बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

 मंसिर २३, २०७७ मंगलबार ७:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ ।

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिए पनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए ।

कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले जनाएको छ । पशुपतिमा महाशिवरात्री, साउनका सोमबार, हरितालिका (तीज), बाला चतुर्दशीलगायत पर्वमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको छ । बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने गर्छन् ।

यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ । कोरोना महामारी बढेपछि गएकाे वर्ष चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस १ गतेदेखि खुल्ला गर्न लागिएको कोषले जनाएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर भक्तजनलाई मन्दिर प्रवेश गराइ दर्शनको व्यवस्था मिलाइने कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया