भ्रष्टाचारका सबै काण्ड छानबिन गर्न र महँगी नियन्त्रण गर्न सरकारस...
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताउनुभएको छ । शुक्रबार पाँचौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावका लागि आन्तरिक तयारी पूरा गरेको बताउनुभएको हो ।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरूको निधो गरिने उहाँको भनाइ छ । चुनाव सामग्रीहरूको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उहाँले बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको बताउनुभएको छ ।
चुनावमा सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले प्रयोग गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउँदो चुनावकाे सिलसिलामा पनि हामीले आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरि मतदानस्थल र मतदान केन्द्रहरूको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा चुनावका कार्यक्रम अगाडि बढ्नेछन् । हामीले यो वर्ष चुनावमा मिडिया क्षेत्रको भूमिका र विशेषतः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । चुनावका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामग्रीहरू तयार गरी अगाडि बढिराखेका छौँ ।’
चुनाव कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनु हुँदैन र चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । चुनाव खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि उहाँकाे भनाइ छ । आउँदाे चुनावलाई मितव्ययी बनाउनका लागि आयोग सचेत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनाव कुनै पनि किसिमको शक्ति, स्रोत, साधन र पहुँचबाट प्रभावित हुनु हुँदैन । चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्दछ भन्ने कुरामा निर्वाचन आयोग सधैँ नै अडिग रहेको छ ।
यसअनुसार प्रत्येक चुनाव अलि खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भीर रूपले ध्यानाकर्षण भएको छ । त्यसकारण हामी आउँदो चुनावमा आचारसंहिताको माध्यमबाट चुनावलाई कसरी मितव्ययी, कम खर्चिलो र प्रभावकारी ढङ्गले लान सकिन्छ भन्ने विषयमा सचेत छौँ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढङ्गले चुनाव सम्पन्न गराउने रहेको उल्लेख गर्दै चुनावसँग सम्बन्धित सङ्घ–संस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँले आउँदाे चुनावमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भइ आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वाससमेत व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरूले आम चुनावमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।