जलवायु परिवर्तन : असारमा फल्नुपर्ने स्याउ पुसमै फले

 पुस १५, २०७७ बुधबार २०:०:२० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : सोलुखुम्बुको बागवानी केन्द्र फाप्लुमा पुस पहिलो हप्तादेखि नै स्याउ फल्न थालेपछि स्थानीय अच्चमित बनेका छन् । 

सामान्यतय फागुनदेखि फूल फुलेर जेठ, असारतिर फल लाग्नुपर्ने स्याउ पुस लाग्न नपाउँदै फल्न थालेपछि स्थानीय अच्चमित बनेका हुन् । बागवानीमा गएको कार्तिकदेखि फूल फुल्न सुरु भएको स्याउमा पुस पहिलो हप्तादेखि नै फल लाग्न सुरु भएको छ ।

फुल्नु पर्ने बेला स्याउमा फल लाग्न थालेपछि आफूहरु अच्चमित बनेको स्थानीय नवीन श्रेष्ठले बताउनुुभयो ।  जलवायु परिवर्तनको असरका कारण समयभन्दा पहिले नै फुल्न फल्न थालेपछि आफूहरु चिन्तामा रहेको अर्का स्थानीय पासाङ शेर्पाको भनाइ छ । पछिल्लो समय बर्षा नहुनु, चिसो हुने समयमा चिसो नहुनु, हिमालहरु क्रमशः पग्लिदै जानु जस्ता परिवर्तनहरु देखिँदै गएकाले आफूहरुलाई चिन्ता लागेको शेर्पाले बताउनुभयाे ।

बागवानी केन्द्रमा करिब दुई हजार दुई सयको हाराहारीमा स्याउका बोटहरु छन् । जसमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रेड रोयल, लोचिलिङ अर्लि, जापानीज अरेन्ज लगायतका स्याउहरु रहेका छन् । 

अहिले लोचिलिङ, रेड डेलिसियस लगायतका प्रजातिका बोटहरुमा फल लागिसकेको छ भने केहीमा फूल फुल्न सुरु भएको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले बताउनुभयो । पुसमा नै फल लाग्न थालेको स्याउहरु क्रमशः आफै कुहिएर फल झर्ने गरेको निमित्त प्रमुख ठाकुरको भनाइ छ । अघिल्लो वर्ष पनि यस्तै समस्या देखिएको केन्द्रले जनाएको छ ।

पछिल्ला दशकमा बढीरहेको औद्योगिक विकास तथा जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको तापक्रम अत्याधिक बृद्धि हुँदा त्यसकाे जसको प्रभाव फलफूलजन्य उत्पादनमा पनि देखिएको वातावरणविद् राजन थापा बताउनुहुन्छ ।

‘मानवीय क्रियाकलापका कारण हरितगृह ग्यास बढी मात्रामा उत्सर्जन हुदाँ पृथ्वीको तापमान बृद्धि हुन गई समय भन्दा अगाबै फलहरु फल्न थालेका छन्’, उहाँ भन्नुहुन्छ, ‘पछिल्ला वर्षमा तराईमा पाइने लामखुट्टे पहाडी क्षेत्रमा भेटिन थालेको छ, यो पनि त्यसकै लक्षण हो ।’

अन्तिम अपडेट: चैत २७, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया