिन र आफूलाई थाहा नभएका कुरा जान्नका लागि पनि केन्द्रमा सम्पर्क गर्नुहोस् ।

यो परियोजना अन्तर्गत हामीले मनोसामाजिक कार्यक्रम पनि सञ्चालन गरेका छन् । कहिलेकाहीँ हराएका परदेशीका परिवामा तनाब धेरै रहेको भेटिन्छ । यस्तो अवस्थामा हामीले यही परियोजना अन्तर्गत मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ उहाँहरुले परामर्श पनि दिनुहुन्छ ।

साथै यो परियोजना अन्तर्गत स्थानीय सरकारहरुले समुदायमा वित्तीय साक्षरताको कक्षाहरु पनि सञ्चालन गरिरहेका छन् । यसबारेमा पनि केन्द्रमा सम्पर्क गरेर जानकारी लिन र कक्षामा सहभागी हुन सकिन्छ ।

पछिल्लो समय नेपाल सरकारले श्रमिकको सुरक्षाका लागि धेरै राम्रो राम्रो निर्णयहरु गरेको छ । नयाँ नियमहरु आएका छन् । तपाईँहरु जुन उदेश्य लिएर विदेश जान चाहनुहुन्छ त्यो पूरा गर्नका लागि धेरै कुरा बुझेर जानुपर्छ । त्यसकारण त्यस्तो जानकारी तपाईँलाई दिनको लागि नै आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएका हुन् ।

तपाईँले आफूलाई मन लागेको जानकारी लिन र आफूलाई थाहा नभएका कुरा जान्नका लागि पनि केन्द्रमा सम्पर्क गर्नुहोस् ।

पासपोर्ट बनाउने क्रममा हुनुहुन्छ भने पनि र विदेशमै हुनुहुन्छ या तपाईँ परदेशीको परिवार हुनुहुन्छ भने पनि फोनमार्फत भए पनि आफूलाई चाहिएको सूचना र जानकारी आप्रवासी स्रोत केन्द्रमार्फत लिनुहोस् भन्न चाहन्छु भने वैदेशिक रोजगारीको क्रममा कुनै समस्या परेको छ भने पनि सम्पर्क गरेर सहयोग लिनुहोस् भनेर म अनुरोध गर्छु ।

(रोनी प्रधानसँग सन्जिता देवकोटाले कार्यक्रम देश परदेशका लागि गर्नुभएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत १३, २०८०

रोनी प्रधान

रोनी प्रधान सुरक्षित आप्रवासन परियोजना सामीमा आप्रवासी स्रोत केन्द्र तथा मनोसामाजिक परामर्श कार्यक्रम संयोजक हुनुहुन्छ ।

1 Comments

  • Hasim shekha

    Dec. 7, 2020, 4:41 p.m.

    I am from jhapa district i want to be a plumber but i don't have any work skill. I am a cleaner. Now i live in dubai. But cleaner selary is vero low 12 hour work 1050 dirhsm only,. Even food also not providing so i am not satisfy with my job. Is there nearest in jhapa nepal have any plumber traning center? If have please help me.

  •  0 Reply

तपाईको प्रतिक्रिया