सडक निर्माणको काम अलपत्र छाडिँदा दुर्घटनाको जोखिम बढ्यो

 माघ ३, २०७७ शनिबार १३:०:२३ | सीताराम ओझा
unn.prixa.net

कैलाली : स्तरोन्नतीको काम चलिरहेको हुलाकी सडकखण्ड अन्तर्गत धनगढी उप–महानगरपालिकाको मनहेरामा निर्माणाधीन कल्भटमा बिहीबार बिहान जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी मृत भेटिनुभयो ।

कल्भटमा चौधरी सवार मोटरसाइकल समेत खसेको अवस्थामा भेटिएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । सो घटनाको अन्य कोणबाट समेत अनुसन्धान भइरहेको छ । तर अव्यवस्थित डाइभर्सन र ट्राफिक संकेतको अभावका कारण हुलाकी सडकखण्डमा पछिल्लो समय दुर्घटना बढेको स्थानीय आषिशराज जैशीले बताउनुभयो । 

‘निर्माणाधीन सडकमा साइनबोर्ड, ट्राफिक संकेत लगायतका चिन्हहरु छैनन्’ उहाँले भन्नुभयो, ‘निर्माण कम्पनी र योजना कार्यालयसँगै अन्य सरोकारवाला निकायको उदासिनताका कारण दुर्घटना समेत बढेको छ ।’ 

निर्माणाधीन हुलाकी सडकखण्डकै मनहेरामा गएको मंसिर २६ गते पनि मोटरसाइकल दुर्घटना भएको थियो । सडकमा राखिएका निर्माण सामाग्रीका कारण मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटनामा  दुई जना घाइते भए ।
हुलाकी सडक मात्र नभएर कैलालीमा निर्माणाधीन अवस्थामा रहेका अन्य सडकमा पनि लामो समयसम्म काम अलपत्र पार्ने प्रवृत्तिले दुर्घटना हुने क्रम बढेको छ । निर्माणाधीन सडकमा खतरा दर्शाउने ट्राफिक संकेतहरु नराखेका कारण दुर्घटना हुने जोखिम बढेको जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।

‘निर्माणाधीन सडकमा निर्माण कम्पनीले नै खतरा दर्शाउने चिन्हहरु राख्नुपर्छ तर यहाँ साइनबोर्ड, ट्राफिक संकेत केही पनि राखेको पाइँदैन’, कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले भन्नुभयो, ‘यस्तै ट्राफिक बत्ति पनि जडान नहुँदा रातिको समयमा झन् बढी दुर्घटाना हुने गरेको छ ।’

तर कानूनअनुसार ट्राफिक चिन्ह नराखिएको भन्दै ट्राफिक प्रहरीले सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता भने नगरेको आरोप लाग्ने गरेको छ ।  हुलाकी सडक कार्यालयले भने यात्रुको लापरबाहीका कारण दुर्घटना हुने गरेको जनाएकाे छ । 

‘दुर्घटना चालककै लापरबाहीका कारण भएको हो,’ हुलाकी सडक योजना कार्यालयका सूचना अधिकारी पदमबहादुर मडै भन्नुहुन्छ, ‘अहिले सडक निर्माणको काम समेत निरन्तर छ, कल्भटहरुमा विभिन्न चिन्हहरु पनि राखिएका छन् ।’

धनगढी उप–महानगरपालिकाको बहुवर्षिय योजना अन्तर्गत निर्माण भइरहेको पार्कमोडदेखि हसनपुर जोड्ने सडक पनि अलपत्र जस्तै भएको छ । निर्माण सुरु भएको लामो समय हँुदा पनि न कामले गति लिएको छ न सवारी चल्नसक्ने बाटो नै बनेको छ ।

त्यसैमाथि छिटो छरितो खोज्नेहरुले जबरजस्ती सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्दो छ । तर उप–महानगरपालिका ईन्जिनियर दिजराज भट्टले भने उक्त सडकखण्डमा काम निरन्तर भइरहे पनि पुरानो जिल्ला विकास समितिको कम्पाउण्ड सार्नुपर्ने भएकाले त्यस क्षेत्रमा मात्रै काम रोकिएको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया