कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ दिनदेखि ताला

३० विद्यार्थीका लागि ३ जना डिन नियुक्त गरिएकाे भन्दै कर्मचारी आन्दाेलित

 मंसिर ६, २०७७ शनिबार १६:१:४५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासनमा ३८ दिनदेखि तालाबन्दी गरिएको छ । 

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्य कोष खर्च गर्ने गरी तेस्रो डिन नियुक्त गरेको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् । कुनै पनि निकायबाट सुनुवाइ नहुँदा ३८ दिनदेखि ताला लागेको हो ।

उपकुलपति वाग्लेले नर्सिङ डिन सरस्वती गौतम, मेडिसिन डिन रेशम राना हुँदा हुँदै तेस्रो जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि संस्थालाई आर्थिक भार बढी पर्ने भएका कारण रोक्न माग गर्दै कर्मचारी कल्याण समितको नेतृत्वमा कर्मचारी आन्दोलित भएका हुन् । ३० विद्यार्थीका लागि तीन जना डिन नियुक्त गर्नु आडम्बरी भएको अन्य पदाधिकारी पनि बताउँछन् ।

नेपालकै ठूला प्रतिष्ठानहरू वीर, पाटन, धरानमा समेत एक–एक डिन नियुक्त भइरहेको समयमा कर्णाली प्रतिष्ठानमा तीन डिन नियुक्त गर्नु आफ्ना मान्छेको भर्तीकेन्द्र बनाएको भन्दै कर्मचारीले विरोध गरिरहेका छन् ।

यस विषयमा उपकुलपति वाग्लेले कुनै सुनुवाइ नगरि उल्टै ती व्यक्तिलाई आन्दोलन चलिरहेकै समयमा जुम्ला ल्याएपछि नैतिकताको पराकाष्ठा गुमाएका कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताउनुभयो । उहाँले कार्यकारी समितिले पनि आन्तरिक समस्या सामाधान गर्छु भनेको ४० दिन पुग्न थालेको भन्दै उपकुलपतिको आडम्बरले सुनुवाइ नभएको बताउनुभयो । 

उपकुलपति जवाफविहीन  

उपकुलपतिले तीन डिन नियुक्त गरेपछि अहिले जुम्लामा ठूलै चर्चा चलेको छ । यस विषयमा बुझ्न खोज्दा उपकुलपतिले फोन नै उठाउनु भएन । फोन लगाउँदा निरन्तर उताबाट काटिरहेको पत्रकार मानदत्त रावल बताउनुहुन्छ ।

पत्रकारहरुको फोन नउठाइएको र ३८ दिनसम्म पनि ताला खुलाउन उपकुलपति वाग्लेले कुनै ध्यान नदिएको भन्दै नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाले एक विज्ञप्ति नै निकालेर घोर भत्र्सना गरेको छ । अध्यक्ष बरमबहादुर महतद्वारा जारी विज्ञप्तिमा उपकुलपतिले पत्रकारहरुको फोन नउठाएर सूचना दिने हकमा जवाफविहीन बनेको उल्लेख छ ।    

सरकारले सम्पर्क कार्यालय हटाउनु भनेर निर्देशन दिएको एक वर्ष भइसक्दा सरकारलाई समेत छायामा राखेर सम्पर्क कार्यालय काठमाण्डौबाटै धमाधम नियुक्ति भइरहेको छ । 

झण्डै ३५० कर्मचारीले तलब पाएनन्  

प्रतिष्ठानका झण्डै तीन सय ५० कर्मचारीले प्रशासन र लेखा बन्द भएकाले तिहारमा पनि तलब पाएका छैनन् । एक जनाको नियुक्तिको लडाइँ र माथिल्लो क्षेत्रको झगडाले काम गरेर खानेलाई समस्या भएको भन्दै चाँडै समस्याको समाधान गरिदिन कर्मचारीहरूले आग्रह गरेका छन् । ताला लागेपछि प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु समेत प्रभावित हुन थालेका छन् । 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले यति ठूलो आन्दोलन हुँदा पनि उपकुलपति वाग्ले प्रशासनको सम्पर्कमा नरहेका र कसैले लिखित जानकारीसमेत नदिएको बताउनुभयो । 

संस्थालाई जनशक्ति आवश्यक रहेको सन्दर्भमा कार्यकारी परिषद्को बैठकले माग गर्ने र त्यही अनुसार नियुक्त गर्ने अधिकार भए पनि उपकुलपतिले मनोमानी ढङ्गले तेस्रो जनस्वास्थ्य डिन क्षेत्रीलाई काठमाण्डौ सम्पर्क कार्यालयबाटै नियुक्त गरेको भन्दै प्रतिष्ठानको कर्मचारी आन्दोलित छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया