द्रुतमार्गअन्तर्गत खोकनाको जग्गा विवाद मिलाउन सरकारले अधिग्रहणक...
माघ २६, २०८१ शनिबार
भक्तपुर – अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालको विस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनुभएको छ ।
भक्तपुरकाे चाँगुनारायण नगरपालिका १ दुवाकोटमा विस्तार गर्न लागिएको निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायबाट बाधा नहुने बताउनुभएको हो ।
उहाँले वीरसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताउनुभयो । आउँदाे ६ महिनाभित्रमा बिजुली, पानी तथा अत्यावश्यक सेवासमेत उपलब्ध हुने मन्त्री पाैडेलले बताउनुभयो । उहाँले सडक डिभिजन, विद्युत् प्राधिकरण, खानेपानी तथा अन्य निकायका सचिव तथा सम्बन्धित न्याम्स तथा वीरका पधाधिकारी तथा पालिका प्रमुखलाई पनि ६ महिनाभित्र प्रगति प्रतिवेदन पेस गर्न आग्रह गर्नुभएको थियो ।
अर्थमन्त्रीसँगै स्थलगत अवलोकनमा पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले वीर अस्पताल जस्तो ठूलो आयाेजनामा यथाशक्य छिटो काम थालनी गर्न आफूहरू दिलो ज्यान भएर लागेको बताउनुभयो । उहाँले दुवाकोटवासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गर्नुभयो । विस्तारित वीर अस्पतालको कामले छिटोभन्दा छिटो थालनी पाउने उहाँले बताउनुभयो ।
चाँगुनारायण नगरपालिका १ मा विस्तार हुन लागेको वीर अस्पतालका लागि सरकारले न्याम्सको नाममा पाँच सय ७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा रहेकाे ठाउँमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्था तथा ल्याबहरू बन्ने छन् । यसका लागि सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको भए पनि चिनियाँ कम्पनीले भने ढल, पानी, विद्युत्, बाटोलगायत कुनै पनि भौतिक पूर्वाधारविना आफूहरू काम गर्न नसक्ने भनी पन्छिएपछि एक वर्षदेखि काम थाँती रहेको थियो ।
स्थलगत अवलोकनमा अर्थ मन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्य मन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य सचिव, न्याम्सका उपकुलपति, चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय निकायका पदाधिकारी पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।