भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा उनकै छिमेकी र स्कुले साथीको संलग्नता रहेको पुष्टि भएको प्रहरीको दाबी छ । यो दाबी सत्य हो कि होइन, अदालतले निर्क्योल गर्दै जाला तर बलात्कारी आफ्नै छिमेकी, सहपाठी, चिनेजानेका र परिवारकै सदस्य तथा आफन्त नै हुन सक्छन् भन्ने कुरा यस घटनाबाट पनि स्थापित भएको छ । ‘बलात्कारीलाई कारबाही गर’ भन्दै ऊ नै सडकमा उफ्रिरहेको हुन सक्छ । भागरथी हत्या प्रकरणमा यही भयो । अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानमा भागरथीकै छिमेकी र एउटै स्कुलमा पढ्ने दिनेश भट्टले उनको बलात्कारपछि हत्या गरे । ‘हत्यारालाई कारबाही गर’ भन्दै अरुसँगै सङ्घर्षमा उत्रिए । घटनाको दुई हप्तासम्म उनलाई कसैले चिन्न सकेन । प्रहरीले लामो अनुसन्धानपछि उनको सक्कली रूप सार्वजनिक गर्याे ।
दुई परिवारबीच लामो समयदेखि रहेको विवादका कारण प्रतिशोध साँध्न उनले बलात्कार र हत्या गरेको प्रहरीको दाबी छ । यो घटनाले चिन्ता थपिएको छ– कतै तपाईँ हाम्रै काखमा र आसपास सम्भाव्य बलात्कारी हुर्किरहेका त छैनन् ? कतै तपाईँ हाम्रै छोरा बलात्कारी या बलात्कारी बन्ने बाटोमा त छैन ? कतै तपाईँ हाम्रै छोरीले निर्मला, भागरथीहरूको नियति भोग्नुपर्ने त हैन ? छोरीहरूको मनमा चिसो पसेको छ । केही आपराधिक मानसिकता भएका छोराहरूका कारण सबै छोराहरू लज्जित हुनुपरेको छ ।
छोरीलाई बलात्कृत हुन र मनमा डर जन्मनबाट जोगाउन बाबुआमा र परिवारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । छोरालाई बलात्कारी बन्न नदिने दायित्व पनि बाबुआमा र परिवारकै हो ।
नेपालमा बलात्कारीलाई फाँसी नै दिने व्यवस्था नभए पनि दोषीलाई कडा कारबाही गर्ने कानुन छ । कतिपय दोषीले कारबाही भोगिरहेका पनि छन् । तर कानुन र कारबाहीले मात्र यस्ता घटना कम हुन सकेका छैनन् । महिला अधिकारकर्मीलगायत विभिन्न सङ्घ–संस्थाले चलाएको अभियान पनि प्रभावकारी बन्न सकेको छैन ।
व्यक्ति, परिवार, समाज र राज्यले आफ्नो कर्तव्य र भूमिका त्यही ढङ्गले निभाउन नसकेसम्म यस्ता घटना कम हुने छाँट पनि देखिँदैन । एउटा पुरुषलाई बलात्कारी बन्न नदिन घरपरिवार, ऊ आफैँ, समाज र राज्यको भूमिका महत्त्वपूर्ण हुन्छ ।
समाजशास्त्रीहरूका भनाइ र प्रहरी अनुसन्धानअनुसार शिक्षा, चेतना र आर्थिक अवस्था कमजोर भएका पुरुषहरू बलात्कारका घटनामा संलग्न हुने गरेका छन् । यस्तै अश्लिल (पोर्नोग्राफी) पढ्ने तथा हेर्ने व्यक्तिले उत्तेजना मेट्ने सहज माध्यम पाएन भने सामाजिक मर्यादा तथा कानुनलाई समेत नजरअन्दाज गरी बलात्कार गर्न अग्रसर हुन्छ ।
पढेलेखेका र शिक्षित व्यक्तिबाट पनि बालिका र किशोरी यौनजन्य हिंसामा परेका छन् । माया गरेको निहुँमा बालिका र किशोरीलाई चिमोट्ने तथा चुम्बन गर्ने क्रियाकलाप अहिले जताततै छताछुल्ल भइरहेका छन् । यस्तै मानसिक विकार बढ्दै जाँदा बालिका र वृद्धासमेत बलात्कारमा पर्न सक्छन् ।
त्यसैले एउटा पुरुषलाई बलात्कारी बन्नबाट रोक्न दण्ड, सजाय मात्रै पर्याप्त छैन । उसलाई बाल्यकालदेखि नै शिक्षा, चेतना, आचरण र अनुशासन सिकाउन जरुरी छ । एउटा बालक परिपक्क नहुँदासम्म उसलाई रेखदेख र असल मार्गमा हिँडाउने पहिलो दायित्व बाबु, आमा र उसको परिवारका अरू सदस्यको हो । उचित शिक्षा, असल चालचलन र बानी व्यहोरा, अनुशासनलगायत असल चरित्र हुन आवश्यक पर्ने सबै कुरा बालकले आफ्नो परिवारबाट पाउनुपर्छ ।
त्यसपछि नैतिक शिक्षा र आचरणका थप पाठ उसले स्कुलमा सिक्छ । घरपरिवार र स्कुलले उसका हरेक गतिविधि नियाल्दै उसलाई शिक्षा र सही मार्ग निर्देशन दिने हो भने उसको मनमा खराब भावना जन्मन र फैलन पाउँदैन । एउटा पुरुषलाई भोलि बलात्कारी बन्न नदिन उसलाई बाल्यकालदेखि नै घरपरिवार र स्कुलले खेल्ने भूमिका महत्त्वपूर्ण हुन्छ ।
९/१० कक्षा पढ्न थालेदेखि किशोर–किशोरीमा हुने विपरीत लिङ्गीप्रतिको आकर्षण स्वाभाविक हो । यही स्वाभाविक आकर्षणकै कारण कुनै किशोर बलात्कारी बन्न सक्दैन । सानैदेखि परिवार र स्कुलबाट सही शिक्षा र आचरण सिकेको छ भने मनको आवेग र भावनालाई कसरी नियन्त्रण गर्नुपर्छ भन्ने उसलाई राम्रोसँग थाहा हुन्छ ।
असल चालचलन, अनुशासन र आचरण सिक्दै र व्यवहारमा ढाल्दै उच्च शिक्षा हासिल गरिसकेपछि उसको घरजम हुन्छ । कतै जागिर खान्छ या स्वरोजगार बन्छ । आफ्नो खुट्टामा आफैँ उभिनका लागि मेहनत गरिरहेको युवालाई अरू नकारात्मक कुरा सोच्ने फुर्सद पनि हुँदैन । छिमेकका र अरू ठाउँमा भेटिने चेलीबेटीलाई आदर र सम्मान गर्छ ।
जब व्यक्ति आफू असल चरित्रको हुन्छ र अरूलाई पनि असल चरित्रको बनाउन प्रेरित गर्छ भने समाजमा बलात्कारजस्ता आपराधिक क्रियाकलाप गर्न आँट कसैले पनि गर्न सक्दैन । पहिलो कुरा त सबै पुरुष शिक्षित, अनुशासित र रोजगार बन्नुपर्छ । अनुशासन र आचरण सिकाउने काम परिवार र समाजको हो । उसलाई रोजगारी दिने दायित्व राज्यको हो ।
अर्को कुरा सबै पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउन जरुरी छ । मनोवैज्ञानिक डाक्टर विलसनको भनाइ छ, ‘एक असल पुरुषले आफूलाई महिलाभन्दा उच्च छु भन्ने अहम् राख्दैन । महिलालाई यौन साधन ठान्दैन । ऊ विवाहित वा अविवाहित जस्तो भए पनि आफ्नो ऊर्जालाई समाजको विकास र भलाइका लागि सदुपयोग गर्छ । एक असल पुरुषले बलात्कारको कल्पना पनि गर्न सक्दैन ।’
मनोवैज्ञानिक डा. विलसनको यही भनाइअनुसारको सोचाइ भएका पुरुष भएको समाजमा बलात्कारका घटना हुन पाउँदैनन् । यसका लागि नागरिक शिक्षा, सामाजिक शिक्षा, यौन शिक्षा र मनोवैज्ञानिक परामर्श आवश्यक छ ।
यौन अनुशासनको पहिलो पाठशाला पुरुषको परिवार हो । परिवारले नै आफ्नो छोरोलाई बलात्कारी बन्न र छोरीलाई बलात्कृत हुनबाट जोगाउन सक्छ ।
हरेक बाबुआमाले आफ्नो छोरोलाई बलात्कारी बन्नबाट जोगाउने हो भने समाजमा बलात्कारजस्तो जघन्य र घृणित अपराध हुँदैन र दोहोरिँदैन । स्कुल र समाजको भूमिका त आफ्नो ठाउँमा महत्त्वपूर्ण छ नै, अधिकारकर्मीले पनि आफ्नो अभियानलाई परिवर्तन गर्नुपर्ने खाँचो छ ।
अपराधीलाई राजनीतिक संरक्षण हुनु हुँदैन भन्नेमा दुई मत छैन । तर अपराधी सिंहदरबारबाट निस्केर बलात्कार र हत्या गरेर फेरि सिंहदरबार नै फर्किँदैन । यस्ता अपराधी देख्दै डरलाग्दो, कुरुप र भिलेनजस्तो पनि हुँदैन । बलात्कारी स्वयं ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा लगाउँदै तपाईँ हामीसँगै सडकमा पनि हुन सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।