भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
नजिकै उभिएका माधव नेपाललाई सकीनसकी उचालेर प्रचण्डले एक फन्को घुमाएपछि भने ‘हाहा, हुर्रे, खुच्चिङ, देखिस्, आहा, लौजा.....बल्ल भनेजस्तो भयो !
‘ए ए...के गरेको काम्रेड ? पख्नुस् पख्नुस् । ल तपाईंलाई पनि बधाई छ, मुख मिठा गरौं’ प्रचण्डको घुमाइको ताल नमिलेर झण्डै पछारिएका नेपालले जसोतसो खुट्टा टेकेर कोट मिलाए, अनि हतार हतार प्रचण्डको मुखमा लड्डु हालेर भने ‘हामी दुवैलाई बधाई छ ।‘
‘ल तपाईंलाई पनि अर्को लड्डु’ नजिकै रहेका कार्यकर्ताको हातबाट लड्डु मागेर प्रचण्डले माधव नेपाललाई अर्को लड्डु पनि खुवाइदिए ।
‘हैन भन्नेबित्तिकै कहाँबाट आयो फेरि अर्को लड्डु ?’ छक्क परेर कार्यकर्ताले माधव र प्रचण्डको मुखतिर हेरे ।
दुवै नेताको साटो यो पालि एक सफाचट दाह्रीवाला कार्यकर्ताले जवाफ दियो ‘उहाँहरु भर्खरै बुढानीलकण्ठबाट आउनु भाको हो । देउवाका दुवै हातमा लड्डु भनेको थाहा थिएन ! दुवै हात लड्डुको भारले थिचिएर हल न चल भएपछि लड्डु दुवैतिर बाँडेछन् । देउवाले एउटा हातको लड्डु माधव र प्रचण्डलाई अनि अर्को हातको लड्डु ओलीलाई दिएछन् ।’
‘हो र ! तेसो भा राम्रो, किनकि देउवाका दुवै हातका लड्डु फेरि नेकपाका नेताकै मुखमा पुगे, देउवाको हात फेरि पनि रित्तै !’ एउटा कार्यकर्ताले खुसीले गद्गद् हुँदै प्रतिकृया दियो ।
कार्यकर्ताको प्रतिकृया सुनेपछि प्रचण्डको मन र कुम एकसाथ हल्लियो । भने ‘ठिकै भयो त । आहा कति मिठो ! अब त मिठैमिठो खाने दिन आयो । हामी यहाँ छौं भन्दै माइतीघरतिर डुल्नु पनि परेन । सिधै माइतीघरबाट सिंहदरबार छिर्ने हो’ प्रचण्ड खुसीले झण्डै बुरुक्क उफ्रिए ।
‘तपाईंले त प्रधानमन्त्री बन्दिनँ भन्नुभएको छ, कहाँ त्यसै बुरुकबुरुक गर्न पाइन्छ’ माधव नेपालले सम्झाए ।
‘ए हो क्यारे, तपाईंले पनि पदको लागि आन्दोलन गरेको होइन भनेर भाषण गर्नुभएको हो नि, त्यसैले तपाईं पनि बढ्ता उफ्रन पाउनुहुन्न’ प्रचण्डले पनि सचेत गराए ।
‘हुन्छ हुन्छ एकपटक ओलीलाई हेरौं न के गर्दैछन् ? बिहानैदेखि केक काटेर जन्मदिन मनाउँदै थिए । केक पनि तीतो भयो होला’ अट्टहास गर्दै नेपालले टेलिभिजन खोले ।
‘हैन यिनी त उस्तै पो छन् । के अहिलेसम्म सुनेका छैनन् सर्वोच्चको फैसला ?’ टेलिभिजन हेर्दै प्रचण्डले आश्चर्य माने ?
‘किन सुन्दैन थिए, साह्रै ज्याद्रा पो छन् त । तपाईंले के चिन्नुभएको छैन यिनलाई मैले जति’ माधव नेपालले भने ।
‘मैले पनि धेरै चिनिसकेको छु, यो मान्छेलाई सितिमिति कसैले सक्दैन । मैले त सकिनँ, अरुको के कुरा ? सर्वोच्चको आदेशपछि पनि उस्तै छन्’ प्रचण्डले टाउको कन्याए ।
‘जे होस्, अब यिनलाई छाड्न हुँदैन’ नेपालले भने ।
‘के गर्ने त ? लड्डु त मिलेर खाइयो, प्रधानमन्त्री कसरी खाने ?’ प्रचण्डले सोधे ।
‘मिलेरै खाने नि’ नेपालले मुख मिठ्याए ।
‘कसरी मिल्ने त ?’ प्रचण्डले सोधे ।
‘आलोपालो गर्ने’ नेपालले फ्याट्टै भने ।
‘हुँदैन, आलोपालोको त म नाम नै सुन्न सक्दिनँ’ प्रचण्डले विगत सम्झिए ।
‘त्यसो भए के गर्ने त ?’
‘ओलीको राजीनामा माग्ने ।’
‘खै दिँदैनन्, कसरी माग्ने ?’
‘नैतिकताको आधारमा राजीनामा दे भन्ने नि ?’
‘तपाईं र मैले नैतिकताको कुरा गर्दा नैतिकता भन्ने चिजले नै लाज नमान्ला र ? तपाईं दुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री भएको । अध्यक्ष हारेर पनि अध्यक्षको टीका लगाएको । मलाई पनि बत्ती निभाएर चुनाव जितेको, मतपत्र च्यातेर छोरीलाई मेयर बनाएको आरोप छ । हाम्रै नारायणकाजी चुनाव हारेर पनि राष्ट्रियसभाको सदस्य छन् । नैतिकताको कुरा चाहिँ नउठाउँ होला काम्रेड, आफैंलाई अप्ठ्यारो पर्छ’ प्रचण्डले वास्तविकता प्रष्ट्याए ।
‘त्यसो भए के गर्ने त ?’
‘देउवासँग गुहार माग्ने ।’
‘चुनावमा मतदाताले भोट त देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिएका होइनन् नि ।’
‘त्यसो त तपाईं र मलाई प्रधानमन्त्री बनाउन पनि त दिएका होइनन् नि । अहिले पनि ओलीको विकल्पमा माधव नेपाल र प्रचण्ड त हुँदै हुँदैन भन्छन् हाम्रै मान्छेहरु ।’
‘के गर्ने त ? ओलीलाई नै दिने ?’
‘ओलीलाई त कुनै हालतमा पनि नदिने ।’
‘ओलीलाई कसरी हटाउने त ?’
‘एकपटक देउवाजीलाई सोधौँ ।’
‘देउवा त पटक्कै मान्दैनन् । फुटेर आउ पो भन्छन् ।’
‘हामी किन फुट्ने ? हामी बहुमतवाला मूल पार्टी ।’
‘तपाईं र मैले मात्र भनेर नहुने । राजेन्द्र महतोले समेत तपाईंहरुको पार्टी कुन हो भनेर सोधे, लाजै मर्नु भइसक्यो ।’
‘के गर्ने त ? ओलीले छोड्दै छोड्दैनन् । उनलाई हटाउन कि जुट्नुपर्छ, कि फुट्नुपर्छ । न जुट्न सकिन्छ, न फुट्न । त्यो १९ पन्ने कागज ता भालुको कम्पट समातेजस्तो पो भयो त कम्रेड ।’
‘एकपटक ओलीलाई भेटौँ ।’
‘कुन मुखले भेट्ने, भन्नु नभन्नू सबैथोक भनियो । अब त लोप्पा खुवाएर पठाउँछन् ।’
‘तिनले चाहिँ बाँकी राखेका थिए र भन्नलाई । जे भए पनि अब तिनलाई चाहिँ नभेट्ने ।’
‘अब के गर्ने त ? त्यसो भए निर्वाचन आयोग जाने ।’
‘हैन एकपटक फेरि देउवाकोमा जाने ।’
‘त्योभन्दा पहिले बाबुराम भट्टराई दिल्लीबाट फर्कने बेलासम्म पर्खने कि ।’
‘फेरि राजेन्द्र महतोलाई पार्टीको नाम सुनाउन जाने ।’
‘एकपटक पशुपतिकोमा जाने ।’
‘हैन तपाईं मेरोमा जाने, म तपाईँकोमा जाने ।’
‘लौ सकिएन थाकियो, कि चुनावमै जाने ?’
केही गर्न खोज्यो केही नहुने र नमिल्ने कस्तो भाउँतो आइलाग्यो गाँठे माधव र प्रचण्डलाई ।
अदालतले जिताएपछि दुवै नेताले मुख मिठ्याएर लड्डु खाएको चार दिन भइसक्यो । तर न जाने ठाउँ छ, न भन्ने कुरा छ । ओली बसेको कुर्सी हेरेर देउवा रमाउन थालिसके, तर माधव नेपाल र प्रचण्ड कुर्सी हेर्ने, थुक निल्ने र उदास आँखाले एक अर्काका झोक्राएका अनुहार हेरेर ताल न सुरमा आफ्नै जमानाको गीत गाइरहेछन् “के सोचेँ मैले, के भयो अहिले ..........!''
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
बिक्रम श्रेष्ठ
Feb. 27, 2021, 3:59 p.m.यो लेख पढदा सुपर-हिट कामेडी सिनेमा हेरेजस्तो लागो😂😂😂😂 सारै काडा😂😂
Gm
Feb. 27, 2021, 11:44 a.m.Part 2 please