सकिँदै जाडोयाम : यसपालि वर्षा कम, प्रदूषण बढी

 फागुन १६, २०७७ आइतबार ७:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसपालिको जाडोयाम आजदेखि बिदा हुँदैछ ।

डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ । 

‘जाडोमा पश्चिमी वायुको प्रभावले ल्याएको प्रणालीले वर्षा हुने गर्छ तर यसपालि पानी पार्ने गरी प्रणाली भित्रिन सकेन’ वरिष्ठ मौसमविद् वरुण पौडेलले भन्नुभयो : ‘पश्चिमी वायु नेपाल प्रवेश नगरेको पनि होइन, पाँच/छ पटकसम्म भित्रियो । तर पानी पार्ने शक्तिशाली प्रणाली भने भित्रिन सकेन । जसका कारण यो हिउँदमा औसतभन्दा निकै कम वर्षा भयो ।’ 

सुदूरपश्चिममा दुई पटक हिमपात, काठमाण्डौमा न्यून वर्षा

यसपालि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी र सुदूरपश्चिमी क्षेत्रका केही ठाउँमा दुई/तीन पटकसम्म पानी परे पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेन । काठमाण्डौमा हिउँद महिनाभरि जम्मा एक पटक मात्रै पानी पर्यो । 

यही महिनाको सुरुवाततिर काठमाण्डौ उपत्यकाका केही ठाउँमा जमिन भिज्ने गरी पानी परेको थियो । अन्य केही क्षेत्रमा भने वर्षा हुन सकेन । यसअघि गएको पुस महिनामा फाट्टफुट्ट मात्रै पानी परेको थियो । ‘सामान्यतया हिउँदयाममा काठमाण्डौमा १८ दशमलव सात मिलीमिटर पानी पर्नु पर्थ्यो’ वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो- ‘यसपालि मात्रै १ दशमलव ३ मिलीमिटर पानी परेको छ ।’ 

काठमाण्डौ उपत्यकामा मात्रै होइन यसपालिको हिउँद महिनामा देशभर नै पर्याप्त पानी पर्न सकेन । यस्तै, यसपालि हिमपात पनि राम्रोसँग हुन पाएन । हिउँदयामभरि जम्मा दुई पटक मात्रै हिमपात भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

पर्याप्त वर्षा र हिमपात नहुँदा यसपालि हिउँदे कृषि बालीमा समेत नोक्सानी भएको छ । हिमाली क्षेत्रमा पाइने जडिबुटीको उत्पादनमा समेत कमी आएको छ ।

सुख्खासँगै प्रदूषण बढ्यो

वर्षा र हिमपात नहुँदा यसपालि देशका धेरै ठाउँमा सुख्खापन र प्रदूषण बढेको छ ।

सुख्खापनकै कारण यसपालिको हिउँदमा आगलागीका धेरै घटना भएका सरकारी तथ्याङ्क छ । पानी नपर्दा प्रदूषण पनि ह्वात्तै बढेको थियो । काठमाण्डौ उपत्यकामा दुई दिन त प्रदूषणका कारण आँखा पोल्ने समस्या नै देखिएको थियो भने केही बिरामीसमेत परेका थिए । 

धुलोधुवाँका कारण वायु प्रदूषण झन्झन् बढ्दै गएको छ । वायुमण्डलमा धुलोको कण जम्मा हुँदा यसपालिको हिउँदमा तुवाँलो लाग्ने क्रम भने बढेको छ । पोहोर परारको तुलनामा यसपालि लगातार जस्तो तुवाँलो लागेको मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार पर्याप्त पानी नपर्दा यसपालि लगातारजसो बाक्लो हुस्सु र कुहिरो पनि लागिरह्यो । विशेषगरी यसबाट तराईका जिल्ला धेरै प्रभावित भए । बाक्लो हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा प्राय आन्तरिक उडान प्रभावित भइरह्यो  । 

प्रि-मनसुन सुरु हुँदै

जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि-मनसुनका गतिविधि सुरु हने मौसमविद्ले बताएका छन् ।

बिहान बेलुका केही चिसो भए पनि अब हट्ने मौसमविद्ले बताएका छन् । अबदेखि बेलुकाको समयमा हावाहुरी चल्ने र मेघगर्जन हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यसपालि जमिन धेरै सुख्खा भएकाले आउँदा दिनमा आगलागीका घटना अझै बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया