Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

441_ Desh Paradesh 2020-12-08

कार्यक्रम देश परदेशको ४४१ औं अंक महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा परदेशमा हिंसाबाट बच्ने उपाय र समस्यामा पर्दा सम्पर्क गर्ने ठाउँबारे जानकारीमा केन्द्रित छ । कुवेतमा घरेलु श्रमिक भएर काम गर्दा हिंसा भोगेर घर फर्केकी दीलु गजमेरका सुझाव कार्यक्रममा सुन्न सकिन्छ । परदेशमा काम गर्दागर्दै हिंसा भयो, तलब पाइएन, दुव्र्यवहार भयो भने कहाँ सम्पर्क गर्ने र दूतावासमार्फत कस्तो सहयोग पाइन्छ त ? साउदी र यूएईमा रहेको नेपाली दूतावासका श्रम काउन्सेलर र ओमानमा रहेको नेपाली दूतावासका श्रमसहचारीसँगको कुराकानी कार्यक्रममा समावेश छ । अनि, परदेशमा समस्यामा पर्दा र स्वदेश फर्किसकेपछि न्यायका लागि के गर्ने, कसरी गर्ने र कहाँ जाने भन्ने बिषयमा वैदेशिक रोजागार विभागका निर्देशक तथा सूचना अधिकारी टीकामणि नेउपानेको जवाफ पनि समेटिएको छ । साथमा छन् हप्ताभरीको महत्वपूर्ण गतिविधि पनि ।