दोरम्बा हत्याकाण्ड दरबारको निर्देशनमा भएको हो : प्रचण्ड

 साउन ३१, २०७५ बिहिबार १६:५४:५६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – १५ वर्षअघि (२०६० साल साउन ३२ गते)  भएको रामेछापको दोरम्बामा नरसंहार भएको थियो । आफ्ना पार्टीका कार्यकर्ताहरुको हत्या शाही नेपाली सेनाले नभई दरबारको ठाडो निर्देशनमा भएकाले दोरम्बा हत्याकाण्डलाई आफूले विशेष रुपले लिएको नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताउनुभएको छ ।

बिहीबार रामेछापको दोरम्बामा भएको १५ औं दोरम्बा हत्याकाण्ड स्मृतिसभा तथा शहिद परिवारका सदस्यहरुलाई सम्मान कार्यक्रममा प्रचण्डले दरबारलै नै यो काण्ड मच्चाएको बताउनुभयो । उहाँले सरकार र तत्कालीन माओवादीबीच दोश्रोपटक दाङको हापुरेमा वार्ता चलिरहेको बेला वार्ता विफल बनाएर आफूले नै देशको शासनसत्ता हातमा लिने उद्धेश्यले दरबारबाट नियोजित तरिकाले दोरम्बाको घटना घटाइएको बताउनुभयो । 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । त्यो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डले दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फाल्ने र देशमा गणतन्त्र ल्याउन सफल भएको बताउनुभयाे । तत्कालीन शाही नेपाली सेनाले आफ्ना कार्यकर्ताहरुलाई निर्ममतापूर्वक हात पछाडि बाँधेर मारिएको घटना स्मरण गर्दै शहीदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र र पार्टी एकीकरणमा रुपमान्तरण भएको भन्दै शहीद परिवारका सदस्यहरुलाई मन दरो पार्न समेत दाहालले अनुरोध गर्नुभयो ।  
 
दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीयस्थल बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘काभ्रे, रामेछापको बेथानको पानीघाट हुँदै दोरम्बा र काभ्रेको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्ने किसिमको पर्यटनको क्षेत्रमा काम गर्नको लागि तत्काल नै आवश्यक बजेटको व्यवस्थापन गर्न पहल गर्नेछु ।’

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले शहीद परिवारका बालबच्चा र सदस्यहरुको शिक्षा र स्वास्थ्यमा ध्यान दिने र द्वन्द्वमा मारिएका सबैको भरणपोषण सरकारले गर्नुपर्ने समेत बताउनुभयो । 
    
पीडितहरुले भने दोरम्बा हत्याकाण्डको १५ वर्ष बितिसक्दा समेत पीडितले न्याय नपाएको गुनासो गरेका छन् । पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहँदा त्यही पार्टीका नेतृत्वले भने न्याय दिलाउने आश्वासन दिलाएका छन् । तत्कालीन माओवादीका अध्यक्ष तथा अहिलेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायको लागि पहल गर्ने आश्वसान दिए पनि पीडितहरु भने विश्वस्त हुन सकेका छैनन् । 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति वार्ताको क्रममा दोरम्बामा नेपाली सेनाले निशस्त्र  माओवादी नेता कार्यकर्ता  तथा सर्वसाधारणको हत्या भएको थियो । दुई चरणमा अनुसन्धान गरिएको उक्त घटनामा नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रिय मानव अधिकार संस्था एमनेष्टी इन्टरनेसनलले पीडितलाई न्याय दिलाउने र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको थियो । तर सरकारले पीडितलाई न्याय नदिएको र पीडकलाई  उन्मुक्ति दिएको पीडित परिवारको गुनासो छ । 

दोरम्बा हत्यकाण्ड द्वन्द्वकालीन मुद्धा हो । द्वन्द्वकालीन घटनालाई निराकरण गर्नका लागि स्थापना गरेको सत्य निरुपण तथा बेपत्ता आयोगमा पीडित परिवारले २०७३ जेठ  २७ गते उजुरी दर्ता गरेका थिए । तर अहिलेसम्म पनि सत्य निरुपण तथा बेपत्ता आयोगले छानबिन गर्न नसक्दा झन् निराशा थपिएको संगीता योञ्जनले बताउनुभयो । योञ्जन दोरम्बामा मारिएका तत्कालीन माओवादी जनसरकार प्रमुख बाबुराम लामाकी छोरी हुनुहुन्छ । 

दोरम्बा घट्ना जस्तो गम्भीर मानवअधिकार उलंघनको घटनालाई आयोगले छुटटै रुपमा छानबिन गर्नुपर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चाका नेता टंकलाल घिसिङले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • कृष्ण शर्मा

    Aug. 17, 2018, 6:30 a.m.

    याे घटनामा दरवारकाे खटन हाे भन्ने प्रचण्ड पटक पटक प्रधानमन्त्री हुदा कीन मुखमा पीडालु हालेर बसेहाेलान ? अाज पनि उनका कार्यकर्ता बादलै गृहमन्त्रालयमा छन ।ती पिडकलाई सजाय गर्न र पिडीतलाई राहात दिन यीनकाे जाने के हाे ? यस्ताे भंडुवा रउडुवा चेत भएरै यीनकी श्रीमतीले गुहु र गाेवर चिन्न छाडीन अवकाे पालाे यीनै छवीलालकाे हाे छवी सुधार्न समय बाकी छ छवीलाल जी भुकेर हाेईन गरेरै देखाउन ठाउमा छदा गरेरै देखाउनु

  •  0 Reply
  • Niraj rajaure

    Aug. 17, 2018, 12:07 a.m.

    के तिमीहरुले गरेको चाहिँ निर्मम हत्या होइन ? तिमीहरु सबै किरा परेर मर्नेछौ/

  •  0 Reply

तपाईको प्रतिक्रिया