३५ वर्षमा पनि बनेन १२ किलोमिटर नहर

 मंसिर ९, २०७७ मंगलबार १८:४:१३ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पा र प्युठानमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण सुरु भएको ३५ वर्ष पुग्दासमेत लुङ्ग्री–माडी सिँचाइ नहर अझै बन्न सकेको छैन ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ र प्युठानको स्वर्गद्वारी नगरपालिका ५, ७ र ८ मा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले २०४२ सालदेखि सुरु गरिएको सिँचाइ आयोजना अहिलेसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । सिँचाइ आयोजनाका लागि अहिलेसम्म झन्डै १४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

रोल्पाको लुङ्ग्री खोलाबाट प्युठानको सारी गाउँसम्मको सिँचाइ नहरको कुल लम्बाइ १२ किलोमिटर रहेको छ, यसमध्ये अहिलेसम्म सात किलोमिटर मात्रै निर्माण भएको छ । नहर सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । 

आयोजना पूरा नहुँदा स्वर्गद्वारी नगरपालिका ५ सारीगाउँका झन्डै दुई हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने योजना अधुरै भएको छ ।  

उर्बर भूमि रहेको सारीगाउँ अहिले उजाड मरुभूमि जस्तो भएको स्थानीय लोकबहादुर सुनारले गुनासो गर्नुभयो । कृषिमा आत्मनिर्भर भइ समृद्ध नगर बनाउनको लागि यो आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पनि आयोजना सम्पन्न गर्नैपर्ने स्वर्गद्वारी नगरपालिकाकी उपमेयर गोमादेवी रेग्मीको भनाइ छ । ‘पालिकाले निर्माण गर्न सक्ने क्षमता नभएकाले प्रदेश र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ’, रेग्मीले भन्नुभयो ‘त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।’

सिँचाइ नहर निर्माण गर्दा दुई जिल्लाको समन्वय हुन नसक्दा लामो समयदेखि अलपत्र हुँदै आएको भए पनि पछिल्लो समय भने बजेट अभावकै कारण काम अघि बढ्न नसकेको लुङ्ग्री–माडी सिँचाइ आयोजना कार्यालयले जनाएको छ । सरकारले प्रशस्त बजेट विनियोजन गरी सिँचाइ आयोजनाको काम अघि बढाउनुपर्ने स्थानीयको माग छ ।   

अन्तिम अपडेट: चैत १३, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Debendra Tamang

    Nov. 24, 2020, 7:54 p.m.

    माअोबादीको उद्गम् थलो मै यस्तो हुदो रैछ र ! समचार पढ्दा अचम्म लाग्यो । किसान र मजदुरको हकमा लड्छौ भन्दै थियो त अाजसम्म पनि बनैकै रहेनछ त !

  •  0 Reply

तपाईको प्रतिक्रिया