माथिल्लाे सगरमाथाका ३ जिल्लामा धान उत्पादन बढ्याे

 मंसिर ६, २०७७ शनिबार १७:२५:६ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – माथिल्लो सगरमाथाका तीन वटा जिल्लामा यस वर्ष धान उत्पादन बढेकाे छ । सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा यस वर्ष धान उत्पादन बढेकाे सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सोलुखुम्बुमा यस वर्ष ३ दशमलव २५ प्रतिशतले धान उत्पादन बढेकाे निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर तिरुवाले बताउनुभयो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभरि एक हजार पाँच सय २५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा यसपटक शतप्रतिशत रोपाइँ हुँदा ३६ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । गएकाे वर्ष एक हजार पाँच सय २५ हेक्टरमा तीन हजार पाँच सय ६ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । 

खोटाङमा पनि यस वर्ष धानकाे उत्पादन बढेकाे छ । प्रमुख बालीको रूपमा लगाइने धान यस वर्ष ३८ दशमलव ४६ प्रतिशतले बढेकाे हो । कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाभरि १२ हजार आठ सय ९८ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा यस पटक शतप्रतिशत रोपाइँ हुँदा २९ हजार तीन सय ४२ मेट्रिक टन धान उत्पादन भएको छ । 

यस वर्ष समयमै वर्षा भइ बेलैमा रोपाइँ भएको, रोपाइ गरिने क्षेत्रफल बढेकाे र रोग, किरा प्रकोपको व्यवस्थापन गरिएकाले धान उत्पादन बढेकाे कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी देवराज गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार गएकाे वर्ष १० हजार तीन सय १८ हेक्टरमा रोपाइँ भएकोमा १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको थियाे । 

यस्तै ओखलढुङ्गामा १० दशमलव ५ प्रतिशतले धान उत्पादन बढेकाे छ । धान उत्पादन हुने चार हजार चार सय तीन हेक्टर क्षेत्रफलमध्ये शतप्रतिशत नै रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष १३ हजार दुई सय तीन मेट्रिक टन धान उत्पादन भएको कार्यालयका निमित्त प्रमुख हेमबहादुर आले मगरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया