लामो समयपछिको वर्षा र हिमपातले हिउँदे कृषि बालीमा फाइदा, सबै ठाउँमा पानी नपर्दा किसान मर्कामा

 माघ २४, २०७७ शनिबार १०:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लामो समयको खडेरीपछिको वर्षा र हिमपातले हिउँदे बालीमा फाइदा पुर्याएको छ ।

देशको पश्चिमी तथा उच्च हिमाली भेगमा हिजो परेको हिउँ र पानीले हिउँदे बालीमा फाइदा पुर्याएको कृषिविद् हरिकृष्ण उप्रेतीले बताउनुभयो ।

मनाङ मुस्ताङसहित उच्च हिमाली क्षेत्रमा परेको हिउँ र पानीले त्यस ठाउँमा लगाइएको हिउँदे बाली र फलफूलमा फाइदा पुर्याएको कृषिविद् उप्रेतीको भनाइ छ ।

उहाँकाअनुसार अहिलेको वर्षाले मुख्यगरी हिउँदे बालीहरु गहुँ र जौका साथै फलफूललाई फाइदा पुर्याएको छ । त्यस्तै, उच्च पहाडी भेगमा फल्ने स्याउ, ओखरलाई चिस्यान र ठन्डापन चाहिने हुँदा लामो समयपछि परेको पानीले फाइदा पुगेको छ । तर, कृषि बालीका लागि हिजो परेको पानी पर्याप्त भने नभएको कृषिविद्हरुले बताएका छन् । देशको सबै ठाउँहरुमा पानी नपरेकाले पूर्वी तथा मध्यभागका किसान भने मर्कामा परेको कृषिविद् उप्रेतीले बताउनुभयो । 

कम मात्रामा वर्षा भएकाले कृषिबालीमा आवश्यक पर्ने पानीको मात्रा नपुगेको उहाँ बताउनुहुन्छ । कृषिबालीलाई फाइदा पुर्याउन देशभर अझै धेरै मात्रामा पानी पर्न आवस्यक रहेको उप्रेतीले बताउनुभयो । सामान्य बालीलाई फाइदा पुर्याए पनि बिरुवालाई चाहिने मात्रामा पानी नपरेको उहाँको भनाइ छ ।

कतिपय ठाउँका किसानले आकाशे पानीको भरमा खेती गर्ने हुँदा त्यस्ता किसान धेरै मर्कामा परेको छ । समयमा पानी नपर्दा अहिलेसम्म किसानले लगाएको १० देखि १५ प्रतिशत कृषि उत्पादनमा असर गरेको कृषिविद् उप्रेती बताउनुहुन्छ । अझै पर्याप्त पानी नपरे हिउँदेबालीमा अझै धेरै गिरावट आउन सक्ने उहाँको भनाइ छ ।

ढिलै भए पनि पानी परेपछि मनाङ, मुस्ताङसहित पश्चिमी क्षेत्रका किसान बाली सप्रने भन्दै उत्साहित भएका हन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया