रामेछापको उच्च लेकाली भूभागमा हिमपात, जनजीवन प्रभावित

 माघ २५, २०७७ आइतबार १३:३८:७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको उच्च लेकाली भूभागमा हिमपात परेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको जनजीवन प्रभावित भएको छ ।

जिल्लाको उच्च लेकाली भूभागमा शनिवारबाट हिमपात सुरु भएको हो । विगत वर्षहरुमा हिउँदमा समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्थ्याे । यसवर्ष भने ढिलो गरेर वर्षात र हिमपात भएको छ । रामेछापको उच्च लेकाली भूभाग उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, देउराली, चुचुरेलगायतको क्षेत्रमा हिमपात भएको छ ।

त्यसैगरी दोरम्बा गाउँपालिकाको गौश्वारा, डडुवाको शैलुङ र खोलाखर्क क्षेत्रमा भीषण मात्रामा हिमपात भएको हो । हिमपात भएसँगै त्यस क्षेत्रको जनजीवन प्रभावित भएको दोरम्बा गाउँपालिका वडा नं-१ डडुवाका दावा शेर्पाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे- 'गएको वर्षभन्दा यस वर्ष धेरै ढिलो गरी हिउँ पर्याे । अहिले शैलुङ क्षेत्रमा हिमपात भएसँगै हिउँमा खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।'

उच्च लेकाली भूभागमा वर्षातसँगै हिमपात भएपछि त्यस क्षेत्रमा रहेका चौरीगाईहरु अहिले बेँसी भूभागमा सारिएको छ । हिमपातका कारण चरन क्षेत्रसमेत प्रभावित भएको र अत्याधिक मात्रामा चिसो बढेकाले चौरीहरु बेँसीमा सारिएको त्यस क्षेत्रका चौँरीपालक किसानहरुले बताएका छन् । 

लेकाली भूभागमा वर्षात र हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेपछि त्यस क्षेत्रका सामुदायिक विद्यालयहरु समेत प्रभावित भएका छन् । अत्याधिक चिसोका कारण विद्यालयमा अध्ययनरत साना बालबालिकाहरु विद्यालयमा आउन छाडेका हुन् । चिसो बढी भएकाले जेष्ठ नागरिक, साना बालबालिका, सुत्केरी महिला र दीर्घरोगीहरु बढी मात्रामा प्रभावित भएको उमाकुण्ड गाउँपालिका वडा नं-१ गुम्देलका नोर्बु शेर्पाले जानकारी दिनुभयाे । 

चिसोबाट बच्न न्यानो कपडा लगाउने, घरबाट बाहिर ननिस्कने र झोलिलो तातो खानेकुरा खादा जेष्ठ नागरिक, सुत्केरी महिला र साना बालबालिकाहरुलाई चिसोबाट जोगाउन सकिने तामाकोशी अस्पतालका डा.केशव धामीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो- 'साना बालबालिका, जेष्ठ नागरिकहरु र दमका बिरामीहरुलाई बढी मात्रामा चिसोले असर पुर्याउने भएकाले चिसोबाट जोगिने उपायहरु अपनाउनु पर्छ।'

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया