गीत, गजलमा नसमेटिएको ‘फुपै’ र ‘जेठी’ को प्रीत !

 फागुन २७, २०७७ बिहिबार ९:३२:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

दैलेख -

के माया लाग्छ र ? 
उखुम्मै लाग्छ नि ।।
मेरो याद आउँछ र ? 
हुरहुरी आउँछ नि ।।
के लैजान्छौ सँगैमा ? 
गुटुङटुङटुङ भगाइ ।।
राख्छौ कि त सँगैमा ? 
पाखुरीमा समाइ ।। 

हर्क साउदले लेखेको अनि निशान भट्टराई र एलिना चाैहानले गाएको यो गीत सुनेपछि धेरै प्रेमी र प्रेमिकालाई लाग्छ– यो मेरै लागि लेखिएको हो । आफ्नो कथा, व्यथा र भोगाइमा मेल खाने यस्तै गीत, गजल र कविताले अरूलाई पनि हुरुक्कै बनाउँछ । मनभित्र यादको हुरहुरी चल्छ । मन परेको मान्छे छेउ गुटुङटुङ पुगेर पाखुरा समाउँ, अङ्गालो मारौँ, छेउमै बसेर पेटभरि बात मारौँ, कहिल्यै नछुट्टिउँ जस्तो लाग्छ ।
माया प्रेमको भाका, मिलन–बिछोडको कथा र सम्झना–बिर्सनाका तरेली समेटिएका यस्ता गीत, सङ्गीत र साहित्य धेरै छन् । तर यस्ता गीत र साहित्यमा प्रेम र बिछोडमा डुबेका किशोर–किशोरी र उथलपुथल सम्बन्ध भोगेका श्रीमान्–श्रीमतीका कथा, व्यथा र भोगाइमात्र समेटिएको हुन्छ । 

दैलेख नौमूलेकी खगिसरा बुचा र चन्दा बुचाको माया र सम्बन्ध देख्दा लाग्छ, सासु–बुहारीको असल सम्बन्धबारे आजसम्म कसैले कविता र गजल लेख्ने मेसो पाएको छैन । गीत लेख्नेले यस्तो पनि प्रीत हुने रहेछ भनेर ठम्याउनै सकेको छैन । उपन्यास लेख्नेले यस्तो सम्बन्ध देखेजानेकै छैन । कथा, कविता, गजल र उपन्यासका हरफमा नभेटिने साँचो र सच्चा प्रीत छ, खगिसरा र चन्दाको ।

नाकको देब्रेतिर ठूलो फुली । माथ्लो ओठसम्म तुन्द्रुङ्ग झुण्डिएको उस्तै अर्को बुलाकी । चाउरिएको गाला, सेतै फुलेका कपाल । झण्डै उस्तै–उस्तै देखिने ७५ वर्षकी चन्दा​ बुचा र ५७ वर्षकी खगिसरा बुचा सासू–बुहारी हुन् भन्ने पत्यार नै लाग्दैन । तर झट्ट देख्नेले नपत्याएर के गर्नु, उनीहरू सासू–बुहारी हुन् । 

सासू चन्दा नौमूले बजारभन्दा माथि डाँडामा माइलो छोरासँग बस्नुहुन्छ । जेठो छोराको घर खोलापारि गुराँसे डाँडामा पर्छ । जेठो छोराको घर जाने बाटोमै अलि तल पर्छ छोरीको घर । 

सबै छोराछोरी र नातिनातिनासँगै बस्ने रहर नभएको कहाँ हो र ? तर बाध्यता र परिस्थितिले टाढा बस्नुपर्‍याे । भन्छन् नि– जति टाढा, उति माया गाढा । त्यसैले त चन्दालाई आफ्नो साथमा नभएका छोराबुहारी, छोरी र नातिनातिनाको यादले निकै सताउँछ । कहिले भेटौँ, दुःख–सुखका कुरा गरौँ, नातिनातिनीलाई मायाले सुम्सुम्याउँ भनेर छटपटी हुन्छ । 

तर बूढी आमाको रहर र छटपटी मेट्न छोराबुहारी सधैँ भेट्न आउन भ्याउँदैनन् । सबैका घरघरमा पुगेर नियास्रो मेट्न आफू जान सकिँदैन । दुई पाइला चाल्न नपाउँदै स्याँ–स्याँ हुन्छ । हातखुट्टा फत्याकफुतुक गल्छन् । उकाली–ओराली त झन् हिँड्नै हुँदैन । मन तिनै छोराछोरीसँग भए पनि तन टाढा राख्नुपर्ने बाध्यता छ ।

मन पुगेको ठाउँमा तन पनि सँगै पुर्‍याउन पाए कस्तो हुन्थ्यो होला ? आँगनको डिलमा बसेर चन्दा आफ्नै मनसँग प्रश्न गर्नुहुन्छ । मनसँग तन डुलाउन नपाएकोमा खुइय सुस्केरा हाल्नुहुन्छ । कहिले भित्र पस्नुहुन्छ, कहिले बाहिर निस्कनुहुन्छ । टाढा रहेका छोराबुहारी र नातिनातिना सम्झेर दिन कटाउनुहुन्छ । 

यादले निकै सताउन थालेपछि चन्दा बेलाबेला आफ्नो यो दैनिकीलाई क्रम भङ्ग गर्न खोज्नुहुन्छ । खुट्टाले भर नदिए पनि, ज्यानले साथ नदिए पनि, मन पुगेको ठाउँमा सकीनसकी पुग्न बल गर्नुहुन्छ । यही बलले यसपालि छोरीको घरसम्म डोर्‍यायाे ।  

बिहानै जुठो मुख गरेपछि पिठ्युँमा कोसेलीको सानो पोको बोक्नुभयो । दाहिने हातले लौरो समाउनुभयो । लौरो टेक्दै ओरालो झर्नुभयो ।

माथि घरबाट नौमूले बजार झर्न र त्यसपछि दुई घण्टा उकालो चढेर छोरीको घरमा पुग्न दिनभर लाग्यो । साँझ घाम डुब्ने बेला छोरीको घरको पिँढीमा बसेर खुइय सुस्केरा हाल्नुभयो । धेरैपछि छोरीलाई देखेर दिनभरि हिँडेको थकाइ मेटियो । 

भोलिपल्ट उठेर माथि गुराँसे डाँडामा रहेको जेठो छोराको घरमा जाने मन थियो तर अघिल्लो दिनको थकाइले उहाँलाई पाइला सार्ने आँट नै आएन । त्यहाँबाट जेठो छोराको घर पुग्न तीन घण्टाभन्दा बढी उकालो चढ्नुपर्छ । जाउँ आँट आउँदैन, नजाउँ जेठोका परिवारलाई नभेटेसम्म आँत भरिंँदैन । त्यसमाथि किन–किन जेठी बुहारीको यादले धेरै सताउँछ । के गरौँ, कसो गरौँ भनेर छटपटी भइरहँदा दिउँसो टुप्लुक्क जेठी बुहारी खगिसरा छोरीकै घरमा आइपुगिन् ।

‘फुपै ढोग गरेँ, तपाईँ आउनुभएको छ भनेर सुनेर झरेकी नि’ कसरी भेटौँ भनेको मान्छेलाई आँखै अघिल्तिर देख्नेबित्तिकै चन्दाको मुहार उज्यालो भयो । बेचैनी र छटपटी शान्त भयो । खगिसरा सासूआमालाई फुपै भनेर बोलाउनुहुन्छ । 

‘किन किन अरूको भन्दा मलाई यो बुहारीको यादले साह्रै सताउँछ, छोरा नातिनातिनाहरूसँग त फोनमा कुरा गरेर पनि अलिअलि नियास्रो मेटिन्छ, यो बुहारीलाई त नदेखेसम्म नियास्रो मेटिँदैन’ चन्दाले जेठी बुहारीलाई शीरदेखि पाउसम्म हेर्नुभयो ।

‘झन् धेरै दुब्लाइछौँ त जेठी’ खगिसराको हात सुम्सुम्याउनुभयो । बुहारीलाई उहाँले मायाले जेठी भनेर बोलाउनुहुन्छ ।

‘के गर्नु फुपै, तपाईँलाई थाहै छ नि मलाई सुगर छ, जे पायो त्यही खानुहुन्न’, खगिसराले आफ्नो व्यथा सम्झाउनुभयो ।

‘अँ हो त नि, के–के जाति रोग लागेर तिमी पनि मजस्तै बूढी हुन लाग्यौ’, बुहारीलाई हेर्दै चन्दाले सुस्केरा हाल्नुभयो ।

अनि फरासिली सासु र मिजासिली बुहारी पिँढीमा बसेर सुख–दुःखका पोका फुकाउन थाले । धेरैका सासु–बुहारीबारे अरूले देखेजानेको, सुनेको र अनुमान गरेको सम्बन्धबारे कुरा निकाल्दा बुहारीलाई हेर्दै चन्दाले भन्नुभयो, ‘खै सँगै बसेको भए के पो हुन्थ्यो, कहिल्यै सँगै बस्न पाइएन, त्यसैले होला माया बढेको ।’

‘सँगै बसेको भए पनि यस्तै माया हुन्थ्यो फुपै’ खगिसरा हाँस्नुभयो ।

‘यति धेरै यादले नसताए पनि झगडा त हुन्न थियो जेठी । सासु र मेरो पनि कहिल्यै झगडा भएन, अरू बुहारीसँग पनि मेरो झगडा भएन, तिमीसँग पनि हुन्न थियो’, चन्दाले भन्नुभयो ।

‘हामी कहिल्यै सँगै बस्न पाएनौँ, माइती नजिकै बिहे भयो । सासूआमा टाढा बस्ने, उहाँसँग कहिलेकाहीँ मात्र यसरी भेट हुन्छ’ खगिसराले सासुलाई हेर्नुभयो ।

‘जेठी बुहारीलाई कजाउन कति मन थियो तर के गर्नु पाइनँ’, पछुताउँदै चन्दा भावुक हुनुभयो, ‘मर्ने बेला यिनकै हातले दिएको पानी पिउन मन छ ।’

‘त्यसो नभन्नु न फुपै, टाढा भए पनि म सधैँ तपाईँसँगै हुन्छु नि’ सासुको कुराले चन्दाको आँखा रसाए ।

दुःख र भावनासँगै सासू–बुहारीले पुराना र रमाइला कुरा पनि सम्झिए । उबेला मन भएर पनि स्कुल जान पाइएन । पेटभरि खान र आङ ढाक्ने लुगा लगाउन पाइएन । घाँसदाउरा, मेलापात, घरधन्दा र उकाली–ओराली गरेरै जिन्दगी बित्यो । 

‘पहिले हँसिया र बञ्चरो बोक्ने चलन थियो, अहिले त मोबाइल बोक्ने चलन आयो’ चन्दाले आफ्नो पहिलेको र नातिनातिनाको अहिलेको बेला सम्झनुभयो ।

‘अँ त नि फुपै तपाईँको फोन आयो भनेर छोरीले कुरा गर्नु भनेर मोबाइल हातमा राखिदिन्छे । कहाँ के थिच्दा र कसोगरी औँला सार्दा कुरा हुन्छ भन्ने पनि पत्तो पाउँदिन अनि उसैले मिलाइदिएपछि मात्र कुरा गर्न सक्छु । आफूलाई कुरा गर्ने मन हुँदा ऊकहाँ पुगेकी हुन्छे, कुरै गर्न पाउँदिनँ’, खगिसराले आफ्नो बाध्यता सुनाउनुभयो ।

‘म त झन् केही मेसो नै पाउँदिन जेठी । माइलाको छोराले ल आमै फोन आयो भनेर दिन्छ, उठाउनै जान्दिनँ । खै लेऊ त आमा म उठाइदिन्छु भनेर उसले औँला यसो सार्छ, उतिखेरै हुन्छ’, बुहारीको कुरामा चन्दाले सही थाप्नुभयो ।

‘अनि फोनमा कुरा गरेको पनि कहाँ निधो पाइन्छ र फुपै, कुरा पनि राम्रो बुझिन्न, बुझेर पनि भेटेर कुरा गरेजस्तो कहाँ हुन्छ र ? त्यसैले त भेट्न झरेको नि’ बुहारीको कुराले चन्दा फेरि भावुक हुनुभयो ।

सासूबुहारीले सुख–दुःखका धेरै कुरा गरे । मनभित्र गुम्सेको भावना साटासाट गरे । धेरैपछि भेट हुन पाउँदाको नियास्रो मेटाउने कोसिस गरे । तर एकैछिनको भेटमा कुरा कहाँ सकिन्थ्यो र ? याद कसरी मेटिन्थ्यो र ? 

अनि सधैँ सँगै बसिरह्यो भने त माया र यादको छटपटी फेरि कसरी बल्झन पाउँछ र ? याद बल्झेपछिको भेटमै सम्बन्धको स्वाद पाइन्छ । टाढा हुँदैमा माया गाढा हुन्छ । फेरि छुट्टिएर नहिँडेसम्म टाढा भइँदैन । टाढा भएपछि नै यादले सताउने हो । अनि यादले सताएको बेलामा हुने भेटमा नै सम्बन्धको स्वाद पाइने हो ।

माया–प्रेम र साइनो सम्बन्धबारेका यी साहित्यिक हरफबारे बेखबर भए पनि खगिसरा र चन्दालाई फेरि यसैगरी छुट्टिने बाध्यता आयो । 

‘लौ त फुपै कहिले फर्कनुहुन्छ, आफ्नो ख्याल गर्नु है । ओरालो झर्दा त दुई घण्टामा आइपुगेको थिएँ, अब उक्लँदा तीन घण्टा लाग्छ, म जान्छु अब’ चन्दा सासूसँग छुट्टिनुभयो ।

‘राम्रोसँग जाऊ जेठी, तिमी पनि आफ्नो ख्याल गर है, अब कहिले भेट होला र ?’ चन्दाले बुहारीलाई बिदाई गर्नुभयो ।

‘भइहाल्छ नि फुपै, अर्को पटक बजार झर्दा फेरि भेट्न आउँछु’ खगिसरा उकालो चढ्नुभयो । चन्दाले धेरैबेर बुहारी हिँडेको बाटोतिर हेर्नुभयो र खुइय सुस्केरा हालेर पिँढीमा बस्नुभयो । 

प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीका मात्रै माया–प्रेम र मिलन–बिछोडका हरफ लेख्नेले यी सासुबुहारीका प्रीतलाई पनि यसैगरी उतार्न सक्लान् त –  

जेठीको हातले दिएको पानी खाएरै मरौँला
यादको भारी बोकेर फेरि नौमूले झरौँला........
नरोए मेरी दिलकी फुपै जुगजुग बाचौँला
सासू–बुहारी हात समाइ फेरि आँगनमा नाचौँला.........। 

अन्तिम अपडेट: बैशाख २, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया