झारफुकका नाममा यातना दिएर ज्यान लिने दम्पती कारागार चलान

 फागुन ७, २०७७ शुक्रबार २०:१:२१ | जनार्दन घिमिरे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी – गुल्मीमा झारफुकको नाममा बिरामीलाई क्रुर यातना दिएर ज्यान लिने एक दम्पती पुर्पक्षका लागि कारागार चलान भएका छन् । गुल्मीको मालिका गाउँपालिका ६ अर्जे घर भइ तम्घासकाे रेसुङ्गा नगरपालिका २ जीप पार्कमा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय गुल्मीले उनीहरूलाई जन्मकैदको मागदाबीसहित गुल्मी जिल्ला अदालतमा अभियोगपत्र पेस गरेको थियो । गुल्मी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले शुक्रवार दुवै जनालाई पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा पठाउने आदेश दिएको गुल्मी जिल्ला अदालतका स्रेस्तेदार भीमप्रकाश भुसालले जानकारी दिनुभयाे । 

श्रेष्ठ दम्पतीले गएकाे पुस २८ गते राति झारपुकको नाममा रड, पाइप र झाँझर तताएर शरीरमा डाम्दा इस्मा गाउँपालिका ३ का ६४ वर्षीय रामबहादुर मुखियाको ज्यान गएको थियो । श्रेष्ठ दम्पतीले मुखियालाई झारफुक गरी निकाे बनाउने भन्दै चार दिनसम्म कोठामा राखेर फलामले शरीरभरि डाम्ने क्रममा यातना सहन नसकेपछि मुखियाको घटनास्थलमै ज्यान गएको थियो ।

त्यस घटनामा मृतकका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ की ४० वर्षीया टोपला दमाईसमेत घाइते भएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया