विभाजनकै विरासतमा कम्युनिस्ट आन्दोलन

 पुस १६, २०७७ बिहिबार ८:३७:१४ | हरि ज्ञवाली
unn.prixa.net

वि. सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी अहिलेसम्म आइपुग्दा जुटेको भन्दा फुटेको इतिहास धेरै छ । 

नेपाली कम्युनिस्ट आन्दोलनको विगत ७१ वर्षे इतिहासमा कम्युनिस्ट पार्टीहरु लगभग ७१ पटक नै विभाजन भएका छन् ।  टुटफुट र विभाजनको यो विरासतीय श्रृङ्खला बढ्दै जाँदा यतिखेर नेपाल कम्युनिस्ट पार्टी (केपी ओली समूह) र प्रचण्ड-माधव समूहका नाम थपिएका छन् । 

नेपाली नागरिकले कम्युनिस्ट पार्टीलाई दिएको करिब दुई तिहाई मतको यो विभाजन देशकै लागि घात र चिन्ताको विषय हो।  एक-अर्कालाई अनेकौँ आरोप-प्रत्यारोप र सत्तोसराप गरी आफूलाई मात्र सच्चा कम्युनिस्ट  ठान्दै आएका कम्युनिस्ट पार्टीहरु अहिलेसम्म डेढ दर्जनभन्दा बढी बनिसकेका छन् ।

गरिब, सर्वहारा, किसान, मजदुर र महिला हकहितको सुनिश्चितताका नाममा गठन भएका लगभग सबैजसो कम्युनिस्ट पार्टीका नेताहरु आज नवसामन्तका रुपमा परिणत भएको देखिँदैछ । त्यसैले त त्याग र संघर्षको गर्विलो इतिहास बोकेका नेपाली कम्युनिस्टहरुको वर्तमान अत्यन्तै बदनाम र विवादित बन्दैछ । यसले कम्युनिस्टहरुको दर्शन, सिद्धान्त र स्कुलिङ्मै खोट छ कि भन्ने आशङ्का बढाएको छ । 

टुटफुट र विभाजनकोे गञ्जागोल इतिहास 

पुष्पलालको अगुवाइमा नेपालमा विसं २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो  । सुरुमा पार्टीमा जम्मा ५ सदस्य (पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी) रहेका थिए  ।

सुरुदेखि नै नेपाल कम्युनिस्ट पार्टीको नाममा पहिलो पर्चा छरेको दिन २००६ वैशाख १० (२२ अप्रिल,१९४९) लाई नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मान्ने कि पार्टीको केन्द्रीय समिति, विधान र घोषणापत्र जारी गरेको २००६ भाद्र ३० गते ( १५ सेप्टेम्बर,१९४९) लाई पार्टीको स्थापना दिवस मान्ने ? लामो समय यही विषयको विवादमा कम्युनिस्ट राजनीति केन्द्रीत भइरह्यो । 

तत्पश्चात्  ‘राजतन्त्र कि गणतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलनको बाटो कि हतियारबन्द आन्दोलनको बाटो ?’ भन्ने विवादमा तानिएको कम्युनिस्ट पार्टी समयानुकूल परिस्थितिको व्याख्या-विश्लेषणको बहाना र एक अर्काबीचको आरोप-प्रत्यारोपमै पटकपटक विभाजित भइरहेको छ । 

स्थापनाको ४ वर्षपछि विसं २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । रायमाझीकै कारण २०१७ सालपछि कम्युनिस्ट पार्टी पहिलो पटक विभाजन भयो ।

२०१७ साल पुष १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि रायमाझी कालान्तरमा राजदरबार पसे । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिस्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित हुन थाले ।

वि. सं. २०१९ मा तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव निर्वाचित गरी राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गर्यो । पार्टीको तेस्रो महाधिवेशनपछि पार्टीमा विभिन्न गुट-उपगुटहरु देखिए ।  त्यसबेला खास गरेर रायमाझी समूह, तुल्सीलाल समूह र पुष्पलाल तीन समूहमा पार्टी विभाजन भयो । 

उता रायमाझीले छुट्टै तेस्रो महाअधिवेशन गरेर आफू महासचिव भएको घोषणा गरे । पछि फेरि यो समूह बर्मा समूह र मानन्धर समूहमा विभाजित भयो । २०२३ सालसम्म कम्युनिस्ट पार्टी लगभग अवसानको सङ्घारमा थियो । एकातिर पूर्व मेची कोशी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजंगको समूह छुट्टियो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन गराए । 

२०२५ सालमा तेस्रो सम्मेलन गरी पुष्पलालको नेतृत्वमा पार्टी गठन भयो । तेस्रो महाधिवेशनबाट फुट भएको कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन भन्दै जेलबाट छुटेर आएका नेताहरु मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरुको नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्युक्लियसको गठन भयो ।

२०२८ सालमा नेपाल कम्युनिस्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे । झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस । पुष्पलालको पार्टी यी दवैमा थिएन । पुष्पलाल समूहमा रहेको पूर्वकोशी प्रान्तीय कमिटीसँंग सम्बद्ध झापा जिल्ला कमिटीले २०२७ सालको अन्ततिर झापामा सशस्त्र आन्दोलन सुरु गर्यो । फलस्वरुप २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को-अर्डिनेशन कमिटी (माले) को गठन भयो । 

यसमा २०३४ मा मुक्तिमोर्चा  र पूर्वको रातो झण्डा समूहलगायत धेरै कम्युनिस्टका झुण्डहरु एकताबद्ध भए र अन्तमा २०३५ सालमा नेकपा(माले) को स्थापना गर्यो । २०३५ सालमै कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो ।

मोहनविक्रम सिंहले २०३१ साल भदौमा चौथो महाधिवेशन गरी अर्को पाटी बनाए । मोहनविक्रमले अर्को पार्टी बनाएपछि २०३६ मा एकता सम्मेलन गरी मनमोहनलगायतले नेकपाको घोषणा गरे । मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गर्यो । राजाले गराएको जनमत सङ्ग्रहलाई लिएर पार्टीभित्र पुन : मतभेद सुरु भयो ।

२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो ।  मोहनविक्रमलाई महामन्त्री छानियो । नेकपा मसालको पाँचौं महाधिवेशन पनि जुट्नेभन्दा फुट्ने कारण बन्यो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेपछि फुटको श्रृङ्खला पुन: सुरु भयो । 

चौथो महाधिवेशन पक्षधरहरुले विरोधको तारो बनाएको को-अर्डिनेशन केन्द्र अर्थात् झापा विद्रोह र पुष्पलाल समर्थकहरुको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)का रुपमा परिणत भयो ।

२०४० सालपछि नेकपा संयुक्त चौम, नेकपा (मशाल),नेकपा(मसाल) नेकपा (चौम) तीन समूहमा विभाजन हुन पुग्यो । पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भए । २०४२ सालमा मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो । 

२०४५ सालमा नेकपा (मशाल) को सम्मलेन गरी.प्रचण्ड महामन्त्री बने । एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर फेरि मतभेद सुरु भयो । निर्मल लामाहरुले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर छुट्टै नेकपा (एकताकेन्द्र) गठन गरे । यता प्रचण्ड नेतृत्वको एकता केन्द्रले नाम फेर्यो । नेकपा माओवादी राख्यो र उसले १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्यो ।

यसबीचमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रभित्र माओवादीलाई हेर्ने दृष्टिकोणमा फेरि मतभेद सुरु भयो । अनि २०६३ सालमा उनीहरु पनि फेरि फुटे । १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२-०६३ सालपछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रुपमा फुट सुरु भयो । मोहन वैद्य  र नेत्रविक्रम चन्द फुटेर दुई ओटा छुट्टाछुट्टै पार्टी खोले । बाबुराम भट्टराईले कम्युनिस्ट आन्दोलन नै छोडे ।

२०४७ सालमा प्रथम सम्मेलन गरी सक्रिय भएको नेपाल मजदुर किसान पार्टी पनि अलग्गै पार्टीका रुपमा छ । यसै सन्दर्भमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि २०४७ साल चैत्र महिनामा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भएर नेकपा (एमाले) बन्यो । अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदन भण्डारी चुनिए ।

२०४९ सालमा काठमाण्डौमा सम्पन्न एमालेको पाँचौं महाधिवेशनले जनताको बहुदलीय जनवादको कार्यक्रमलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्यो । २०५० जेठ ३ गते मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युपछि माधवकुमार नेपाल महासचिव बने ।

विसं २०५४ सालमा  नेपालगञ्जमा सम्पन्न एमालेको छैठौं महाधिवेशनबाट माधवकुमार नेपाल नै महासचिव चुनिए । यस महाधिवेशनमा वामदेव गौतमको फरक मतको लाइन र महाकालीसन्धि सम्बन्धमा विवाद भयो । अन्ततः २०५४ सालमै त्यस पार्टीमा पनि फुट भएर पुनः नेकपा.(माले) को जन्म भयो  । 

नेकपा एमालेको सातौँ महाधिवेशन २०५९ सालमा जनकपुरमा सम्पन्न भयो । माधव नेपाल महासचिवमा निर्वाचित भए । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए । नेकपा (एमाले ) को नवौं महाधिवेशन २०७१ सालमा काठमाण्डौमा भयो । अध्यक्षमा माधव नेपाललाई पराजित गरी केपी शर्मा ओली निर्वाचित भए । 

दर्शन र सिद्धान्तमै खोट छ कि ?

विसं २०७५ सालमा तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरी बनेको सबैभन्दा शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी यतिखेर पुनः विभाजित भएको छ । कम्युनिस्ट पार्टीको श्रृङ्खलाबद्ध फुटको इतिहासमा यतिखेर नेपाल कम्युनिस्ट पार्टी (केपी ओली समूह) र (प्रचण्ड-माधव समूह) का नाम थपिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीहरुका यी टुटफुट, गुट र विभाजनको विरासतीय श्रृङ्खलाहरु नेपाली जनजीविकाका तमाम समस्याहरु हल गर्नेतर्फ नभइ फगत सत्तास्वार्थ र पदप्रतिष्ठाकै लागि हुन् भन्ने तथ्यहरुले स्पष्ट पारेका छन् ।

पटक-पटकका विभाजन र टुटफुटले नेपाली कम्युनिस्टहरुको दर्शन, सिद्धान्त र स्कुलिङ्मै खोट छ कि भन्ने आशङ्का बढाएको छ । कम्युनिस्ट इतिहासको यो प्रवृत्तिले नेपालको कम्युनिस्ट दर्शन, सिद्धान्त र स्कुलिङ्को शैलीमा पुनर्विचार र पुनर्व्याख्याको आवश्यकतालाई बोध गराउँछ ।

जे भए पनि नेपाली नागरिकको सात दशक लामोे आन्दोलन, त्याग, बलिदान र रक्तरञ्जित सङ्घर्षपछि देशले प्राप्त गरेको महान् उपलब्धि नेताहरुकै फगत सत्तास्वार्थ, व्यक्तिगत इगो, पद-प्रतिष्ठा र अवसरकै चपेटामा परेर पुनः गुम्न लागेको छ । देशका लागि यो नै गम्भीर चिन्ताको विषय हो । 

 

अन्तिम अपडेट: भदौ १३, २०७८

हरि ज्ञवाली

ज्ञवाली रूपन्देहीका वाम बुद्धिजीवी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया