भक्तपुरमा ७० जिल्ला तथा नगर अध्यक्षको भेला, ढकाललाई सहयोग गर्ने प्रतिबद्धता

 मंसिर १०, २०७७ बुधबार १७:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर –  नेपाल उद्योग वाणिज्य महासङ्घका ७० वटा जिल्ला तथा नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भक्तपुरमा भएको भेलामा उनीहरुले ढकालको पक्षमा उभिने प्रतिबद्धता जनाएका हुन् ।

चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्वमा पुगेपछि जिल्ला नगर अध्यक्षहरूको गुनासो सम्बोधन गर्दै उचित नेतृत्व पाएको आभास हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको जिल्ला नगरका अध्यक्षहरूको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ढकालले व्यवसायीका समस्या बुझ्नका लागि वास्तविक व्यवसायी चाहिने भन्दै त्यस्ता व्यक्तिले मात्रै महासङ्घको नेतृत्वमा बसेर काम गर्न सक्ने बताउनुभयो । 

‘म बाग्लुङमा जन्मिएर सानो व्यवसायीदेखि ठूला व्यवसायसम्म सञ्चालन गर्दै ७७ वटै जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेको छु’, उहाँले भन्नुभयो, ‘म चुनाव जित्नका लागि मात्रै नजिकिएँ भने मेरो व्यापार–व्यवसाय कसरी चल्छ ? तसर्थ म महासङ्घको पदमा भए पनि, नभए पनि जिल्ला नगरकै साथीहरुसँग रहनेछु ।’ 

अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफू र आफ्नो टिमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै उहाँले आफू नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताउनुभयो । 

‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासङ्घको साख खस्कियो, समस्या परेर फोन गर्दा नेतृत्वले फोन उठाएन भन्ने गुनासो गर्नुभएको छ, ती कुरा आफू नेतृत्वमा पुगेपछि महासङ्घको पुरानो साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ’, उहाँले बताउनुभयो । 

भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा ढकाल समूहलाई विजय गराउन ७० भन्दा जिल्ला तथा नगरका अध्यक्षहरू भेला भएका थिए । 

भेलामा उपस्थित अध्यक्षहरुले लामो समयपछि महासङ्घमा आफूहरुले जिल्ला नगरका समस्या बुझेका चन्द्र ढकाल जस्तो व्यक्ति नेतृत्वमा पाएको र त्यो टिमलाई जिताउन आफूहरु चुनावसम्म खटिनेसमेत बताउनुभएको थियो । 

कार्यक्रममा महासङ्घका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले अबको चुनावमा चन्द्रप्रसाद ढकाल प्यानलको विकल्प नभएको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ तथा निवर्तमान अध्यक्ष कृष्णप्रसाद अवालले चन्द्र ढकाल टिमलाई भक्तपुरमा स्वागत गर्दै विजयको शुभकामनासमेत दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया