वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नुभयो ? विभागमा सम्पर्क गर्नुहोस्

 मंसिर २४, २०७७ बुधबार १२:३९:५३ | टीकामणि नेउपाने
unn.prixa.net

हाम्रो वैदेशिक रोजगार ऐन तथा नियमावलीमा महिलाहरुलाई केही विशेष छुट तथा सुविधाहरु दिनुपर्छ भन्ने प्रावधान रहेको छ । जस्तै विदेश जानका लागि पनि महिलाहरुलाई निश्चित प्रतिशत कोटाहरु तोकी सरकारले पठाउन सक्छ भनेर उल्लेख गरिएको छ भने नेपाल सरकारका प्रचलित कानूनहरु महिला मैत्री बनेको छ । 

यस सन्दर्भमा कोही पनि महिला वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्नुभयो, हिंसामा पर्नुभयो, कुनै कानूनी जटिलतामा फस्नुभयो भने पनि हामी यहाँबाट सक्दो प्रयास गर्छौं । जसरी अरु श्रमिकलाई हामी सेवा सुविधा दिन्छौं, हामी त्यसैगरी महिला श्रमिकलाई पनि सेवा दिन्छौं । उजुरीको आधारमा हो हामीले सेवा दिने । अब कस्तो छ उजुरी, तलब नपाएको हो कि, हिंसामा परेको हो कि ? ठगीको पो कि उजुरीको प्रकृति हेरेर त्यस अनुसारको कारबाही अघि बढाउँछौँ ।

जस्तै यहाँबाट म्यानपावरले पठाएको हो र उता गएपछि भनेअनुसारको काम भएन, सेवा सुविधा भएन भने हामी म्यानपावरलाई बोलाएर तपाईँले पठाएको मानिसको यो यो प्रकारको उजुरी आएको छ, उहाँको समस्याको समाधान गर्नुहोस् भनेर भन्छौँ ।

 

यदि उहाँहरुले ढिलो गर्नुभयो, आनाकानी भयो भने उहाँहरुलाई नै कारबाही गर्छौं । अनि दोस्रो कुरो चाहिँ सम्बन्धित कम्पनीले ठग्यो, अप्ठेरोमा प र्‍यो वा उहाँमाथि हिंसा भएको हो भने हामी कुटनैतिक च्यानल परराष्ट्र मन्त्रालयमार्फत र दूतावासहरुमार्फत पनि समस्या समाधानको पहल गर्छौं ।

अवैधानिक बाटो र च्यानलमार्फत नजानुहोस्

वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर जानुभयो भने समस्यामा पर्दा त्यसको समाधानको लागि कुनै कानूनी अप्ठेरो वा झमेला परेन । तर उहाँहरु कुनै गलत बाटो हुँदै जानुभयो वा कानून विपरित हिसाबले जानुभयो भने त्यो गलत हो ।

अन्यत्र देशको विमानस्थल प्रयोग गरेर नेपाल सरकारको स्वीकृति नलिइ जानु भनेको गैरकानूनी ढङ्गले जानु हो । तर पनि आफ्नो नागरिकले जानेर गरोस् या नजानेर, गल्ती गरेर विदेशमा गएर अलपत्र पर्नुभयो भने त नेपाल सरकारको दायित्वको हिसाबले पनि केही पहल त गरिदिन सक्छौं । केही लेखेर पठाउन सक्छौं ।

सम्बन्धित निकायलाई अथवा नेपाली नियोगहरूलाई र श्रम सहचारीलाई पनि अनुरोध गर्न सक्छौं । नेपालको नागरिक हो, दाजुभाइ दिदीबहिनीको नाताले पनि त्यति सहयोग गरिदेउ भन्न सक्छौं । 

तर उहाँहरु वैधानिक हिसाबले नगएको हो भने वैदेशिक रोजगार ऐन नियमावली अनुसार प्रक्रिया अघि बढाउन चाहिँ गाह्रो हुन्छ । तर पनि विभागले विभिन्न निकायसँग समन्वय गरेर काम भने गरिरहेको नै हुन्छ । महिला श्रमिकहरु यहाँबाट जाने भनेर कोही एजेण्ट वा इजाजतपत्र म्यानपावरमार्फत पनि ठगिएको हुनसक्छ सुरुवातमा नै ।

लान्छु भनेको ठाउँमा नलाने, तोकिएकोभन्दा बढी शुल्क लिने अथवा आकर्षक प्रलोभन देखाएर एक देश भनेर अर्को देशमा लैजाने पनि भइरहेको हुन्छ । नेपालमा पनि ठगिनुभएको हुन्छ । यस्तो बेला विभागमा उजुरी दिनुभयो र इजाजत नलिएको व्यक्ति वा संस्था रहेछ भने प्रहरीमा लेखेर पठाउँछौं । उसलाई पक्राउ गरी अनुसान्धान गर्ने र कारबाही अघि बढाउने काम हुन्छ । र मुद्दा हाल्नेसम्मको काम गर्छौं । त्यसको लागि विभागमा कानून महाशाखाको छुट्टै व्यवस्था छ ।

उहाँहरुको दायित्व भएकाले विभागले पनि व्यवसायीलाई पेल्छौं भने अर्को भनेको कुटनीतिक च्यानल पनि प्रयोग गर्छौं । त्यो भएन भने परराष्ट्र मन्त्रालयमार्फत पनि प्रयास गर्छौं ।

होइन बैधानिक बाटो हुँदै सबै कुरा ठिक भएर वैधानिक बाटो हुँदै नेपालबाटै जानुहुन्छ भने र उहाँ पुगेर समस्यामा पर्नुभयो, ठगिनुभयो भने म्यापावर व्यवसायीसँग समन्वय गरेर काम गर्छौं । श्रमिक पठाएको करार अवधिभरी कानून अनुसार म्यानपावर व्यवसायीहरुलाई दायित्व पनि हुन्छ ।

उहाँहरुलाई हेर्ने, सेवासुविधा पाए नपाएको विचार गर्ने, उहाँहरुमाथि कुनै कानूनी जटिलता वा शारीरिक मानसिक कुनै समस्या भए नभएको ग्यारेण्टी जस्तै लिनुपर्छ । त्यो उहाँहरुको दायित्व भएकाले विभागले पनि व्यवसायीलाई पेल्छौं भने अर्को भनेको कुटनीतिक च्यानल पनि प्रयोग गर्छौं । त्यो भएन भने परराष्ट्र मन्त्रालयमार्फत पनि प्रयास गर्छौं ।

दूतावासहरुसँग हामी आफैं पनि कुराकानी गर्छौं । आन्तरिक र बाह्य रुपमा संस्थागत रुपमा जाने र व्यक्तिगत रुपमा जाने श्रमिकलाई जो व्यक्तिगत रुपमा भए पनि सरकारसँग स्वीकृति लिएर जानुभएको छ, उहाँहरुलाई कुनै समस्या भयो भने सहयोग, उद्धार र अन्य आवश्यक पहल गर्छाैं ।

कतिपय अवस्थामा म्यानपावरमार्फत जानुभएका महिला दिदीबहिनीहरुले दुःख पनि पाउनुभएको छ । भर्खरै हामीले बहराइनबाट तीन जना महिलाको उद्धार गर्‍यौं । यसका लागि म्यानपावरलाई तीन पटक त विभागमा नै बोलाएर दबाब दिएपछि उहाँहरुको उद्धार भयो । यसरी हामीले विभिन्न उपाय र तरिकाबाट पनि महिला श्रमिकलाई न्याय दिन र उहाँहरुको समस्या समाधानका लागि काम गरिरहेका छौं ।

समस्या परेमा विभागमा सम्पर्क गर्नुहोस्

तपाईँ विदेश जानुअघि र विदेश पुगिसकेपछि पनि समस्यामा पर्नुभएको छ भने बेलैमा सम्पर्क गर्न म अनुरोध गर्छु । त्यसका लागि हामीले विभिन्न नम्बरहरुको व्यवस्था पनि गरेका छौं भने विभागमा पनि तपाईँहरु आउन सक्नुहुन्छ । 
श्रम मन्त्रालयको कल सेन्टरमा ११४१ नम्बरमा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिन्छ । यस्तै तपाईँहरुको समस्या सुन्न, यहाँ आउनेलाई सहयोग गर्न भनेर विभाग परिसर भित्रै दुई जना हुनुहुन्छ । उहाँहरुको सहयोग लिन सक्नुहुन्छ  ।

श्रम मन्त्रालयको कल सेन्टरमा ११४१ नम्बरमा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिन्छ ।

आइएलओ र पौरखी नेपालको समन्वयमा विभाग परिसरमै हामीले हटलाइनको व्यवस्थासँगै अन्य नम्बरहरुको पनि व्यवस्था गरेका छौं ।

तपाईँहरु समस्यामा पर्नुभएको छ, हिंसा भएको छ, उद्धार आवश्यकता छ भने टोल फ्रि नम्बर १६६००१९९९९ मा सम्पर्क गर्न सक्नुहुन्छ । ल्याण्ड लाइन ०१४७८२६२१ मा र ९८६१५८२५२७ र ९८१८४७६३६९ मा सम्पर्क गर्न सकिन्छ । यी नम्बरमा फोन गर्नुहोस्, थप जानकारी र सहयोग लिनुहोस् ।


(टीकामणि नेउपानेसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।) 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

टीकामणि नेउपाने

टीकामणि नेउपाने वैदेशिक रोजगार विभागका निर्देशक तथा सुचना अधिकारी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया