नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार छ : मन्त्री पुन

 मंसिर १५, २०७७ सोमबार १७:८:२२ | माधवकुमार ओली
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो र तेस्रो तहका नेताहरूले दुई अध्यक्षले नेतृत्व हस्तान्तरण गरे आफूहरू नेतृत्व गर्न तयार रहेको बताउन थालेका छन् ।

गएको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू तल्लो तहका नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको र अर्का अध्यक्ष प्रचण्डले पनि त्यो त्याग गर्न तयार रहनुपर्ने भन्दै लिखित प्रस्ताव पेस गर्नुभएको छ । त्यसलगत्तै दोस्रो र तेस्राे तहका नेताहरू नेतृत्व लिन आफूहरू तयार रहेको बताउन थालेका हुन् ।

रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताउनुभएको छ । दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व युवा वा दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरू नेतृत्व लिन तयार र सक्षम रहेको उहाँको भनाइ छ ।

नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति देखिए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ । बहस हुँदैमा पार्टी फुट्ने या सरकार विगघन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्‍याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया