विद्युत प्राधिकरणका सेवा स्मार्ट बन्दै, समस्याको तत्कालै समाधान हुने

 मंसिर १६, २०७७ मंगलबार ९:३६:५९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले अहिले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुसार काठमाण्डौमा स्मार्ट मिटर जडानको काम गरिरहेको छ ।

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका ९८ हजार घरमा स्मार्ट मिटर जडान गर्न एसियाली विकास बैंकको ८ करोड १२ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा काम भइरहेको छ । यो काम तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा सुरु भएको थियो । 

पहिलो चरणको कामको लागि एसियाली विकास बैंकले ८ करोड १२ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने आयातित उपकरणमा लाग्ने १ प्रतिशत भन्सार तथा जडान र निर्माणतर्फ १३ प्रतिशत भ्याट रकम नेपाल सरकार र विद्यतु प्राधिकरणले बेहोरेका छन् । 

वि.सं. २०७७ सालको जेठ महिनासम्ममा यो काम सम्पन्न गर्न २०७५ सालको चैतमा चीनको पिङगाओ विज्डम जेभीसँग भएको थियो । तर कोरोना महामारीको कारण अहिलेसम्म १६ हजार मिटर मात्रै जडान भएका छन् । अहिले म्याद थपको लागि प्रक्रिया अघि बढिरहेको काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानले जानकारी दिनुभयो ।

के हो स्मार्ट मिटर ?

स्मार्ट मिटर भनेको ग्राहकको घरमा राखिने आधुनिक प्रविधियुक्त विद्युतीय मिटर हो । जसबाट मिटरमा रहेका विद्युतीय तथ्यांकहरु जस्तै करेन्ट, भोल्टेज, खपत भएको युनिट, मागको अवस्था आदिको जानकारी प्राप्त गर्न सकिन्छ । स्मार्ट मिटरका तथ्यांक रेडियो फ्रिक्वेन्सी तथा जीपीआरएसको माध्यमबाट स्वचालित रुपमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको डाटा सेन्टरको सर्भरमा पुग्छन् । केन्द्रीय कार्यालयको डाटा सेन्टरको सर्भरमा पुगेका जानकारीका आधारमा प्राधिकरणले तत्कालै एक्सन लिन सक्छ । 

‘यसलाई रिमोर्ट कन्ट्रोलको माध्यमबाट सञ्चालन र नियन्त्रण गर्न सकिन्छ । नेपाल विद्युत प्राधिकरणले डाटा सेन्टर रहेकै स्थानबाट उपभोक्ताको घरमा रहेको मिटरको अनुगमन र नियन्त्रण गर्न सक्छ।’ काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानेले भन्नुभयो । 

कस्ता ग्राहकले जोड्न सक्छन त ?

विद्युत प्राधिकरणका अनुसार सबै खालका ग्राहकको घरमा स्मार्ट मिटर जोड्न मिल्छ । सिंगल फेज, थ्रि फेज र थ्रि फेजका सीटी अपरेटरमा मिटर जोड्न मिल्छ । सिंगल र थ्रि फेज उपभोक्ताको लागि हो भने सीटी अपरेटर थ्री फेज ट्रान्सफर्मरमा प्रयोग हुन्छ । यसले ट्रान्सफर्मरबाट कति उर्जा प्रवाह भइरहेको छ र मिटरमा कति उर्जा पुगेको छ भनेर जान्न सजिलो पर्छ ।  यसले चुहावट नियन्त्रणमा ठूलो फाइदा पुग्नेछ । 

जडान गर्न शुल्क लाग्छ ?

स्मार्ट मिटर जडानको लागि ग्राहकले एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने विद्युत प्राधिकरणले जनाएको छ । ‘सबै खर्च विद्युत प्राधिकरणले नै बेहोर्छ । मिटरको र जडान गरेको कुनै शुल्क लाग्दैन’ न्यौपानेले भन्नुभयो ।   

न्यौपानेका अनुसार सिंगल फेज लाइनको एउटा मिटर खरिदको लागि मात्रै प्राधिकरणले झण्डै ७ हजार रुपैयाँ खर्च गरेको छ । यसमा सफ्टवेर र सर्भर जडान गर्दा झण्डै ११ हजार खर्च पुग्ने उहाँको दावी छ । यस्तै  थ्रि फेज मिटर, सफ्टवेर तथा सर्भर जडान गरेर २० हजारसम्म पर्न सक्नेछ ।  यो सबै लागत विद्युत प्राधिरणले बेहोरेको छ । 

स्मार्ट मिटर जडानपछि ग्राहक र प्राधिकरणलाई हुने फाइदा र सहजता

स्मार्ट मिटर जडानपछि उपभोक्ता र विद्युत प्राधिकरणलाई धेरै फाइदा पुग्नेछ । ग्राहकका घर घरमा आएका समस्या समाधान गर्न सहज हुनेदेखि चुहावट घट्ने र घरको सोलार उर्जा समेत बेच्न पाइनेछ । 
काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानका अनुसार स्मार्ट मिटर जडानपछि प्राधिकरण र उपभोक्तालाई निम्न फाइदा र सहजता थपिनेछ :

  • स्मार्ट मिटर जडान भइसकेपछि कुन उपभोक्ताले के कति परिमाणमा विद्युत खपत गरे र कति महसुल तिरेका छन् भन्ने रियल टाइम डाटा हेर्न सकिनेछ । यसबाट विद्युत प्राधिकरणको लागि ठूलो चूनौतीका रुपमा रहेको विद्युत चुहावट घटाउन निकै मद्दत पुग्नेछ । राजश्व संकलन पनि बढ्ने अनुमान प्राधिकरणको रहेको छ  । 
  • कुनै ग्राहकले विद्युत चोरी गरेमा या प्रयास गरेमा प्राधिकरणको स्मार्ट डाटा सेन्टरमा रहेको सर्भरमा सूचना प्राप्त हुनेछ । तत्कालै प्राधिकरणले एक्सन लिन सक्नेछ । 
  • कुनै ग्राहकले स्वीकृत क्षमता भन्दा धेरै विद्युत खपत गर्न खोजेमा पनि प्राधिकरणको सर्भरमा सूचना आइपुग्नेछ  । यसबाट पनि चुहावट नियन्त्रणमा फाइदा हुनेछ ।  
  • अहिले मासिक उर्जा खपतको जानकारी लिन÷दिन मिटर रिडरहरु खटिने गरेका छन् । अब यो क्रमको अन्त्य हुनेछ । प्राधिकरणबाटै कुन ग्राहकले कति उर्जा खपत गर्यो र कति महशुल उठ्यो भनेर जानकारी थाहा पाउन सकिन्छ ।  मिटर रिडिङमा खटिने कर्मचारी कटौती गर्न सकिने या अरु काममा लगाउन सकिन्छ । भविष्यमा मिटर रिडिङको लागि कर्मचारी नियुक्त गर्नुपर्ने बाध्यता हट्नेछ । स्मार्ट मिटर जडानपछि ग्राहकले खपत गरेको बिजुली र तिर्नुपर्ने महशुलको जानकारी स्वचालित रुपमा ग्राहकको मोवाइलमा  एसएमएस र इमेलमार्फत पुग्नेछ । 
  • अहिले समयमै बिल नबुझाएका र बद्मासी गरेका ग्राहकको बिजुलीको लाइन काट्न कर्मचारी ग्राहकको घरमै खटिनुपर्छ । तर अब स्मार्ट मिटर जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै रिमोर्टको माध्यमबाट ग्राहकको लाइन काट्ने र जोड्ने काम गर्न सकिनेछ । समय र खर्चको बचत हुनेछ । 
  • अहिले कोरोनाको महामारी जस्तै भविष्यमा आउन सक्ने महामारीको बेला सामाजिक तथा भौतिक दूरी कायम गरेर सेवा दिने र प्रणालीको काम जारी राख्न ठूलो सहयोग हुनेछ  । महामारीको समयमा विना कुनै समस्या काम हुनेछ । 
  • स्मार्ट मिटरिङ प्रणालीमा प्रिपेड को पनि सुविधा रहनेछ । प्राधिकरणले ग्राहकबाट अग्रिम भुक्तानी लिन पनि सक्नेछ ।   ग्राहकले पनि नेपाल टेलिकमको जस्तै मिटरमा चार्ज गर्न सक्नेछन्, मासिक रुपमा विल बुझाउन प्राधिकरणका काउन्टरमा जानुपर्ने छैन ।
  • यसमा नेट मिटरिङको पनि सुविधा हुनेछ । ग्राहकको घरमा जडान भएको सोलार प्रणालीको उर्जा दिउँसोको समयमा प्राधिकरणलाई दिने र बिहान बेलुका विद्युत प्राधिकरणबाट बिद्युत लिने कामको मापन नेट मिटरिङ प्रणालीमार्फत हुनेछ ।  यसबाट घरमा बढी भएको सोलारको उर्जा खेर जाने समस्या हट्ने र ग्राहकको आय आर्जनमा पनि टेवा पुग्नेछ । 
  • रियल टाइम उर्जा खपतको जानकारी पनि स्मार्ट मिटरिङ प्रणालीमा हेर्न सकिन्छ  । प्राधिकरण र ग्राहकले हरेक मिनेटमा खपत भएको बिजुलीको परिमाण रियल टाइम डाटामार्फत हेर्न सकिनेछ ।  प्राधिकरणले फिडर र ट्रान्सफर्मरको लोड थाहा पाउन सकिने भएकाले व्यवस्थापनमा सहज हुनेछ । गुनासोको चाँडो भन्दा चाँडो सुनुवाइ हुनेछ । 
  • कुनै वितरण प्रणालीमा समस्या आएमा तत्कालै डाटा सेन्टरमा स्वचालित प्रणालीमार्फत जानकारी आउनेछ । प्राधिरकणलाई मर्मत सम्भार कार्य तीब्र गतिमा गर्न सहज हुनेछ । 
  • ग्राहकलाई बिल पिन्ट गरेर दिइरहनु नपर्ने भएकाले कार्बन उत्सर्जनमा कमी ल्याउन सहयोग पुग्नेछ । वातावरणीय प्रदुषण नियन्त्रणमा पनि स्मार्ट मिटरले सहयोग पुर्याउने प्राधिकरणको भनाई छ । 
  • अहिले एक व्यक्तिलाई जाने बिल अर्कै व्यक्तिलाई जाँदा कहिलेकाहीँ समस्या उत्पन्न भइरहेको छ । अब यस्तो समस्या पनि समाधान हुनेछ ।   

काठमाण्डौ उपत्यका बाहिर पनि स्मार्ट मिटर जडानको तयारी 

पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज क्षेत्रका ९८ हजार घरमा स्मार्ट मिटर जडान गरिरहेको विद्युत प्राधिरकरणले दोस्रो चरणमा काठमाण्डौ, ललितपुर र भक्तपुरका ९ वटा वितरण केन्द्रका ४ लाख ग्राहकको घरमा जडान गर्नेछ । यसको लागि झण्डै ३० करोड रुपैयाँ लाग्ने अनुमान छ । ४ लाख घरमा स्मार्ट मिटर जडानको लागि वोलपत्र आव्हान गर्ने तयारी छ तर सञ्चार मन्त्रालयले दिनुपर्ने एउटा स्वीकृतीमा ढिलाइ भएको आयोजना प्रमुख न्यौपानेको भनाई छ । 

‘हामीले बोलपत्र तयार  गरेर राखेका छौँ, सञ्चार मन्त्रालयले लाइसेन्स दिनेबित्तिकै बोलपत्र आव्हानमा जान्छौँ’ उहाँले भन्नुभयो । 

काठमाण्डौसँगै बाहिरका मुख्य सहरमा पनि स्मार्ट मिटर जडानको तयारी छ । तर यसको लागि ठूलो खर्च लाग्ने भएकाले खर्चको जोहो गर्ने तयारी भइरहेको पनि प्राधिकरणले जनाएको छ । 

‘देशभर विद्युत प्राधिकरणका ४२ लाख ग्राहक रहेका छन्, सबै ग्राहकको घरमा एकैपटक स्मार्ट मिटर जडान गर्न आर्थिक र प्राविधिक हिसावले कठिन हुने देखिन्छ, बिस्तारै यो मिटर जडानको काम देशभरी पुग्नेछ’ काठमाण्डौ उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानेले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया