“चरखण्डी तीर्थ” र कविवर युद्धप्रसाद मिश्र

 पुस २५, २०७७ शनिबार ७:२२:३९ | कुमार रञ्जित
unn.prixa.net

“लहलह पल्लव हरित लताको
छाया स्वर्गिक शीतल रूखको

​कुञ्ज छ - मन्दिर चिडियाहरूको
कलकल गान छ निर्मल जलको

गिरिको गहिरो अन्तर तट छ
जल यो छलबल छलबल चल्छ

यो छलछलमा रूखको हरियो
छाया तिरिमिरि तिरिमिरि छरियो

निर्मल जलको पतला सारी
टलपल टलपल सर्र लतारी

कोमल झ्याउ, पत्थर हरिया
सज्जित जलका चोली हीला

​कहिले वारी, कहिले पारी
फरफर उड्दै पंख फिँजारी

​बन न विहङ्गम बारम्बार
निर्मल जलको रंगिन हार

चरखण्डी यो सुन्दर घारी
झटपट झटपट व्यर्थ अगाडि

काइ परेका चिप्ला पत्थर
बाट झर्यो किन झरझर झरझर”

नेपाली प्रगतिवादी धारका अजेय कवि युद्धप्रसाद मिश्रद्वारा रचित प्रस्तुत “चरखण्डीको खोँच” कविता पढेपछि त्यस स्थानबारे जिज्ञासा लिएर चरखण्डी खोँचमा पुग्नेहरुले वर्तमानमा त्यसको थोरै झल्को मात्रै देख्न पाउनेछन् । 

विक्रम संवत् १९६४ सालको पौष २७ गते त्यसै स्थान नजिक जन्मनुभएका कविवरले २८ वर्षको उमेरमा वि.सं. १९९२ पुसमा “शारदा” प्रकाशित गर्नुभएको कवितामा वर्णन गर्नुभए जस्तो तीव्र रुपमा प्रकृति र संस्कृति अतिक्रमित भैरहेको काठमाण्डौ उपत्यकाको भू-भागभित्र रहेको सिरुटारमा ८५ वर्षपछिको वातावरण उबेलाकै अवस्थामा नहुनु अस्वाभाविक होइन ।

वर्तमानमा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका अन्तर्गत वडा नम्बर १ र ४ को सीमाना भएर बग्ने मसिनो खोल्साको खोँचलाई “चरखण्डी तीर्थ” भन्ने गरिएको छ । मध्यकालदेखि नै नदी संगमलाई “तीर्थ” का रुपमा पुजेर स्नान गर्ने परम्परा बनाउँदै आएको नेपाल-संस्कृतिमा “चरखण्डी” को स्थान तोकेर व्याख्या गर्ने अभिभारा इतिहास र संस्कृतिविदहरुले अहिलेसम्म पूरा गरेको देखिँदैन । अर्थात् “चरखण्डी” कोे विस्तृत अध्ययन-अनुसन्धान अझै बाँकी छ ।

“चरखण्डी” शब्दको एकीकृत अर्थ शब्दकोषहरुमा भेटिँदैन । “चर” र “खण्डी” दुई शब्द जोडेर बनाइएको स्थान गाईवस्तु चर्ने-चराउने मानव बस्तीभन्दा अलिक बाहिर तर अभिभाज्य भू-खण्ड भन्ने अर्थ लगाउन सकिन्छ । जसमा खोल्सा र धर्म-संस्कृति जोडिएपछि “तीर्थ” बन्न पुगेको पनि स्वतः सिद्ध हुन आउँछ।

इतिहासका गहन अध्येताहरुले भक्तपुरको यस क्षेत्रमा लिच्छविकालमा एउटा समृद्ध मानव बस्ती रहेको हुनसक्ने प्रवल अनुमान गरेका छन् । लिच्छविकालको अभिलेख अध्येता साथै व्याख्याता धनवज्र बज्राचार्यले औंल्याउनुभएको “हंसगृहद्रङ्ग” नामक बस्तीलाई पुष्टि गर्ने प्रमाणका रुपमा त्यस भेगमा अवशेष पाइएको छैन । 

प्राप्त अभिलेखहरुमा आधारित रहेर अनन्तलिङ्गेश्वर केन्द्रीत भएर सूर्यविनायक, दधिकोट, सिरुटार, सोमलिङ्गेश्वरदेखि लुभुको छेउको भेगसम्म प्राचीन अभिलेखहरुमा उल्लेखित “हंसगृहद्रङ्ग” फैलिएको अनुमान भने गरिएको छ । 

त्यसै प्राचीन बस्तीका बासिन्दाको पवित्र “तीर्थ” बनिरहेको थियो “चरखण्डी”; जहाँ स्थानीयको जन्मदेखि मृत्युसम्मका पवित्र संस्कार गरिन्थ्यो। अहिलेसम्म पनि स्थानीय बासिन्दाले त्यसलाई निरन्तरता दिइरहेको देख्न सकिन्छ । 

अहिले पनि “चरखण्डी तीर्थ” पुगेर अवलोकन, अध्ययन-अनुसन्धान गर्ने हो भने त्यहाँको भूगोल, ऐतिहासिक अभिलेख, त्यहाँ हुने मेला, जात्रा, संस्कार र संस्कृतिले त्यहाँको समृद्ध विगत झल्काइरहेको देखिन्छ ।

कविवर मिश्रले कवितामा व्यक्त गर्नुभए जस्तै चरखण्डी खोँचमा बगेको पानीको कलकल र हावाको सरसर र पंक्षीका फरफर मात्रै होइन, बिना आवाज बोलिरहेका थुप्रै ढुंंगा र मूर्तिहरु पनि देख्न पाइन्छन्। त्यसतर्फ कविवर मौन हुनुहुन्छ । यसबाट कविमा त्यसबेलादेखि नै ढुंंगा र मूर्तिहरुप्रति अनास्था प्रष्टिन्छ । त्यस कवितालाई अमर गिरीले आफ्नो लेखमा “कविको प्राथमिक चरणको काव्य प्रवृत्ति” भनेर उल्लेख गर्नुभएको छ । 

स्थानीय रामशरण खड्काले भने कविवर मिश्र चरखण्डीमा बस्ने गरेका “जोगीहरुको सत्संग गर्न त्यहाँ खूब धाउनु हुन्थ्यो” भनेर लेख्नुभएको छ । अहिले त्यहाँ कोही जोगी बस्ने गरेका छैनन् ।

त्यहाँका ढुंगा र मूर्तिहरुमा लेउले पुरिएर रहेका अक्षरहरुले मात्रै त्यस क्षेत्रको ऐतिहासिक अवस्थिति बोलिरहेका छन् । तर त्यसको उचित व्याख्या आजसम्म हुन पाएको छैन भन्नेतर्फ सम्बन्धितहरुको ध्यान आकर्षित नहुनु खेदजनक नै मान्नु पर्दछ ।

सानै उमेरमा अध्ययनका लागि बनारसमा पुग्नुभएको, २२ वर्षकै उमेरमा लेखिएको “अहिंसा प्रार्थना” खण्डकाव्य तात्कालिन राणा शासक भीम शमशेरले खोसेर डढाइदिएको र नेपाली कांग्रेसको समर्थक बनेर करिब ३ वर्ष जेल पनि भोगिसकेपछि कविवर मिश्रले २०१५ सालमा लेख्नुभएको कथा-कृति “अमर कथा” माथि तात्कालीन सरकारबाट प्रतिबन्ध लगाइएपश्चात् उहाँ कम्युनिष्ट विचारधारातर्फ आकर्षित हुनुभएको भनेर धेरै समालोचकहरुले उल्लेख गर्नुभएको छ ।

त्यसपछि उहाँका जीवनका प्रत्येक घटना र सिर्जनाहरु अन्धविश्वास, रूढिवाद र वर्गीय उत्पीडनबाट मुक्तिका लागि उत्प्रेरित गर्ने खालका क्रान्तिकारी परिवर्तनका लागि भएको तथ्यबाट आम साहित्यिकहरु परिचित नै छन्।  

जीवनमा कुनै पदीय लालसा नराखेर, लाभको आकांक्षा नदेखाएर आजीवन जनजागृतिको गीत लेखिरहेका कविवर मिश्रलाई नेपाली जनमानसले बढी सुनेको चर्चित गीत “रक्तक्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान...” नै हो भन्न सकिन्छ । नेपाली जनआन्दोलनको सर्वप्रिय गीत बनेको यस गीतका स्रष्टाको जीवन निकै कष्टपूर्ण र संघर्षपूर्ण थियो भनेर उहाँसित सम्बन्धित सबैले लेखेका छन । 

२०४७ सालको फागुन ६ गते बिहानी प्रहरमा यस संसारबाट देहत्याग गर्नुभएका उहाँको स्मृतिमा चरखण्डीको खोल्साभन्दा केही नजिकै सोमलिङ्गेश्वर छेउको बाङ्गे पिपलनिर बनाइएको “युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठान” को कार्यालय रहेको छ ।

त्यहाँ एउटा अर्धकदको शालिकसहित सामान्य दुई कोठे नाम मात्रको सङ्ग्रहालय देख्न सकिन्छ । जहाँ उहाँले जीवनकालमा उपभोग गर्नुभएका उपलब्ध भएसम्मका विभिन्न वस्तुका साथै प्रकाशित पुस्तकहरु सङ्ग्रहित छन् । 

एउटा आस्थाको धरोहर, प्रगतिशील साहित्यका शिखर व्यक्तित्वको जन्म जयन्तीमा उहाँप्रति वर्तमान राज्य व्यवस्थाले गरिरहेको बेवास्तापूर्ण व्यवहारलाई लिएर टिप्पणी गर्दा कविवर मिश्रकै उदाहरण पर्याप्त देखिन्छ । १९ वर्ष लामो प्रवासबाट ०४० सालमा मातृभूमि फर्किँदा कविवर मिश्रको जन्मथलोमा आफ्नो घर गुमिसकेको थियो । 

यसपछि उहाँको परिवार काठमाण्डौको नरदेवीमा डेरामा बस्नुभएको भक्तपुरका साहित्यकार तथा बामपन्थी राजनीतिकर्मी त्रिरत्न शाक्य सम्झिनु हुन्छ । त्यहाँबाट थिमिमा बस्न थाल्नुभएका कविवरसित आफ्नो सम्पर्क निरन्तर रहेको सम्झिँदै शाक्यले ०४२ सालमा इलाम जिल्लामा भारतीय सेनाले गरेको हस्तक्षेप विरुद्ध युवाहरुको जुलुसको समर्थनमा लेख्नुभएको कविता “रक्तक्रान्तिको ज्वालामुखीमा...” लाई नै संगीतकार तथा गायक रामेशले संगीतबद्ध गरेर पहिलो पटक गाउनुभएको पनि सम्झिनु हुन्छ । त्यसैबेलादेखि यो गीत निरन्तर नेपाली जनआन्दोलनको सर्वाधिक प्रिय गीत बनिरहेको निर्विवाद छ। 

पञ्चायती व्यवस्थाको अन्त्यतिर काठमाण्डौको प्रदर्शनी मार्गमा रहेको एक क्याम्पसमा प्रगतिशील साहित्यका सर्जकहरुको जमघटपूर्ण श्रृजना सुन्ने-सुनाउने “साहित्य सन्ध्या” मा सम्मानित अतिथिका रुपमा पुग्ने गर्नुभएका कविवर मिश्रलाई आयोजक संस्थाका सदस्यका रुपमा यस पङ्क्तिकारले २०४४ सालमा प्रगतिशील पत्रकार तथा सर्जकहरुको अर्को जमघटस्थल काठमाण्डौको ठमेलमा रहेकाे सम्झना प्रेसमा आयोजित “साहित्य सन्ध्या” मा पहिलो पटक देख्न पाएको हो ।

त्यहाँ उहाँलाई सुपुत्र अरुण प्रकाश मिश्रले साथमा लिएर आउनुभएको थियो । कविपुत्र र आफैँ पनि कवि अरुण प्रकाश मिश्र नेपाली मौलिक जडिबुटीबाट निर्मित खाद्य औषधीका बिक्रेताका रुपमा यसअघि नै परिचित हुनुहुन्थ्यो।

०४६ सालको संयुक्त जनआन्दोलनलाई सफल तुल्याउन देशभरिका प्रजातान्त्रिक व्यवस्थाप्रेमी परिवर्तनकामी लेखक साहित्यकार तथा संगीतकर्मीहरुले चैत्र ३ गते त्रिचन्द्र कलेजमा रहेकाे सरस्वती सदनको प्राङ्गणमा मुखमा कालो पट्टी बाँधेर धर्ना बस्नुभएको थियो । 

त्यस धर्नाको अग्रपंक्तिमा उपस्थित हुनुभएका कविवर मिश्र त्यसपछिका दिनमा पनि जनआन्दोलन पक्षधर लेखक तथा कलाकारहरुको केन्द्रमै रहनुभयो। संयुक्त जनआन्दोलनको सफलतापछि देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था सञ्चालनका लागि आम निर्वाचन हुन लागेको परिवेशमा देशका सम्पूर्ण प्रगतिशील लेखक, साहित्यकार तथा कलाकारहरूका तर्फबाट कविवर मिश्रलाई अभिनन्दन गर्ने निर्णय गरिएको थियो । त्यसका लागि संयोजकको भूमिका निर्वाह गरिरहनुभएका कवि त्रिरत्न शाक्यका अनुसार अभिनन्दन गर्ने तयारी चल्दाचल्दै उहाँको दुःखद् निधन हुनपुग्यो। 

कविवरको परिवारमा दुःखको लहरो नै थियो भन्न सकिन्छ । ८३ वर्षको उमेरमा काठमाण्डौको वीर अस्पतालमा देहत्याग गर्नुभएका कविवर मिश्र तात्कालिन प्रज्ञा प्रतिष्ठानलाई मन पराउनु हुन्नथ्यो । त्यसैले उहाँको शवलाई खुलामञ्चमा राखियो। त्यतिबेला कविवरका परिवारका लागि केही राहत होस् भनेर सहयोगस्वरुप आर्थिक सहयोग रकम जम्मा गरिएको थियो।

याे रकम खुलामञ्चमै हस्तान्तरण गर्न खोज्दा कविवर-पुत्र अरुणले “जनताको नासो रकमबाट कविवरकै स्मृतिका लागि केही होस्” भन्ने चाहना राख्नु भएअनुरुप सुरुमा “युद्धप्रसाद मिश्र पुरस्कार तथा प्रकाशन गुथि” र पछि “युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान” गठन गरियो । २०५८ असोज १० गते विधिवत् दर्ता गरिएको त्यसले आफ्नो उद्देश्य अनुरुप कार्य गर्दै आएको छ । 

कविवर मिश्रको पार्थिव शरीरलाई १२ बजेसम्म खुलामञ्चमा राखेर त्यहाँबाट पशुपति आर्यघाट लगेर दाह संस्कार गरियो । यहाँनिर मेरो मस्तिष्कमा प्रश्न उब्जियो उहाँको जन्मस्थल नजिकैको घाट समेत रहेको “चरखण्डी तीर्थ” किन लगिएन होला ? यो प्रश्न अहिले निरर्थक जस्तो लाग्न सक्दछ । तर युद्ध प्रसाद मिश्र र चरखण्डीको खोँचको ऐतिहासिक सम्बन्धमा व्यवहारिक पुष्ट्याइका लागि त्यसो गर्नु जरुरी थियो जस्तो लाग्छ । 

कविवरका परिवारमा दुःखको पहाड नै थियो । जेठा छोरा किरण प्रकाश मिश्र तात्कालिन पञ्चायती व्यवस्थामै राज्यको तर्फबाट बेपत्ता पारिएको थियो। माहिला अरुणकै काँधमा परिवारको सम्पूर्ण बोझ थियो । बुबाको स्वाभिमान विपरित उहाँले कुनै काम गर्नुभएन । 

०६५ साल माघ २ गते काठमाण्डौको विश्वभाषा क्याम्पसमा भैरहेको कविवर मिश्रकै स्मृति कार्यक्रममा धन्यवाद ज्ञापन गर्दागर्दै मञ्चमै ब्रेन ह्यामरेज भएर ढल्नुभएका अरुणलाई नजिकैको मोडेल अस्पताल हुँदै नर्भिक अस्पताल पुर्याएर अपरेशन गरियो । तर सफल नभएपछि माघ १६ गते उहाँको दुःखद् निधन हुन पुग्यो। यो पङ्क्ति लेख्दा लेख्दै पनि कविवरकी ज्येष्ठ पुत्री दिव्यवती मिश्रको ८४ वर्षको उमेरमा यही पौष २३ गते बिहीबार दुःखद् निधन भएको छ। 

यसरी आम जनपक्षीय क्रान्तिप्रिय कविको परिवारमा दुःखको एकपछि अर्को पहाड खसे पनि भक्तपुरको “चरखण्डीको खोँच” वरपरका बासिन्दाले अझै सम्झिरहेका छन । सिरुटार, सोमलिङ्गेश्वरमा रहेको “युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान” मा रेखदेख गरिरहनुभएका ज्येष्ठ नागरिक स्थानीयवासी सानुभाइ कार्की अझै ढलेको पिपलबोटनिर बसेर कविवरले कविता गर्नुभएको सम्झिरहनु भएको छ ।

उहाँकै रचनामाथि जनगायक तथा सङ्गीतकार रामेशको स्वरमा सुन्न सकिने “न्याय ढलेको ठाडो पार्न उभियो बबण्डर चर्को, पतनशील अनुहार प्रष्ट भो प्रतिगामीको धर्को...” वर्तमान समयमा झनै सान्दर्भिक रहेको छ।
 

अन्तिम अपडेट: माघ ९, २०७७

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया