राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
नेपाली गीत-संगीत क्षेत्रका एक अग्लो उचाइ हुनुहुन्छ, वरिष्ठ संगीतकार सुरेश अधिकारी । विशेषगरी : सुगम संगीत र चलचित्र संगीतमा निकै रुचाइएका संगीतकार हुनुहुन्छ, उहाँ । सयौं गीतमा उहाँले संगीत भर्नुभएको छ । यसका साथै उहाँ गीत लेखन र गायनमा पनि सक्रिय हुनुहुन्छ । उहाँको ‘गीत-संगीत यात्रा’का विषयमा लमजुङका उज्यालो सहकर्मी श्यामशीतल परियारले कुराकानी गर्नुभएको छ ।
नेपाली संगीत यात्रामा निरन्तर लागिरहेको, संगीत क्षेत्रमा एउटा आफ्नो छुट्टै पहिचान बनाउन सफल तपाईँको बाल्यकाल चाहिँ कस्तो थियो ?
मेरो बाल्यकाल, जुन मध्यमवर्गीय नेपाली परिवेशमा हुर्केको एउटा बालकले जे व्यहाेर्छ, जे भोग्छ, मेरो पनि भोगाइ त्यस्तै हो । मेरो बाल्यकालको भोगाइ त्योभन्दा पृथक थिएन ।
कलिलै उमेर तर गीत-संगीतको भोकले पनौतीदेखि रत्नपार्कसम्मको बस यात्रालाई आज कसरी स्मरण गर्नुहुन्छ ?
त्यतिबेलाको समय एउटा आफ्नै रफ्तारमा थियो । तर मेरो बेग चाहिँ अलिकति बढी थियो । रेडियो नेपाल सिंहदरबारभित्र छ भन्ने रेडियो सुनेरै थाहा पाएको थिएँ । गीत संगीतप्रतिको तीव्र रुचिले बालकैमा बस चढेर रत्नपार्कसम्म पुगेर एउटा बालकले एकचोटी सिंहदरबारभित्र छिर्ने जुन आँट गर्यो ।
मेरो गीत-संगीतप्रतिको तीव्र रुचिले सानैमा मलाई रेडियो नेपालमा छिरायो । त्यतिबेला म रेडियो नेपालमा बाल कार्यक्रम सुन्थेँ । मेरा ‘जेनेरेशन’का अधिकांश स्रष्टा, सर्जक बाल कार्यक्रमबाट प्रभावित थिए भन्ने लाग्छ । म पनि थिएँ।
यो २०३९ सालको कुरा हो । सानैमा मैले बाल कार्यक्रममा भाग लिएर प्रतियोगितालाई जितेको पनि थिएँ । यसरी मेरो रत्नपार्कको यात्रा सिंहदरबारतिर मोडियो ।
गीत-संगीत क्षेत्रमा आज तपाईँको जुन किसिमको ‘हाइट’ छ, यो ठाउँसम्म आइपुग्नुमा तपाईँको संगीतप्रतिको अनुराग, निरन्तरको साधना र सङ्घर्ष त छँदैछ । यसमा रेडियो नेपालको पनि ठूलो भूमिका छ भन्ने तपाईँलाई महशुस हुन्छ?
पहिलो कुरा त त्यतिबेला हामीलाई कलाकार निर्माण गर्न न संगीतका विश्व-विद्यालय थियो न त पर्याप्त मात्रामा संगीतको चुरो सिकाउने गुरुहरु नै । यद्यपी गुरुहरुको निकै खाँचो छ, अहिले पनि । हुन त धेरै गुणी गुरुहरु यहाँ जन्मिसक्नुभएको छ । उहाँहरुले मात्रै एउटा नेपाली संगीतको तृष्णा बोक्ने युवा, बालकको मागलाई पूरा गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन ।
रेडियो नेपाल नै हाे हामीलाई समग्रमा संगीतप्रति आकर्षित गर्ने, सिक्ने, बुझ्ने र अवसर दिने र ‘प्लेटफर्म’ पनि रेडियो नेपाल नै थियो । त्यसकारण म मात्र होइन मेरा समकालीन धेरै स्रष्टाहरुको मातृ संस्था हो, रेडियो नेपाल ।
‘म मरेको पल...,’ ‘झरनाको चिसो पानी...,’ ‘एक धर्को सिन्दुर के हो र...’ लगायतका थुप्रै गीतमा तपाईँले आफ्नो सुमधुर आवाज भर्नुभएको छ । गायनसँगै गीत लेखनमा पनि यहाँको सक्रियता छ । तर यहाँ संगीतमा बढी क्रियाशिल देखिनुहुन्छ । संगीतको तुलनामा यहाँको गायन केही ओझेलमा परेको हो ?
खासमा म गायक बन्न आएको हो । किनभने मैले गायकहरु मात्रै नाम सुनेको थिएँ । ‘हाइलाइट’मा जो अगाडि आउनुहुन्थ्यो, उहाँहरु गायक नै हुनुहुन्थ्यो । प्रकृतिले पनि मलाई गाउन एउटा ‘योग्य स्वर’ दिएको थियो । तर पछि गएर मेरो तृष्णा अर्कोतिर मोडियो ।
जब मैले गोपाल योञ्जन दाइसँग भेट्ने अवसर पाएँ । उहाँ भर्खर निशानी ५२ एल्बमको तयारीमा हुनुहुन्थ्यो । संगीत शिक्षक भएर मैले काम गरिहेको अवस्थामा मैले उहाँलाई भेट्दा उहाँले मलाई भन्नुभएको थियो, ‘गायकीमा त्यतिधेरै जोड नगर्नुस् भाइ । हेर्नुस् तपाईंँ हामीजस्तो एउटा सिर्जनशील, एउटा सिर्जना गर्ने शक्ति भएको मान्छेले पनि गायनमै, अरुले बनाएको चीजलाई ‘प्रिजेन्टेसन’ गर्ने ‘प्रिजेन्टर’को रुपमा हामी सीमित भयौँ भने यो देशमा अलिकति सिर्जना गर्ने मान्छेको खडेरी हुन्छ ।’
सामान्यतया सबै संगीतकार गीत गाउन सक्छन् । कसैको अलिकति राम्रो होला । कतिको ‘स्वर’ र ‘टोन’ले नदेला तर ‘नर्मली’ संगीतकारहरुले हार्मोनियम समातेर ‘कम्पोज’ गर्नेहरुले गीत गाउन सक्छन् । गाउने मान्छेहरु धेरै हुन्छन् । सबै गायकले सबै सिर्जना गर्न सक्ने क्षमता राख्दैनन् भन्ने उहाँको भनाइलाई म गुरुवाक्य नै सम्झन्छु ।
त्यसैले मैले गायनलाई कम गर्दै लगेँ । सिर्जना कार्यलाई बढाउँदै लगेँ । गीत लेखन र संगीतलाई अघि बढाउँदै लगेँ । मेरो ‘नेचर’ पनि सिर्जना कर्मसँग नै सुहाउँछ भनेर यसैमा मैले ध्यान केन्द्रीत गरेँ । ध्यान दिएँ ।
अब प्रसङ्ग बदलौँ, तपाईँले थुप्रै चलचित्रका चर्चित गीतमा संगीत भर्नुभएको छ, सुगम संगीतमा छँदैछ । सुगम संगीत र चलचित्र संगीतमा संगीत भर्दाको फरक चाहिँ के हुने रहेछ ?
मैले जहिले भन्ने गरेको छु सुगम संगीत एउटा खुला आकाशको उडान हो । चलचित्र संगीतको उडान पिँजडाभित्रको उडान हो । पखेटा त पिँजडाभित्र पनि हुन्छ । तर त्यो चराले पिँजडाभित्र ‘स्वच्छन्द’ भएर उड्न आकाश पाउँदैन ।
चलचित्र संगीतमा जहाँ तपाईंँलाई कथा दिइसकिन्छ । राम्रो गर्ने असीमित सम्भावनामा एउटा रेखा लागिसकेको हुन्छ ।
तपाईंँले एउटा पटकथा, परिवेशको, पात्रको दायरामा रहेर गीत बनाउनु, कम्पोज गर्नु र एउटा खुला आकाश, स्वतन्त्र आकाशमा बसेर कल्पनातीत उडान भर्नुमा फरक छ ।
तपाईँहरुको बाटो पछ्याउँदै, सिको गर्दै विशेषगरी : सुगम संगीत, चलचित्र संगीत र पाश्र्व गायनमा भविष्य खोज्नेहरु धेरै हुन सक्छन् । त्यो सम्भावना कस्तो छ ? उहाँहरुलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ ?
चलचित्र संगीतमा ‘रियल मिनिङ’मा त्यति धेरै ठूलो भविष्य देख्दिनँ म । र अर्को कुरा त्यति चलचित्र संगीत बुझेर संगीतकारहरु लागेका छन् भन्ने लाग्दैन । मलाई लाग्छ, चलचित्रको गीत भनेको त्यो कथाकै एउटा अंग हो । चलचित्रका गीतहरुलाई निकाल्यो भने चलचित्र नै नबुझिने गरेर एउटा त्यसको अंग नै भत्किने गरी हामीले गीत बनाउन सकेको चाहिँ मैलै नेपाली चलचित्र अभ्यासमा अलि कम देखेको छु ।
जसरी संगीतमार्फत कथा भनिन्छ ‘स्टोरी टेलिङ’ । ‘स्टोरी टेलिङ’मा भन्दा पनि एउटा आकर्षण थप्ने, मसलाको रुपमा मात्रै चलचित्रको गीत-संगीतको प्रयोग भएको हुनाले वास्तवमा ‘चलचित्र संगीत’ किन चाहियो त ? संसारको ‘ओष्कार नोमिनेशन’मा जाने, संसारका ‘ओष्कार अवार्ड’हरु जित्ने चलचित्रहरु त नेपाली चलचित्र होइनन् । त्यसमा त संगीत त छैन ।
तर पनि एउटा पूर्वीय चलचित्र, जो हाम्रो चलचित्र क्षेत्र भारतीय चलचित्रको ‘बेस’मा, त्यसैको मार्गचित्रमा हिँडिरहेको छ । त्यसैलाई ‘आइडल इन्डष्ट्रि’ मानेर बगिरहेको छ । भारतीय गीतकार, संगीतकारले गीतलाई चलचित्रको अंग बनाउन जसरी मेहेनत गर्छन् । त्यो किसिमको चलन नेपालमा छैन ।
व्यापारिक उद्देश्यका लागि गीत ‘हिट’ भयो भने चलचित्रको नाम पनि ‘हिट’ हुन्छ । केही भएन भने पनि आकर्षणको रुपमा एक हप्ता गीत सुन्ने श्रोताले हलमा उपस्थित देखाइदिए भने पनि ‘हामी चाहिँ नाफामा जान्छौँ’ भन्ने एउटा कोरा सोचबाट मात्रै यो गीत बनाउने प्रचलन निर्देशित छ, जस्तो लाग्छ मलाई नेपालमा । यसको अपरिहार्यता हामीले कायम गरेर जान सकेका छैनौँ । भोलिका दिनमा ‘चलचित्रमा गीत-संगीत नभए पनि हुन्छ’ भन्ने मान्यता पनि आउन सक्छ ।
तर एउटा संगीत क्षेत्रमा आउनु भनेको चलचित्रको लागि मात्रै आउनु होइन । संगीत क्षेत्रमा साधना गर्नु भनेको चलचित्रको लागि मात्रै पनि होइन । संगीत आफैँमा पूर्ण विधा हो । यदि हामीले संगीतलाई आफ्नो साधना, कर्म मान्छौँ भने हामी संगीतमा गहिरिएर जान सकिन्छ । संगीतमा भविष्य जहिले पनि छ । हिजो पनि थियो, आज पनि छ भोलि पनि हुन्छ ।
र अन्त्यमा, चलचित्रकै कुरा गर्ने हो भने पनि पछिल्लो समय नेपाली चलचित्रमा लोकलयमा आधारित गीत-संगीत समावेश गर्ने ‘ट्रेन्ड’ बढ्दो देखिन्छ । संगीत क्षेत्रको निखारिएको, तिखारिएको व्यक्तित्व हुनुहुन्छ यहाँ आफैँमा । यहाँका सिर्जनामा पनि यस्तो भाव पाइन्छ । तपाईँले भने लोकगीत संगीत क्षेत्रलाई कसरी हेर्नुहुन्छ ?
‘लोक’ भन्ने बित्तिक्कै हाम्रो समाज भन्ने बुझ्नुपर्यो हामीले । हाम्रो समाज, हाम्रो मानवीय एउटा पक्ष, हामीले सोच्ने हाम्रो संवेदनशीलता मात्र होइन की हाम्रो व्यावहारिकता पनि हो । वास्तवमा नेपालीहरुले जति पनि मन पराएका नेपाली चलचित्रहरु छन् । तिनको कथा, परिवेश पनि लोक कथा, परिवेश नै हो ।
लोकसँग ‘आत्मसाथ’ गरेर जान सकेका कथाहरु ‘हिट’ भएका छन् । आयातित, परिकल्पनामा मात्रै सीमित कथावस्तु नेपाली दर्शक-श्रोताले रुचाउँदैनन् । आफ्नै माटोसँग ‘रिलेटेड्’ भएको हुनाले पनि लोकशैलीका गीतहरु नेपाली चलचित्रमा अलिक बढी नै रुचाउनुभएको छ, नेपाली दर्शकहरुले ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।