रामेछापको बाहुनचुरा डाँडामा प्याराग्लाइडिङ उडान सफल

 मंसिर २१, २०७७ आइतबार १४:५६:५४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको मन्थली नगरपालिका ९ पुराना गाउँको बाहुनचुरामा प्याराग्लाइडिङ उडान सफल भएको छ । बाहुनचुरामा रहेको थानापति महादेव क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सम्भाव्यता अध्ययनका लागि पहिलो पटक गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको हो ।

मन्दिर नजिकै १७ सय मिटरको उचाइ रहेको डाँडाबाट मन्थली नगरपालिकाले प्याराग्लाइडिङको परीक्षण उडान गरेको हो । आफ्नो बस्तीमाथिको डाँडामा प्याराग्लाइडिङमार्फत चिलजस्तै मान्छे उडेको देख्न पाएको मन्थली नगरपालिका ९ का हस्तलाल तामाङले बताउनुभयो । प्याराग्लाडिङबाट पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।

नेपालको तेस्राे पशुपतिनाथको रुपमा परिचित थानापति महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य अनुरूप पूर्वाधार निर्माणको काम भइरहेको र प्याराग्लाइडिङ उडान सफल भएपछि पर्यटन प्रवर्द्धनमा थप हौसला मिलेको मन्थली नगरपालिका ९ पुरानागाउँका वडाध्यक्ष भरतबहादुर पुलामीले बताउनुभयो ।

अहिले मन्दिरमा आउने भक्तजनहरूलाई हिँड्न सहज होस् भनेर सिँढी र रेलिङ हाल्ने काम भइरहेको छ । मन्दिरसम्म आउन–जान सहजताको लागि मोटरबाटो निमार्ण भएको छ । प्याराग्लाइडिङलाई व्यावसायिक रूपमा सञ्चालन गर्न भूगोल मिलेकाले धेरै उडान गर्न सकिने प्याराग्लाइडिङ पाइलट लक्ष्मण रत्न शाक्यले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया