महाेत्तरी : दिवा खाजाबापतको रकम प्रधानाध्यापकले व्यक्तिगत रूपमा खर्चिएकाे पाइयाे

 माघ १३, २०७७ मंगलबार १९:४६:५३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – गाैशाला नगरपालिका ११ मा रहेकाे नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय कालिपुरका प्रधानाध्यापक देवनारायण महतोले दिवा खाजाबापतको रकम व्यक्तिगत काममा खर्चिएको पाइएको छ ।

विद्यालयमा मङ्गलबार बसेको अभिभावकहरूको भेलामा यस्ताे खुलासा भएको हो । दिवा खाजाका लागि नगरपालिकाले उपलब्ध गराएको एक लाख ७६ हजार चार सय रुपैयाँमध्ये विद्यालयका प्रधानाध्यापक महतोले ८७ हजार रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरेको पाइएको हो ।

प्रधानाध्यापक महतोले त्याे रकम समितिलाई जानकारी नदिइकन व्यक्तिगत रूपमा खर्चिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रकुमार महतोले जानकारी दिनुभयो । विद्यालयमा हुँदै आएको आर्थिक कारोबारका सम्बन्धमा प्रधानाध्यापक महताेले कुनै सल्लाह नलिएको अध्यक्ष महतोले गुनासो गर्नुभयो । गएकाे वर्षको दिवा खाजाबापतको बाँकी रहेको ४४ हजार रुपैयाँलगायतका आर्थिक कारोबारको सम्बन्धमा आफूले बारम्बार रकम पारदर्शिताका लागि तकेदा गर्दासमेत प्रअले कुनै सुनुवाइ नगरिकन मनोमानी ढङ्गले विद्यालयमा आर्थिक कारोबार गरेको अध्यक्ष महतोले बताउनुभयाे ।

प्रधानाध्यापक महताेले दिवा खाजाबापत प्राप्त भएको रकममध्ये तीन जना शिक्षकलाई चार महिनाको तलब खुवाएको र बाँकी रहेकाे रकम आफू बिरामी हुँदा उपचारको लागि खाताबाट रकम निकालिएको प्रधानाध्यापक महतोले बताउनुभयो ।

पैसा फिर्ता गर्ने र आर्थिक पारदर्शिता गर्ने सहमति

सोमबार विद्यालयको खाताबाट पैसा निकालेको खबर पाएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूले विद्यालयमा तालाबन्दी गरि रकम पारदर्शिताको माग गरेका थिए। मङ्गलबार शिक्षा शाखाका पुरुषोतम अधिकारीको उपस्थितिमा भएका अभिभावक र प्रधानाध्यापकबीच लिखित रूपमा सहमति भएपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

प्रधानाध्यापक देवनारायण महतोले अबको एक हप्ताभित्र सबै रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता जनाउनुभएकाे छ । त्यस्तै महताेले यसै माघ मसान्तभित्र हिसाब–किताब पारदर्शी बनाउने लिखित रूपमा प्रतिबद्धता जनाउनुभयाे । 

श्रीमान्–श्रीमती नै खाताधारी

नेपाल बैंक लिमिटेड गौशाला शाखामा विद्यालयको नाममा रहेको खातामा प्रधानाध्यापक दम्पती नै खाताधारी रहेका  छन् । विद्यालयमा नाै जना शिक्षक कार्यरत रहे पनि विद्यालयको खातामा प्रधानाध्यापक देवनारायण महतो र उहाँकी श्रीमती रामदुलारी महतोको नाम छ ।

दुवै जनाको नाममा खाता रहेको र पैसा निकाल्नका लागि पनि दुवै जनाको सही चलेपछि मनोमानी ढङ्गले रकम निकालिएकाे बताइएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया