रामेछापको स्थानापति विद्यालयका विद्यार्थीले ६ वर्षदेखि छात्रवृत्ति पाएनन्

 पुस २१, २०७७ मंगलबार १७:४७:३१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिका ९ पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको लागि आएको छात्रवृत्ति विद्यालयका प्रधानाध्यापकले हिनामिना गरेको आशङ्का गरिएको छ ।  

विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रवृत्ति रकम ६ वर्षदेखि वितरण गरिएको छैन । विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले विद्यार्थीको छात्रवृत्ति रकम मात्र नभइ विद्यालयको पुस्तकालय व्यवस्थापनको लागि आएको रकमसमेत हिनामिना गरेको आशङ्का गरिएको छ । 

विद्यालयमा बर्सेनि छात्रा र दलित विद्यार्थीहरुको नाममा छात्रवृत्ति रकम आउने गरेको छ । विद्यालयमा आएको रकम २०७२ सालदेखि अहिलेसम्म कुनै पनि विद्यार्थीहरुले पाउन नसकेको स्थानापति माध्यमिक विद्यालयका विद्यार्थी विशाल विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले दलित विद्यार्थीलाई छात्रवृत्ति रकम दिएको छ भन्ने मलाई थाहा छ । विद्यालयमा हाम्रो नाममा रकम नियमित रुपमा आएको पनि छ तर हेडसरले त्यो रकम हामीलाई दिनुभएको छै ।’ 

विद्यालयमा अध्ययनरत बालबालिकाको नाममा आएको छात्रवृत्ति रकम विद्यार्थीहरुले नपाएपछि अभिभावकहरू विद्यालयमा बुझ्न जाँदा छात्रवृत्तिको लागि आएको सबै रकम जग्गा खरिदमा खर्च भएको भन्दै विद्यालय प्रशासन पन्छिएको मन्थली नगरपालिका ९ पुरानागाउँका खडेन्द्रबहादुर कामीले जानकारी दिए । 

उहाँले भन्नुभयो, ‘विद्यालयले पैसा तिरेर जग्गा किनेको नै छैन । दलितको नाममा आएको रकम विद्यालयले जग्गा खरिद गरेँ भनेर टार्न मिल्छ । विद्यालयले जसरी भए पनि विद्यार्थीको नाममा आएको छात्रवृत्ति रकम वितरण गर्नुपर्छ ।’ विद्यालयले छात्रवृत्ति रकम वितरण नगरे कानुनी बाटोमा जाने उहाँको भनाइ छ । 

प्रधानाध्यापक गिरीले छात्रवृत्तिसँगै माध्यमिक पुस्तकालय स्थापनाको लागि मन्थली नगरपालिकामार्फत गएको ६ लाख ५० हजार र कक्षा कोठा व्यवस्थापनको लागि आएको एक लाख रुपैयाँसमेत अनियमितता गरेको आशङ्का गरिएको छ । विद्यालयमा विज्ञान प्रयोगशालाका सामग्री खरिदका लागि आएको दुई लाख रुपैयाँ बजेटसमेत प्रधानाध्यापक गिरीले अपचलन गरेको हर्कबहादुर सुनेलले बताउनुभयो ।  

विद्यालयमा आएको रकमबाट विज्ञान प्रयोगशालाको सामग्री खरिद गर्न दुई वर्षअघि प्रधानाध्यापक गिरीले आफ्नै नेतृत्वमा खरिद समिति बनाउनुभएको थियो । 

विद्यालयमा के–कति रकम आयो र कुन–कुन शीर्षकमा खर्च भयो भन्ने विषयमा आफूहरुलाई केही पनि जानकारी  नभएको स्थानापति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिलबहादुर अछामीले बताउनुभयो । ‘विद्यार्थीलाई दिन बाँकी रहेको छात्रवृत्ति रकम एकमुष्ट दिने भन्ने कुरा छ’, उहाँले भन्नुभयो । 

विद्यालयमा पठाएको छात्रवृत्ति रकम र पुस्तकालय स्थापनाका लागि गएको रकम हिनामिना गरेको विषयमा मन्थली नगरपालिकाले तत्काल छानबिन गर्ने र दोषी भेटिएमा कानुनअनुसार कारबाहीको प्रक्रियामा जाने मन्थली नगरपालिकाका महाशाखा प्रबन्धक हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।  

विद्यालयमा आएको छात्रवृत्ति रकमले विद्यालयको लागि जग्गा खरिद गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नै जग्गा खरिद गरिएको विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानुन मात्रै हेरेर हुँदैन, कहिलेकाहीँ त व्यवहार पनि हेर्नु परो नि ।’   

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया